०७४ कै चुनावमा झन्डै गुमिसकेको कांग्रेस नेता प्रकाशमान सिंहको संसद यात्रा आगामी मंसिर ४ गते हुने निर्वाचनमा झनै पेचिलो बन्ने देखिएको छ । चन्द्रमा दाहिना नभए यस पटक प्रकाशमान सिंहले निर्वाचनमा गठबन्धनको सहयोग रहे पनि पराजयको मुल्य चुकाउन सक्ने विश्लेषण भएको छ।
लौहपुरुष गणेशमान सिंहको छोरा भएकैले निरन्तर जनताले उनलाई लाभको पद यात्रा गराए पनि शक्ति केन्द्रसँग टासिने र जनताप्रति अनुत्तरदायी भएका कारण विकल्पको खोजी भइरहेको विश्लेषण गरिएको छ।
प्रकाशमानलाई पराजित गरी संसदको यात्रा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र मैदानमा खरो उत्रिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र स्वतन्त्र उम्मेदवारीमा प्रहरीका पूर्वनायव महानिरिक्षक (डीआईजी) रमेश खरेल पनि चुनावी दौडमा छन्।
यस्तै मत सुरक्षित गर्दै प्रकाशमानलाई पराजित गर्ने दाउमा एमालेका तर्फबाट किरण पौडेल मैदानमा छन्। तर, प्रकाशमानका लागि मिश्र र बम नै पराजय गराउन सक्ने प्रभावी उम्मेदवार मानिएका छन्।
प्रकाशमाले कठिन संघर्ष गर्नुपर्ने अर्को उदाहरणचाहिँ स्थानीय तहको निर्वाचनमा पत्नी सिर्जनाले उक्त क्षेत्रमा पाएको मत संश्लेषण हो। आफ्नै निर्वाचन क्षेत्रमा प्रकाशमानले सिर्जनाका लागि मत ल्याउन कठिन भएको थियो ।
‘बिरासतको ब्याज खाएर मात्र सँधैभरी जनताको साथ पाइन्छ भन्ने छैन, जसरी पनि यस पटक जित निकाल्न र जनताको आवाजलाई प्रतिनिधित्व गर्न म अघि बढिसकेको छु’, राप्रपा उम्मेदवार मिश्रले भनेका छन्,‘अघिल्लो पटक थोरै मतले पराजित भएको हुँ, यस पटक भारी मतान्तरले जित निकाल्छु।’
उता स्थापनासँगै सक्रिय भनेको रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सामाजिक अभियन्ताका रुपमा काम गरिसकेका पुकार बम प्रकाशमानका लागि अर्को चुनौति रहेको बताइन्छ। कांग्रेसको बाक्लो मतदाता रहे पनि काठमाडौं–१ मा निरन्तर मत परिवर्तन भइरहेको विगतका घटनाक्रमले पनि ४ मंसिरमा प्रकाशमानको पराजय हुन सक्ने अनुमान गरिएको छ। तर प्रकाशमान भने जुनसुकै अवस्थामा पनि चुनाव जित्नेमा ढुक्क रहेको दाबी गर्छन्।
सोही क्षेत्रमा यसअघि लोकप्रिय भए पनि हालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पराजय भोगेका थिए। ‘यहाँ मत परिवर्तन हुन समय लाग्दैन, कांग्रेसको विकल्प हुन सक्छ भन्नेको जमात ठूलो छ’, स्थानीय भन्छन्।
यस्तो छ काठमाडौं–१ को मतदाता र उम्मेदवारको विवरण
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ ।
काठमाडौं क्षेत्र नं. १ मा कूल मतदाता ४५ हजार १८ जना छन् । निर्वाचन आयोगले प्रस्तुत गरेको निर्वाचन क्षेत्र विवरण अनुसार कूल मतदातामा पुरुषको संख्या २१ हजार ५७० र महिलाको संख्या २३ हजार ४४८ रहेको छ ।
यस क्षेत्रमा २२ मतदान स्थल र ५२ मतदान केन्द्र तोकिएको छ । चुनावी प्रतिस्पर्धामा २१ वटा राजनीतिक दल र ११ जना स्वतन्त्र गरी ३२ जना उम्मेदवारले भाग लिएका छन् । जसमा २२ पुरुष र १० महिला उम्मेदवार रहेका छन् ।
उम्मेदवारको समावेशी विवरण अनुसार खस आर्य ५३.१३ प्रतिशत, आदिवासी जनजाती ३७.५० प्रतिशत, थारु ३.१३ प्रतिशत, दलित ३.१३ प्रतिशत र मधेशी ३.१३ प्रतिशत रहेको छ ।
निर्वाचनमा भाग लिने राजनीतिक दलहरुमा एमाले, कांग्रेस, राप्रपासहित, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, हाम्रो नेपाली पार्टी छन् ।
यसैगरी नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेश्नलिष्ट पिपल्स पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली कांग्रेस (बी.पी.) नेपालवाद, विवेकशील साझा पार्टी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, नेपाल सुशासन पार्टी, जनसमाजवादी पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनमा उम्मेदवारसहित सहभागी छन्। त्यस्तै व्यक्तिगत रुपमा स्वतन्त्र उम्मेदवार ११ जना छन् ।
भिडियो पनि हेर्नुहोस्ः