क्रिप्टो करेन्सीः मकैको बट्टा र जमिनमुनि भेटिएको तीन अर्ब डलर बराबर बिटकोइनको रहस्य-Sutra News

क्रिप्टो करेन्सीः मकैको बट्टा र जमिनमुनि भेटिएको तीन अर्ब डलर बराबर बिटकोइनको रहस्य

सोमबार, २८ कार्तिक २०७९

सोमबार, २८ कार्तिक २०७९

अमेरिकी कानुन मन्त्रालयले गत वर्ष एक कुख्यात डार्कनेट वेबसाइटबाट चोरी भएको ३.३६ अर्ब बराबरको बिटकोइन जफत गरेको जानकारी सार्वजनिक गरेको छ।



५० हजार ६७६ बिटकोइनको थुप्रो एक जना ह्याकरको घरको भुईँमा रहेको सेफ र भुटेको मकै राख्ने बट्टाभित्र विभिन्न उपकरणहरूमा लुकाइएको फेला परेको जनाइएको छ।

जेम्स चोङले सन् २०१२ मा अवैध सामान खरिद् बिक्री गर्ने वेबसाइट ‘सिल्क रोड’ बाट उक्त रकम ह्याक गरेको आरोप स्वीकार गरेका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार यो जफत इतिहासमा दोस्रो ठुलो हो।

चोङको जोर्जियास्थित घरमा प्रहरीले एक वर्षअघि नै छापा मारेको थियो। त्यसबारेको जानकारी हाल मात्र सार्वजनिक भएको हो।

बिटकोइनको मूल्य ह्वात्तै बढ्दा उक्त ह्याक भएको थियो। ह्याकरबाट जफत गरिएको रकम अहिले करिब १.१ अर्ब डलर बराबर हुन जान्छ।

चोङले आफ्नो घरको वरपर हार्डड्राइभ र अन्य भण्डारण उपकरणहरूमा बिटकोइन राखी त्यसलाई भुईँमुनि र नुहाउने कोठामा मकैको बट्टाभित्र लुकाइएको सानो कम्प्युटरमा राखेको फेला पारेको अधिकारीहरूले बताएका छन्।

चोङले ‘सिल्क रोड’ वेबसाइटको भुक्तानी प्रणालीमा भएको त्रुटिको दुरुपयोग गरेर सिल्क रोडबाट बिटकोइन चोरेको प्रहरीले जनाएको छ।

प्रहरीले चोङको घरबाट नगद रुपैयाँ समेत जफत गरेको छ

सन् २०१२ को सेप्टेम्बर महिनामा उनले ‘डार्कनेट’ अनलाइन बजारमा थुप्रै खाताहरू खोले र आफ्नो ‘डिजिटल वालेट’हरूमा बिटकोइनको न्यून रकम सङ्कलन गरे। त्यसपछि उनले शङ्का सिर्जना नहुने गरी द्रुत रूपमा ठुलो रकम झिक्ने तरिका फेला पारेका थिए।

‘सिल्क रोड’ सामान खरिद बिक्री गर्ने पहिलो ‘डार्कनेट’ बजार थियो जुन सन् २०११ देखि सन् २०१३ सम्म सञ्चालन भएको थियो। यस वेबसाइटलाई अवैध लागूऔषध तस्करी गर्नेहरू र अन्य गैरकानुनी विक्रेताहरूले ठुलो मात्रामा लागूऔषध र अन्य अवैध सामान र सेवाहरू प्रदान गर्न प्रयोग गरेका थिए।

‘डार्कनेट’ इन्टरनेटको त्यस्तो भाग हो जसमा विशिष्टीकृत सफ्टवेयर प्रयोग गरेर मात्र पहुँच पाउन सकिन्छ।

सन् २०१५ मा ‘सिल्क रोड’का संस्थापक रोस उल्ब्रिख्टलाई न्यायाधीशहरूको समूहले वेबसाइट सञ्चालन गरेकोमा सर्वसम्मतिले दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाएको थियो।

नोभेम्बर ४ मा उक्त वेबसाइट ह्याक गरेको स्वीकारोक्तिसहित बयान दिएपछि सजायको पर्खाइमा रहेका चोङले आफूसँग भएका बिटकोइन र उपकरणहरू प्रहरीलाई बुझाएका थिए।

उनले २० वर्षसम्म जेल सजाय भोग्नेछन्।

वकिल डेमियन विलियम्सले बिटकोइन पत्ता लगाउन प्रहरीले ‘क्रिप्टोकरेन्सी ट्रेसिङ’ प्रविधि प्रयोग गरेको बताए।

“हराइरहेको ठुलो मात्रा बिटकोइन करिब १० वर्षसम्म ठुलो रहस्यको रूपमा रह्यो,” उनले भने।

“यो घटनाले के पुष्टि गर्छ भने हामी पैसालाई पच्छ्याउन छोड्दैनौँ। जतिसुकै ध्यानपूर्वक लुकाएको किन नहोस्, हामी मकैको बट्टाको पीँधमा जडित सर्किट बोर्डसम्मै पुग्छौँ।”

त्यसबेला यो अमेरिकी इतिहासमा सबैभन्दा ठुलो क्रिप्टोकरेन्सी जफत गरिएको घटना बन्न पुगेको थियो। तर पछि सन् २०१६ को फेब्रुअरीमा बिटफाइनेक्स ह्याकबाट चोरी भएको चार अर्ब डलरभन्दा बढी जफत गरिएपछि रकमको हिसाबले त्यो दोस्रो ठुलो घटना बन्यो। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट