काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा यसले ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३.८९ प्रतिशतले धेरै हो ।
गत वर्षको यही अवधिमा संस्थाले ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले ८६ करोड ७४ लाख रुपैयाँ सापट लिएर दुई अर्ब १८ करोड ९९ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ ।
यस अवधिसम्म यसले एक अर्ब पाँच करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । असोज ससान्तसम्म सञ्चालन नाफा बढेर ५६ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा तीन करोड ४३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । त्यस्तै, खुद ब्याज आम्दानी पनि १५.४९ प्रतिशतले बढेर ३ करोड ५५ लाख रुपैयाँ पुगेको छ । लघुवित्तले ११ लाख रुपैयाँ राइट ब्याक पनि गरेको छ ।
हाल उपकारको चुक्ता पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ छ । जगेडा कोषमा १७ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा कायम भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ ३५८ रुपैयाँ ७० पैसा छ । यसको निष्कृय कर्जा अनुपात घटेर २.७९ प्रतिशत पुगेको छ ।