काठमाडौं– पर्यटनलगायतका क्षेत्रमा व्यावसायीक यात्रा गरेका श्री गुरुङ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काठमाडौं–५ बाट चुनावी मैदानमा उत्रिएका छन्।
स्वतन्त्र उम्मेदवारका रुपमा क्यामेरा चुनाव चिन्हसहित मैदानमा उत्रिएका उनले राजनीतिलाई भित्रबाट नियाँलेको र बुझेका कारण नै भन्छन्,‘म राजनीतिज्ञ थिएँ अब राजनीतिकर्मी हुन मैदानमा उत्रिएको छु।’
काठमाडौंको निक्कै चर्चायोग्य निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका कांग्रेस युवा नेता प्रदीप पौडेल, नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनासँग मैदानमा उत्रिएका श्रीले पर्यटनको क्षेत्रमा राज्यले काम गर्न नसकेको बताउँदै आफूले योगदान गर्न सक्ने योजना अघि सारेका छन्।
प्रतिनिधि सभाको सदस्य निर्वाचित भएको खण्डमा विश्वका विभिन्न देशहरूमै योगदान गरेको पर्यटनको क्षेत्रको विकासले मात्रै पनि निक्कै परिवर्तन ल्याउन सकिने उनको धारणा छ।
आफ्ना प्रतिस्पर्धी भन्दा अध्ययनशील, अनुभवी र काम गर्न सक्ने क्षमता रहेको स्वाभिमानी तर्क गर्ने श्री भन्छन्,‘म सदन छिर्न पाएको खण्डमा मैले देखेका सपना र लक्ष्यलाई कार्यान्वयन गर्न सक्छु।’
संसदमा दलको बहुमत हुँदा स्वतन्त्रको भूमिका चुनाव जिते पनि खासै केही नहुने विषयमा श्रीलाई विश्वास छैन। उनी भन्छन्,‘जुनसुकै प्रस्ताव र एजेन्डा एउटा दलले मात्र पारित गरेको छैन। राम्रो प्रस्ताव र देशको हितमा भए स्वतन्त्र नै भए पनि सबैले समर्थन गर्छन भन्नेमा विश्वस्त छु।’
अहिलेसम्मको सदनमा राजनीति मात्र भएको, उद्देश्यको बाटोमा नहिँडेको देखेका उनले त्यसलाई ट्रयाकमा ल्याउनका लागि आफू सदनमा प्रवेश गर्न पाउनुपर्ने बताएका श्री भन्छन्,‘पर्यटनको क्षेत्रमा, विकासका क्षेत्रमा, मुलुकको हितका पक्षमा कुनचाहिँ काम गर्नुपर्छ भन्ने विषयबस्तु प्रस्तुत भए? मैले लिकदेखि बाहिर गएको विषयलाई प्रस्तुत गर्ने हो।’
९० प्रतिशत भन्दा बढी सांसदभन्दा आफूमा व्यवस्थापकीय ज्ञान र अनुभव रहेको दाबी गर्ने श्री गुरुङ अन्य राजनीतिज्ञ र संसदलाई इंगित गर्दै अगाडि जोड्छन्,‘तपाईहरू राजनीतिमा आउँदा कस्तो हुनुहुन्थ्यो, हामी त तपाईहरुको बिम्ब हो। तपाईहरु युवा हुँदा आउनुभयो। तर के गर्नुभयो? अब अनुभव भएको, दक्षता भएको भनी हेर्नुपर्छ।’
यो निर्वाचनमा को मानिस हावाले फूलेको र को दक्ष रहेको भनी हेर्ने बेला आएको बताउँदै प्रतिद्वन्द्वीबारे श्री थप्छन्,‘मेरो प्रतिद्वन्द्वी मतदाता हो। मलाई जिताउने पनि मतदाता हो, हराउने पनि मतदाता हो। यसैले म अरुलाई देख्दिन।’
आधुनिक युगमा व्यापार र व्यावसायीकताको विषयमा निक्कै योजना सारेका उनले उपयोग गर्न सक्ने गाँजा खेतीलगायतका विषयमा पनि उत्पादन र निर्यातका अनेक उपाय सुझाव दिएका छन्।