रौतहट– आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा रौतहट–२ मा गठबन्धनका उम्मेदवारमा नेपाली कांग्रेसले डाक्टर फिरदोस आलमलाई मैदानमा उतारेपछि जनताले बोक्न थालेका छन्।
पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निर्वाचन क्षेत्रमा कांग्रेसले उनका छोरा तथा चिकित्सक रही नेपाल प्रहरीको अधिकृत बनिसकेका फिरदोसलाई उठाएको हो।
उनलाई स्थानीय जनताले हर्षका साथ बोकिरहेका छन्। जनताको एजेन्डा लिएर मैदानमा उत्रिएको उनले बताएका छन्। ‘हाम्रो राजनीतिक इतिहासको निरन्तरता मात्र होइन, समाजसेवाको गति पनि बढाउन जनतामाझ छु’, फिरदोस भन्छन्,‘हामीमाथि भएको राजनीतिक षडयन्त्र र अन्यायविरुद्ध जनताको साथ पाउनेमा ढुक्क छु।’
फिरदोससँग चुनावी मैदानमा एमालेसँग तालमेल गरेको जनता समाजवादी पार्टीबाट शैलेन्द्र साह उठेका छन्। साह तिनै व्यक्ति हुन् जसले राजनीतिक प्रतिशोध साँध्न आफैंलाई चुनावमा पराजित गर्ने अफताब आलमविरुद्ध सरकारी साक्षीका रुपमा बयान दिएका थिए।
‘कांग्रेसको बलियो क्षेत्र रहेको पटक पटक प्रमाणित भएको छ। यस्तो बलियो बनाउनका लागि अफताब आलमको योगदान छ र जनतामा विश्वास छ भन्ने उदाहरण हामीले पनि दिनु छ’, फिरदोस भन्छन्।
यसअघि स्थानीय तहको निर्वाचनमा राजपुर नगरपालिकामा फिरदोसका भाई रजिक आलमले जित निकालेका थिए। उक्त क्षेत्रमा पारिवारिक राजनीतिक विरासत जोगाउन फिरदोस सक्षम हुने बताइन्छ।