३ महिनासम्म खनालसँग च्याट गरेपछि लामिछानेतिर मोडिएकी थिइन् बलात्कृत दाबी गर्ने किशोरी-Sutra News

३ महिनासम्म खनालसँग च्याट गरेपछि लामिछानेतिर मोडिएकी थिइन् बलात्कृत दाबी गर्ने किशोरी

मंगलबार, १५ कार्तिक २०७९

मंगलबार, १५ कार्तिक २०७९

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको अभियोगमाथि जिल्ला अदालत काठमाडौंमा आजदेखि थुनछेक बहस हुने भएको छ।



सरकारी वकिलको कार्यालयमा गरिएका बकपत्रमा यस घटनासँग जोडिएका अभियुक्त, पीडित र अन्यका भनाईले पत्याउनै नसकिने उपक्रमलाई सतहमा ल्याएको छ।

खासगरी पीडित भनिएकी नाबालिग दाबी गर्ने किशोरीको बयानले लामिछानेसँग उनको सन्निकटता कसरी भयो भन्ने व्याख्या भएको छ। सामाजिक सञ्जालमा अर्का क्रिकेटर देव खनालसँगको कुराकानीसँगै किशोरी लामिछानेतिर मोडिएको बकपत्रमा उल्लेख छ।

किशोरीले तीन महिनासम्म खनालसँग फेसबुक, स्न्यापच्याटमा कुराकानी गरेको बयान दिएकी छन्।

‘सन् २०२२ को मार्चदेखि अप्रिलसम्म नेपालमा आयोजना भएको मलेसिया, नेपाल र पपुआ न्यु गिनीबीच भएको ट्राई नेशन सिरिज प्रतियोगिताका दौरान नेपाली राष्ट्रिय टोलीको खेलाडी देव खनालले ७२ रन स्कोर गरेपछि खेलकुद समर्थकको हिसाबले चासोका साथ फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ’, किशोरीले भनेकी छन्,‘देव खनाल र म बीचमा स्न्याप च्याट एप्स मार्फत छोटो भिडिओे सन्देश (स्न्याप) र फोटो आदान प्रदान हुने गरेको थियो। यो सिलसिला करिब तीन महिनासम्म चलिरहेको थियो।’

खनालसँगको सन्निकटतामा रहेकी किशोरी लामिछानेतिर त्यसबेला आकर्षित भइन् जब उनले स्न्याप च्याटमा एउटा फरक तस्बिर पाइन्। खनालले लामिछानेसहितको तस्बिर पठाएपछि किशोरी उनीतिर आकर्षित भएको विभिन्न बयानले उल्लेख गरेको छ।

लामिछानेलाई सामाजिक सञ्जालमा किशोरीले नै रिक्वेस्ट पठाएकी थिइन्। उनको बकपत्रमा उल्लेख छ,‘त्यसपछि १६ अगस्ट आसपासमा मैले सन्दीप लामिछानेलाई स्न्याप च्याटमा फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ। तत्पश्चात् मैले अरू साथीहरूलाई जसरी नै उनलाई पनि छोटो भिडिओे पठाइरहेकी थिएँ।’

यसपछि किशोरी र लामिछानेबीच भेट भएको थियो। त्यसपछिका घटनाक्रम बलात्कारको अभियोगसँगै अदालतसम्म पुगिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट