काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा मानुषी यमी भट्टराईलाई जिताउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई नै खटिएका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी यमीलाई जिताउन प्रचण्ड–बाबुरामले नै दौडधुप सुरु गरेका हुन् । त्यसका लागि उनीहरूले प्रतिस्पर्धी उम्मेदवारलाई फकाउन थालेको स्रोत बताउँछ ।
उच्च स्रोतका अनुसार प्रचण्ड–बाबुरामले नै काठमाडौँ–७ बाट स्वतन्त्र उम्मेदवार दिएका एमाले नेता रामविर मानन्धरलाई पालैपालो भेटेका छन् । बाबुरामले छोरीसहित मानन्धरकै निवास पुगेर भेटेका हुन् भने प्रचण्डले निवासमै बोलाएर भेटेका हुन् ।
मान्धरलाई भेट्न डा. भट्टराई छोरी मानुषीसहित मंगलबार उनकै निवास पुगेका थिए । निवास पुगेर सहयोग गर्न मानन्धरलाई आग्रह गरेको स्रोतले बतायो । त्यसको भोलिपल्ट अर्थात् बुधबार माओवादी अध्यक्ष प्रचण्डले मानन्धरलाई निवासमै बोलाएर सहयोग गर्न आग्रह गरेका हुन् । ‘रामविरजीलाई भेट्न बाबुराम छोरीसहित निवासमै आउनुभएको थियो,’ रामविरनिकट स्रोतले सूत्रन्युजसँग भन्यो, ‘उहाँहरूले सहयोग गर्न आग्रह गर्नुभयो । प्रचण्डज्युले पनि निवासमै आएर भेट्न खोज्नुभएको थियो । नमिलेपछि रामविरजीलाई निवासमै बोलाएर सहयोगको आग्रह गर्नुभयो ।’
प्रचण्ड–बाबुरामले आफूलाई भेटेको स्वयं रामविरले पनि स्वीकार गरे । आफू सशक्त उम्मेदवार भएकोले यस्ता भेटघाटलाई सामान्यरूपमा लिनुपर्ने उनले बताए । ‘म आफै जित्ने बलियो आधार भएको उम्मेदवार हो । चुनावको बेला को-कोले भेट्छन्,’ सूत्रन्यूजसँग उनले भने, ‘यसलाई अन्यथा लिनु हुँदैन । उहाँहरूले सहयो गर्न आग्रह गर्नुभयो । मैले पनि मलाई सहयोग गर्नुस् भनेँ ।’
एमाले नेता मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले टिकट नदिएपछि रामविरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
२०७४ को निर्वाचनमा काठमाडौं–७ बाट मानन्धर विजयी भएका थिए । उनी २०७४ को निर्वाचनमा निकट प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रमबहादुर थापालाई पराजित गर्दै विजयी भएका थिए । उनले १८ हजार १०२ मत ल्याएका थिए ।
माओवादी केन्द्रको चुनाव चिह्न लिएकी मानुषी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।
भिडियो हेर्नुस…