प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ आकाशिएको छ। सरकारका नियमनकारी निकायका कर्मचारी निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोकेपछि सबै उपभोग्य वस्तुका भाउ महँगिएको हो।
नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्कअनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ। सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले पछिल्लो समयमा दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य बढेर आएको बताउनुभयो। उहाँले भन्नुभयो, “पछिल्लो पटक खाने तेल, दाल, चामल मात्रै होइन, हरेक वस्तुको मूल्य बढेर आएको छ, कारण खोज्दा खासै भेटिँदैन, पछिल्लो महँगी निर्वाचनकै असर हो।”
उहाँका अनुसार भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५–२० दिन पहिले नै हटाइसकेको छ तर नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगो गरेर बिक्री गरिरहेका छन्।
अध्यक्ष वज्राचार्यले खाने तेलको पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको भनेर प्रतिकार्टोन ३५० देखि पाँच सय रुपियाँसम्म महँगो भएको अनुभव सुनाउनुभयो। उहाँका अनुसार खाने तेलको मूल्य भने उद्योगीहरूले अन्तर्राष्ट्रिय बजारमा बढ्यो भन्नेबित्तिकै पुरानो मौज्दातको समेत मूल्य बढाएर पठाएका छन्। वज्राचार्यले ठूला व्यापारीले घट्यो भन्दै महिनौँ दिनसम्म नघटाउने तर बढ्दा तुरुन्त बढाउनेलाई सरकारका नियमनकारी निकायले कारबाही गर्न सक्नुपथ्र्यो तर त्यो नसकेर नै यस्ता समस्या पटकपटक दोहोरिने गरेको बताउनुभयो। सङ्घका महासचिव अमुलकाजी तुलाधरले नेपाली उद्योग र थोक बजारबाट नै मूल्य बढेर आएपछि खुद्रा व्यापारीसँग बढेको मूल्यमा नै सामान बेच्नुको विकल्प नभएको उहाँको बताउनुभयो। याे खबर गाेरखापत्र दैनिकमा छ ।