घरजग्गा कारोबार घटेसँगै राजस्वमा धक्का-Sutra News

घरजग्गा कारोबार घटेसँगै राजस्वमा धक्का

सोमबार, १४ कार्तिक २०७९

सोमबार, १४ कार्तिक २०७९

घरजग्गा कारोबारमा भारी गिरावट आएको छ । गिरावटसँगै सरकारको राजस्व पनि घट्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको तुलनामा यस वर्षको असोजमा घरजग्गा कारोबारमा ह्वात्तै कमी आएको हो ।



गत वर्षको असोजमा देशभरमा कुल ५९ हजार २ सय २७ वटा जग्गा कारोबार भएकोमा यस वर्षको असोजमा २५ हजार ७ सय ८९ वटा मात्र जग्गा कारोबार भएको तथ्यांक रहेको छ ।

गत भाद्रको तुलनामा पनि असोजमा जग्गाको कारोबार खस्केको छ । गत भाद्रमा ३४ हजार ७ सय २० वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार असोज महिनामा सर्लाहीको बलरा, काठमाडौंको मनमैजु, रसुवा, गोरखा, सिर्दिवास, मनाङ, बझाङ मालपोत कार्यालयमा एउटा पनि लिखत पारित भएको छैन ।

सबैभन्दा वढी लिखत पारित गर्ने मालपोत कार्यालयमा क्रमशः इनरुवा, नेपालगन्ज, जनकपुरधाम, बेलवारी, राजविराज, भद्रपुर, घोराही, तुलसीपुर, जलेश्वर, कलंकी, तौलिहवा, लगनखेल र कलैया रहेका छन् ।

इनरुवामा १ हजार १ सय ४९ वटा, नेपालगन्जमा १ हजार २८, जनकपुरधाममा १ हजार ४, मोरङमा ८५९, राजविराजमा ८ सय १७ वटा र भद्रपुर ६ सय ९१ वटा लिखत पारित भएका छन् ।

काठमाडौंको चावहिलमा ३ सय ४६, साँखुमा ४ सय १, कलंकीमा ६ सय २०, टोखामा ९२ वटा लिखत पारित भएका छन् ।

भक्तपुरमा भने असोज महिनामा ५ सय ४० वटा मात्र लिखत पारित भएको छ ।

ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ६०६ वटा लिखत पारित हुँदा गोटीखेलबाट १९ वटा लिखत पारित भएको देखिएको छ ।

लिखत पारितमा गिरावटसँगै सरकारको राजस्वमा पनि ह्रास आएको छ । गत वर्षको असोजमा घरजग्गा कारोबारबाट ७ अर्ब ३३ करोड २१ लाख १५ हजार ४ सय ९६ बराबरको राजस्व संकलन गरेकोमा यसपालि २ अर्ब ५६ करोड ९३ लाख ४८ हजार ३ सय ९३ बराबरको मात्र राजस्व संकलन भएको छ ।

विभागका अनुसार गत असोजमा पुँजीगत लाभकरबाट ७४ करोड ७८ लाख ५३ हजार २ सय ५८ रुपैयाँ राजस्व संकलन भएको छ । सेवा करबाट १६ करोड ८५ लाख ६४ हजार, रजिस्ट्रेसन दस्तुर १ अर्ब ३६ करोड ३८ लाख ९३ हजार राजस्व संकलन भएको जनाइएको छ ।

गत वर्षको असोजमा पुँजीगत लाभ कर मात्रै १ अर्ब ७८ करोड १४ लाख ६७ हजार मालपोतले उठाएको थियो । यसैगरी सेवा कर ४० करोड, ५७ लाख, रजिस्ट्रेसन दस्तुर ४ अर्ब २३ करोड ९२ लाख ८० हजार उठाएको थियो ।

विभागका अनुसार झन्डै ७० प्रतिशतका दरले राजस्व संकलनमा गिरावट भएको छ । २०७७ असोजमा ५ अर्ब २७ करोड २० लाख ५३ हजार ८ सय ३ बराबरको राजस्व संकलन भएको थियो ।

नेपाल राष्ट्र बैंकले घरजग्गामा जाने ऋणमाथि गरेको कडाइका कारण घरजग्गा कारोबारमा मन्दी आएको हो ।

घरजग्गामा हुने ऋण लगानीलाई नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रका रूपमा घोषणा गरेको छ । काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशतबराबर मात्रै ऋण उपलब्ध गराउने व्यवस्था चालू आवको मौद्रिक नीतिमा गरिएको छ ।

विभागका अनुसार गत साउनमा घरजग्गाको कारोबारबाट २ अर्ब ७३ करोड ७२ लाख ४१ हजारबराबर राजस्व संकलन भएको थियो । भदौमा ३ अर्ब ५६ करोड २९ लाख ३ हजार ९ सय बराबरको राजस्व संकलन भएको थियो । आजको राजधानी दैनिकमा खबर छ

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट