काठमाडौं – निर्देशक निश्चल बस्नेत अचेल फुर्सदमा छन् । लामो समयदेखि उनले नयाँ चलचित्रमा काम गरिरहेका छैनन् । ‘लूट ३’ को निर्देशनको तयारीमा रहेका बस्नेत फुर्सदको समय सामाजिक सञ्जालमा प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारलाई भोट मागेर समय कटाउँछन् ।
बस्नेतलाई पुराना दल र सो पार्टीका नेताहरूमन पराउँदैनन् । गत स्थानीय तहको निर्वाचनमा निश्चल र उनकी पत्नी अभिनेत्री स्वस्तिमा खड्का खुलेरै काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार बालेन्द्र साह बालेनको पक्षमा खुलेका थिए । निश्चल त बालेनको एउटा क्याम्पेनर नै थिए । उनले चलचित्र क्षेत्रका केही कलाकारलाई बालेनको पक्षमा लाग्न अभिप्रेरित गरेका थिए ।
आगामी ४ मंसिरमा हुने निर्वाचनमा निश्चल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको पक्षमा खुलेका छन् । त्यसमा पनि रवि लामिछाने नेतृत्वका दलका उम्मेदवारलाई उनले खुलेरै सामाजिक सञ्जालमा भोट मागिरहेका छन् । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको पक्षमा लागेका निश्चल अहिले स्वतन्त्रभन्दा पनि रवि लामिछानेको पार्टीबाट उठेका उम्मेदवारको पक्षमा भोट माग्न लाग्नुले उनी राष्ट्रिय स्वतन्त्र पार्टीका अभियन्ता हुन् कि भन्ने सर्वसाधारणलाई परेको छ ।
यदाकदा उनी घन्टी चुनाव चिह्न लिएका बाहेकका उम्मेदवारको पक्षमा पनि खुलेका छन् । उनी डडेल्धुराबाट उठेका स्वतन्त्र उम्मेदवार सागर ढकालको पक्षमा पनि खुलेका छन् । कारण डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार छन् । त्यही भएर उनी देउवाको विपक्षमा उठेका उम्मेदवारको पक्षमा खुलेका हुन् ।
उनी आफ्नो आस्थाले देशलाई फाइदा भाको छैन १ प्रतिशत मात्र पनि लागेमा मत परिवर्तन गर्न सल्लाह दिन्छन् । उनले फेसबुकमा मत मागेका अधिकांश रवि लामिछानेको पार्टीका उम्मेदवार छन् । बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारलाई भोट मागिरहेका छन् ।
निश्चल बस्नेतको यो शैलीप्रति प्रमुख दलका शुभेच्छुक भने चिढिएका छन् । बस्नेत यसरी स्वतन्त्र उम्मेदवार भन्दै रवि लामिछानेको पार्टीको पक्षमा खुलेको रिस कांग्रेस, एमाले, माओवादी समर्थित मतदाता उनको नयाँ चलचित्र प्रदर्शन हुने बेला पोख्ने मनस्थितिमा देखिएका छन् । ‘अहिले जसरी निश्चल बस्नेत स्वतन्त्र उम्मेदवार भन्दै रवि लामिछानेको पार्टीको पक्षमा खुलेका छन्, त्यसले आगामी दिनमा उनले निर्माण गर्ने फिल्मलाई असर पर्ने निश्चित छ । त्यसबेला हामी पनि निश्चल बस्नेतले बनाएको फिल्म नहेरौं भनेर क्याम्पेनिङ गर्छौ,’ काठमाडौं १ का रमेश शिल्पकारले भने ।