काठमाडौं–२ मा राप्रपाकी कुन्तीदेवी पूर्वसभामुख र पूर्वसांसदमाथि देखिँदै भारी, यस्तो छ चुनावी हिसाबकिताब-Sutra News

काठमाडौं–२ मा राप्रपाकी कुन्तीदेवी पूर्वसभामुख र पूर्वसांसदमाथि देखिँदै भारी, यस्तो छ चुनावी हिसाबकिताब

मंगलबार, १५ कार्तिक २०७९

मंगलबार, १५ कार्तिक २०७९

काठमाडौं– ४ मंसिरमा हुन लागेको आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा युवाको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की कुन्तीदेवी पोखरेल मैदानमा उत्रिएकी छन्। उनले सत्ता गठबन्धनका तर्फबाट काठमाडौं–२ मा चुनावी रणभुमीमा उत्रिएकी पूर्वसभामुख ओनसरी घर्ती र एमालेका बागमती प्रदेशका पूर्वसांसद मणिराम फुयाँललाई प्रतिनिधि सभा सदस्यका निम्ति चुनौति दिएकी छन्।



राप्रपा महाधिवेशनमा २०८० मत ल्याई लोकप्रिय र सर्वाधिक चर्चित पोखरेल समाजसेवा र उद्यममा पनि दख्खल राख्छिन्। उनी काठमाडौं–२ की स्थानीयवासी हुन्। उनका प्रतिस्पर्धी घर्ती स्थानीय होइनन्। घर्ती यसअघि माओवादीको समानुपातिक कोटामा अवसर लिएर सभामुखसम्म बनेकी थिइन्।

उम्मेदवारीबारे प्रचारप्रसार र तडक भडक नगरिकन नै लोकप्रीय मत ल्याएर उनी राप्रपाको केन्द्रीय नेतृत्वमा पुग्न सफल भएकी थिइन्। राप्रपाको राजनीतिमा एक दशकभन्दा अघिदेखि सक्रिय उनी यसअघि महिला संघलगायतमा आबद्ध थिइन्। उनले महिला हिंसाविरुद्ध आन्दोलनको नेतृत्व गर्दै ‘तारामण्डल महिला सशक्तीकरण अभियान’ सञ्चालन गर्दै आएकी छिन्।

सोही अभियानमार्फत विभिन्न चेतनामूलक काम गर्दै आएकी उनले राजनीतिसँगै समाजसेवीको परिचय पनि बनाएकी छिन्। राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागको अध्यक्ष रहेकी उनी संसदीय राजनीतिमा नयाँ पुस्ताको आगमन स्वभाविक हुनुपर्ने मत राख्छिन्।
क्षमताका आधारमा जिम्मेवारी दिने संस्कारको विकास गर्न जरुरी रहेको धारणा राख्ने उनी जनताको मतले प्रतिनिधि सभाको यात्रा र कामले मन जित्ने लक्ष्यका साथ अघि बढेकी छन्।

उनको यो लक्ष्य राजनीतिक हिसाब किताबका आधारमा पनि पूरा हुन सक्ने लख काट्न सकिन्छ। काठमाडौं–२ मा १० हजारको हाराहारीको मतान्तरले जित निकाल्न सकिने पछिल्ला निर्वाचन परिणामले देखाएको छ। ०७४ को परिणामअनुसार तत्कालिन एमाले र माओवादी गठबन्धनका उम्मेदवार माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याएर जित निकालेका थिए। प्रतिस्पर्धी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९०३ मत ल्याएका थिए। विवेकशील साझाका उम्मेदवार डा. सूर्यराज आचार्यले ७ हजार ४३७ मत ल्याएका थिए।

कुन्तीदेवीका लागि राप्रपाको १२ हजार मत सुरक्षासहित अघिल्लो पटक वैकल्पिक शक्तिले ल्याएको मत र नेपाली कांग्रेसको पनि समर्थन मत आउँदा जित निकाल्न कठिन नपर्ने देखिन्छ। स्थानीय तहको निर्वाचनमा शंखरापुर नगरपालिकामा प्रमुख पद उनकै पार्टी राप्रपाका उम्मेदवारले जित निकालेका कारण सम्भावना बलियो रहेको बताइन्छ।

राजनीतिमा पुस्तान्तरण र परिवर्तनको आवाज बलियो हुन थालेपछि कुन्तीदेवीलाई उक्त समर्थन मिल्ने राप्रपाजनको विश्वास छ। सनातन हिन्दु धर्मको बढ्दो प्रभाव, राजसंस्थाका समर्थन गर्नेहरू पछिल्ला दिनमा बढेका छन्। लोकतन्त्रका नाममा सत्ता राजनीतिमा देखिएको कुरुप परिदृश्यले सत्ता गठबन्धन र एमाले उम्मेदवारप्रतिको वितृष्णाको मत कुन्तीदेवी पोखरेलले पोल्टामा पार्न सके उनको जितलाई रोक्न नसकिने कतिपय राजनीतिक विश्लेषक बताउँछन्।

आधुनिक पुस्ताले बुढा नेता हराउनका लागि नो नट अगेन अभियान नै सञ्चालन गरेका छन्। काठमाडौं–२ ले पनि नयाँ अनुहार खोजेका कारण घर्ती र फुयाँलप्रति अविश्वास मात्र होइन वितृष्ण पनि बढेको ठम्याइ छ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार तथा युवा बालेन्द्र साह (बालेन)को जितसँगै मतदाताको विवेककमा केही परिवर्तन आएको सन्देश सतहसम्म गइसकेको छ।

प्रतिनिधि सभाको निर्वाचनमा पनि नयाँ अनुहारको खाँचो औंल्याउँदा गठबन्धन र एमाले उम्मेदवारको विकल्पमा कुन्तीदेवी नै पेचिलो उम्मेदवार मात्र नभएर सम्भावनायुक्त युवा नेत्री साबित हुने प्रक्षेपण गरिएको छ।
थपिएका नयाँ मतदाता, राप्रपाको सांगठनिक मत सुरक्षण, मूलधारका पार्टीको अलोकप्रियता र नयाँ अनुहारलाई जिताउनुपर्छ भन्ने मतदाताको हुटहुटी कुन्तीदेवीका लागि चुनावी बरदान प्रमाणित हुने अड्कलबाजी हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट