कारागारका कैदिबन्दीले पनि लगाए भाइटीका-Sutra News

कारागारका कैदिबन्दीले पनि लगाए भाइटीका

शुक्रबार, ११ कार्तिक २०७९

शुक्रबार, ११ कार्तिक २०७९

लमजुङ – लमजुङ कारागारका अधिकांश कैदीबन्दीले बिहीबार भाइटीका लगाएका छन् । कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीलाई टीका लगाउन उनीहरूका दिदीबहिनी कारागार आएका थिए ।



पुरुष कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट सप्तरंगी टीका लगाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदै दक्षिणा र उपहार दिए ।

कैदीबन्दीलाई मूल गेटबाहिर ल्याएर दिदीबिहनीसँग भेटघाट गरी टीका लगाउने व्यवस्था मिलाएको जेलर ताराबहादुर तामाङले बताए । कारागार कार्यालयको सुरक्षार्थ खटिएको नेपाली सेना र नेपाल प्रहरीले कैदीबन्दीका लागि टीका लगाउने कार्यको व्यवस्थापन गरेको थियो ।

बिहानको साइत ११ बजेर ३७ मिनेट जाँदाको समयदेखि कार्यालय समय साँझ ५ बजेसम्म कारागारमा टीका थाप्ने र लगाउनेको व्यवस्था मिलाएको जेलर तामाङले बताए । उनका अनुसार अधिकांशले टीका लगाए पनि दिदीबहिनी नआउँदा र दिदीबहिनी नभएका कतिपयले टीका लगाउन पाएनन् ।

महिला कैदीबन्दीका आफन्तहरू भेटघाटका लागि आए पनि दाजुभाइ नआउँदा उनीहरूको हात खाली भएको जेलर तामाङले बताए । ३५ जना क्षमताको लमजुङ कारागारमा १ सय ४ जना कैदीबन्दी छन् । महिला कैदीबन्दी ५ जना छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट