काठमाडौं– आसन्न ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा–३ मा रोचक परिदृश्य देखा पर्ने भएको छ। अघिल्लो निर्वाचनमा मैदानमा उत्रिएका कांग्रेस नेता कृष्ण सिटौला सत्ता गठबन्धनको समर्थनमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० अध्यक्ष राजेन्द्र लिङ्देन दोस्रो जितका निम्ति एमालेको साथसँगै उभिएका छन्।
लिङ्देन सिटौलासँग तेस्रो पटक चुनावी प्रतिस्पर्धामा उभिएका हुन्। ०७० मा लिङ्देनलाई सोही क्षेत्रमा झिनो मतान्तरले पराजित गरे पछि ०७४ मा भने सिटौलाको नमिठो पराजय भयो। ०६४ मा माओवादीबाट पराजित सिटौला कांग्रेसभित्र ‘मुसो’ नेताका रुपमा परिचित छन्। महाधिवेशनका बेला भागशान्ति खोज्ने उनलाई तत्कालिन सभापति सुशील कोइरालाले महामन्त्रीमा मनोनित गरेपछि पार्टीभित्र बार्गेनिङमा बानी परेका सिटौला पराजित भएको ५ बर्षमा निर्वाचन क्षेत्रमा खासै गएनन्।
तर ०७० मा पराजित भएदेखि नै लिङ्देन झापा–३ का जनताका समस्यासँग सामिप्यमा रहेका थिए। फलतः उनले आफ्ना निर्वाचन क्षेत्रका स्थानीय तहहरू मात्र जिताएनन्, आसन्न निर्वाचनमा जितका लागि अग्रिम बाटो पनि कोरिसकेका छन्।
लिङदेनले सिटौलालाई ०७४ मा १३ हजार ४ सय ४३ मतान्तरले पराजित गरेका थिए। सिटौलाले ३१ हजार १ सय ७१ मत प्राप्त गर्दा लिङ्देनले ४४ हजार ६ सय १४ मत प्राप्त गरेका थिए।
यो आँकडा यस पटकको चुनावमा अझ फराकिलो बन्ने अनुमान गरिएको छ। कतिपयले माओवादी कांग्रेससँगको गठबन्धनमा रहेको भनिए पनि उक्त क्षेत्रमा खासै प्रभावकारी छैन। माओवादीको मत सिटौलाका लागि खसे पनि ०७४ को मतान्तरलाई साँघुरो बनाउन सिटौला सफल हुन नसक्ने प्रक्षेपण गरिएको छ।
जातीय राजनीतिको आलोचक लिङ्देन वर्गीय उत्थानको आवाज बलियोसित उठाउने नेतामा पर्छन्। सिटौला प्रतिस्पर्धामा पराजित हुने र पार्टीभित्र पनि गुटको शैलीमा मात्र भाग खोज्ने प्रवित्तिका नेतामा गनिन्छन् भने लिङ्देन बिजयी हुँदै आएका खरो राजनीतिज्ञ हुन्। उनले राप्रपाको महाधिवेशनमा तत्कालिन अध्यक्ष कमल थापालाई पराजित गरेका थिए। महामन्त्री हुँदा पनि निर्वाचित भएका लिङ्देन आधुनिक नेपालका निम्ति युवा नेतृत्वलाई स्थापित गर्नुपर्छ भन्ने मानकका रुपमा परिचित छन्।
राजसंस्था मुलुकको अभिभावक भएको र हिन्दू सनातन धर्मलाई सापेक्ष रुपमा अगाडि बढाउनुपर्छ भन्ने राजनीतिक पैरवी गर्दै आएका लिङ्देनले भन्ने गरेका छन्,‘धर्मान्तर गर्नका लागि विदेशी हस्तक्षेप भइरहेको छ, त्यसको विरोधका लागि मौलिक शक्तिको उदय अनिवार्य हुनुपर्छ।’
सत्ता गठबन्धनको वैशाखीमा निर्वाचन क्षेत्र छिरेका सिटौलाका लागि लिङ्देन भारी हुनुको अर्थ नेकपा एमालेको साथ रहनु पनि हो। गत निर्वाचनमा पनि एमालेको समर्थनमा नै निर्वाचित भएका लिङ्देन पछिल्लो ५ बर्षमा आर्जन गरेको राजनीतिक ताकत, लोकप्रियताका कारण बिजय यात्रामा लम्किएको ठानिन्छ। भागशान्तिमा रमाउने सिटौला निर्वाचनमा मात्र उक्त क्षेत्र जाने, विकासका काममा चासो नदिने, जनताबीच भन्दा राजधानीमा मात्र रमाउनेलगायतका कमजोरीले उतिसाह्रो लोकप्रिय मानिदैनन्। ४ मंसिरमा मतदाताले सिटौलाका यी कमजोरीमाथि कठोर निर्णय लिने प्रक्षेपण गरिएको छ।
लिङ्देनले निर्वाचन घोषणासँगै प्रतिनिधि सभाबाट सदस्यले पाउने सुविधा नलिने निधो गर्दा राजनीतिमा इमानको खडेरी नरहेको भन्ने चर्चा चलेको थियो।
देश तथा विदेशबाट पनि लिङ्देनको उदयलाई आधुनिक नेपालको नयाँ नेतृत्वको जन्मका रुपमा व्याख्या गरिन थालेको छ जबकि, सिटौलालाई झुक्याएर मौलिक सनातन धर्मको सापेक्षता हरण गरेको भन्ने आरोप कांग्रेसका पुराना नेताले नै लगाउँदै आएका छन्।
कांग्रेसको सचेतक समेत रहिसकेका र अहिले निस्क्रिय बसेका लक्ष्मण पौडेलका अनुसार सिटौलाले तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई झुक्याएर राजसंस्था हटाउने र धर्म निरपेक्षता कायम गर्ने बुँदा अन्तरिम संविधानमा लेखेका थिए। तर यी मुद्दाकै जोडदार पैरवी गरेका कारण लिङ्देनले पछिल्लो निर्वाचनमा शानदार जित निकालेको स्मरणीय छ।
स्थानीय भन्छन्,‘सिटौलाको यस्तो ठगी राजनीति पराजित हुँदै आएको छ र निरन्तरता रहन्छ। लिङ्देनको आधुनिक नेतृत्वलाई मुलुकले स्वीकार गर्नेछ।’
भिडियो पनि हेर्नुस-