शक्ति केन्द्रको आड देखाउने मेडिकल व्यावसायी प्रसाईको छताछुल्ल भयो किर्ते काम-Sutra News

शक्ति केन्द्रको आड देखाउने मेडिकल व्यावसायी प्रसाईको छताछुल्ल भयो किर्ते काम

बुधबार, १६ कार्तिक २०७९

बुधबार, १६ कार्तिक २०७९

काठमाडौं– विवादित मेडिकल व्यावसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापाको विर्तामोडमा बि एन्ड सी अस्पताल र मेडिकल कलेज चलाउन जग्गामा किर्ते गरी अनुमति लिएको खुलासा भएको छ।
अस्पताल सञ्चालनमा आए पनि उनले मेडिकल कलेजको अनुमति पाइसकेका छैनन्। यहि प्रकरणका कारण उनी विवादमा तानिएका थिए।



सरकारी मापदण्ड पूरा गर्न उनले जग्गाको किर्ते धनीपुर्जा बनाएको खुलेको हो। जिल्ला मालपोत कार्यालयले कायम गरी दिएको साबिकको धाइजन गाविस–४को कित्ता नम्बर ६०७ को ५ विग्गाह ८ कट्ठा १३ धुर जग्गाको धनीपुर्जा किर्ते गरी १० विग्गाह १२ कट्ठा १३ धुर बनाएर मन्त्रालय र विभागमा पेस गरेको तथ्य बाहिरिएको हो।

उनले उक्त किर्ते कागज शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोगमा पेस गरेका थिए। कम्प्युटर स्क्यानिङ गरी उनले जग्गाको क्षेत्रफल बढाएको आरोप लागेको छ। जिल्ला मालपोत कार्यालय झापाले उनलाई दिएको अस्पतालको नामको कित्ता नम्बर ६०७ को ५ विग्गाह ८ कट्ठा १३ धुर जग्गाको क्षेत्रफल रहेको धनीपुर्जा दिएको थियो।

६ मंसिर २०६८ सालमा खरिद भएको जग्गाको क्षेत्रफल सोही रहेको बढी नभएको मालपोत कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार खत्रीले जानकारी दिएका छन्।
यसबाट प्रसाईले किर्ते गरेर नै उक्त जग्गाको क्षेत्रफल बढाएको पुष्टि हुन्छ। सोही कागजका आधारमा उनले अस्पताल खोले भने मेडिकल कलेजको स्वीकृति लिने क्रममा राजनीतिक चलखेल समेत गरेका थिए।

डा. गोविन्द केसीको आन्दोलनका कारण मेडिकल कलेज सञ्चालनको अनुमति नपाएका प्रसाई विभिन्न अराजनीतिक फन्डाका कारण विवादमा तानिँदै आएका व्यक्ति हुन्। शक्ति केन्द्रको आडमा किर्ते काम र विभिन्न प्रायोजित आन्दोलन गराउने प्रसाईको चर्चा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खाना खुवाएको तस्बिर सार्वजनिक भएको थियो।

उनले प्रचण्डलाई बुवा र ओलीलाई हजुरबुवा भन्दै आएका थिए। पछिल्ला चरणमा प्रचण्डबाट उनलाई सहयोग हुन छाडेपछि माओवादीको कडा आलोचक हुँदै एमालेमा लागेका थिए। उनलाई ओलीले एमालेको केन्द्रीय कमिटीमा मनोनित गरेका थिए।
प्रसाईको किर्ते काम यस प्रकरणमा मात्र नभई झापाको विर्तामोडमा रहेको गिरीबन्धु टि स्टेटको जग्गा प्रकरणमा पनि जोडिएको थियो।

गिरिबन्धु टि स्टेटको ३ सय ४३ विघा जग्गाको घोटालामा नामुद जग्गा दलाल तारा सापकोटासँग प्रसाईको सन्निकटताका बारेमा चर्चा भएको थियो। अर्जुनधारा र विर्तामोड नगरपालिकामा रहेको हदबन्दी भन्दा बढीको ३ सय ४३ विघा जग्गा बेचविखन गर्नकै लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले भूमि ऐनको १८ औँ संशोधन गराउनका लागि प्रसाईको भूमिका पनि रहेको चर्चा चलेको थियो।

यस प्रकरणमा ओलीसँग नजिक रहेको गोविन्द थापाको संलग्नताबारे पनि सतहमा चर्चा भएको थियो। ओली सरकारलाई प्रभावमा पारेर कठ्ठाको ७ लाखमै हत्याएर प्रति विघा २० करोडमा बेच्ने तयारी गरेका थिए। पछिल्लो पटक भने आफ्नै अस्पतालको जग्गाको किर्ते कागजका विषयमा तथ्य खुलेपछि प्रसाईको असलियत उदांगो भएको छ। उटपट्याङ तर्क गर्दै आएका उनले संयुक्त अरब इमिरेट्स(युएई)मा मेडिकल कलेज खोल्न लागेको हल्ला फिजाएका थिए।

भिडियो पनि हेर्नुस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट