काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा अहिले राजनीतिक माहोल तात्तिएको छ । निर्वाचनमा तालमेल गरे जाने सत्ता गठबन्धन दलहरूले निर्वाचन क्षेत्रको बाँडफाँड गरिसकेका छन् । सिट बाँडफाँडको अन्तिम समयमा आएर जनता समाजवादी पार्टी भने गठबन्धनबाट अलग्गिएको छ । सिटमा असन्तुष्ट व्यक्त गरिरहेका जसपाका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेतर्फ तालमेल गर्न पुगेका छन् ।
एमाले र जसपाबीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।
सहमतिअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । तालमेल सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । जसपासँग तालमेल र एमालेकै केही ठुला नेताहरुले टिकट नपाउँदा एमाले पार्टीमा अहिले हलचल मच्चिएको छ । एमालेले भीम रावल र घनश्याम भुसाललाई टिकट नदिएपछि नेताहरुले असन्तुष्ट व्यक्त गरिरहेका छन् ।
टिकट नपाएपछि एमालेका नेता भुसाल लगायत केही नेताहरुले पार्टी परित्याग गरेको घोषणा गरिसकेका छन् । नेता भुसाल निकट मानिएका एमालेको केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले पनि पार्टी परित्याग गरेको घोषणा गरेका छन् । यस्तै रावललाई टिकट नदिएको भन्दै अछाम जिल्ला समन्वय कमिटीका संयोजक प्रकाश शाहले पनि राजीनामा दिएका छन् । एमालेले अछाम–१ का लागि रावललाई टिकट नदिएर सो क्षेत्रमा झपट बोहोरालाई टिकट दिएकोे हो ।
एमालेले आउँदो निर्वाचनको लागि नेता रावल र भुसाललाई टिकट नदिएपछि पार्टी फुट्नसक्ने परिस्थिति देखिएको छ । एमालेभित्रको रावल समूह र टिकट नपाएका असन्तुष्ट समूह अलग हुने तयारीमा लागेपछि पार्टी फुट्न सुक्ने सम्भावना देखिएको छ । स्रोतका अनुसार अहिले रावल र भुसालबीच अबको कदम बारे छलफल भइरहेको बताइएको छ । पार्टीबाट असन्तुष्ट रहेका नेताहरु समेटेर नयाँ कदम चाल्ने तयारीमा रावल देखिएका छन् ।