काठमाडौं– ४ मंसिरमा हुने आसन्न निर्वाचनमा मूलधारका दलहरू गठबन्धन र तालमेलसहितका उम्मेदवारहरू चुनावी मैदानमा छन्।
यीबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टी लौरो अभियान, नेपालका लागि नेपाली पार्टीलगायत कतिपय स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्।
प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमा २ हजार ५ सय ३१ जनाले उम्मेदवारी दिएका छन्। यी मध्य आगामी निर्वाचनबाट अनुमोदन हुँदै प्रतिनिधि सभा सदस्यमा आउनैपर्ने नयाँ तथा कर्मठ अनुहारका विषयमा सुत्रन्युज र सुत्र टीभीले विश्लेषण गरेका छौं।
यो स्वतन्त्र विश्लेषणमा कतिपय दल आवद्ध नयाँ र कर्मठ अनुहार रहेका छन् भने कतिपय भने स्वतन्त्र तथा नयाँ दल दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन्।
संसदमा आउनुपर्ने कतिपय अनुहारलाई एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा उतारिएको छ। ति मध्य एक जना वा तेस्रो व्यक्ति आउने सम्भावना गणितीय खेलमा भए पनि हामीले उनीहरूको योग्यता कुशलताका आधारमा यो छनौट गरेका हौं।
यी हुन् हाम्रो विश्लेषणले छनौट गरिएका २७ उम्मेदवारको सूची:
गगन थापाः नेपाली कांग्रेसका महामन्त्री गगन थापा आधुनिक राजनीतिमा लोकप्रिय मात्र होइन, युवाको छनौटमा छन्। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला स्वास्थ्यमन्त्रीको जिम्मेवारी छोटो समयलाई सम्हालेका थापाले नागरिकका लागि उपचारमा सहुलियतको व्यवस्था गरेका थिए। उनले डा. गोविन्द केसीका कतिपय माग पूरा गराउन पनि भूमिका खेलेका थिए। उनी काठमाडौं–४ बाट उम्मेदवार छन्।
विश्वप्रकाश शर्माः नेपाली कांग्रेसका निर्वाचित महामन्त्री शर्मा संसदीय राजनीतिमा अहिलेसम्म पाइला टेक्न असफल भएका तर लोकप्रिय नेता हुन्। विद्यार्थी आन्दोलनलाई नेतृत्व गरेका शर्माले मौका पाउँदा जनताका लागि सेवाप्रदायक काम गर्न सक्ने विश्वास गरिन्छ। उनी झापा–१ बाट उम्मेदवार छन्।
चन्द्र भण्डारीः नेपाली कांग्रेसमा परम्परागत नेतृत्वको विपक्षमा उभिएका र नागरिक हितका लागि वकालत गर्ने नेता हुन् चन्द्र भण्डारी। कांग्रेसको उपसभापतिमा पराजित भए पनि युवाको पक्षमा वकालत गर्दै आएका उनी प्रतिनिधि सभामा देखिनुपर्ने पात्र हुन्। गुल्मी–१ मा उनी उम्मेदवार छन्।
धनराज गुरुङः नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ पनि प्रतिनिधि सभामा देखिनुपर्ने अनुहार हो। उनी नेकपा एमालेकी सचिव पद्मा अर्यालसँग स्याङ्जा–२ मा उम्मेदवार छन्।
प्रदीप पौडेलः नेपाल विद्यार्थी संघको नेतृत्व गरिसकेका प्रदीप पौडेल कांग्रेस महाधिवेशनमा महामन्त्रीमा पराजित भएका हुन्। युवाको प्रतिनिधित्व गर्ने उनी प्रतिनिधि सभामा देखिनुपर्ने नयाँ अनुहार हुन्, उनी काठमाडौं–५ मा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धामा उत्रिएका छन्।
योगेश भट्टराईः नेकपा एमालेका सचिव भट्टराईले पर्यटनमन्त्री भएका बेला भिजिट २०२०को धारणा सार्वजनिक गरेका थिए। तर कोभिडका कारण उक्त अभियान रोकियो। एमालेभित्र फरक मत राखे पनि विकासका निम्ति सक्रिय उनी ताप्लेजुङबाट उम्मेदवार छन्।
गोकर्ण विष्टः उर्जामन्त्री भएका बेला सरकारी कार्यालयले गरेको विजुलीको दुरुपयोग रोकेका कारण चर्चामा आएका एमाले सचिव गोकर्ण विष्ट केपी शर्मा ओलीको सरकारमा श्रममन्त्री हुँदा पनि चर्चित भए। उनी गुल्मी–२ बाट चुनावी मैदानमा छन्।
ठाकुर गैरेः नेपाली विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका गैरे एमालेका एक कर्मठ नेता हुन्। पहिलो पटक पाल्पा–२ बाट उम्मेदवार बनेका उनी प्रयोग नभएका कारण पनि मौका दिनुपर्ने नेतामा गनिन्छन्।
प्रदीप ज्ञवालीः एमालेमा वैचारिक र सादा जीवनलाई महत्व दिने नेता हुन् ज्ञवाली। उनी एमाले महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका छन्। मुलुकको परराष्ट्रमन्त्री समेत बनिसकेका उनी गुल्मी–१ मा चन्द्र भण्डारीसँग प्रतिस्पर्धामा छन्। तर, सदनमा देखिनुपर्ने नेता हुन्।
घनश्याम भुसालः पार्टीभित्रका बेथितिउपर जोडदार सवाल उठाउने अर्थमा मात्र नभएर नेपाली कम्युनिस्ट राजनीतिको दिशाहिनताका बारेमा संश्लेषण गर्ने नेता हुन् भुसाल। उनी लामो समयसम्म काम गर्न नपाएका जनप्रतिनिधि हुन्। सदनले उनको आवश्यक महसुस गर्छ। भुसाल रुपन्देही–१ बाट चुनावी मैदानमा छन्।
शिवकुमार मण्डलः नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डल संसदले पुनः खोजेको नेतामा पर्छन्। सत्ता गठबन्धनबाट मोरङ–५ का उम्मेदवार मण्डल वाणिज्य मन्त्री हुँदा दरबारमार्गमा आफुखुसी मुल्य तोक्नेलाई कारबाही गरेका थिए।
अमनलाल मोदीः मोरङ–४ मा उम्मेदवार बनेका अमनलाल मोदी सदनले खोजेको निरन्तरताको अनुहार हो। माओवादी आन्दोलनसँगै समाजसेवामा सक्रिय रहेका उनी जनप्रतिनिधिको हिसाबमा कुशल मानिन्छन्। उनी सत्ता गठबन्धनका उम्मेदवार हुन्।
रामकुमार झाँक्रीः समानुपातिक कोटामा एमालेबाट प्रतिनिधि सभा सदस्य बनिसकेकी युवा नेत्री रामकुमारी झाँक्री सदनले खोजेको अर्को अनुहार हो। नेकपा एकीकृत समाजवादीबाट गुल्मी–२ की उम्मेदवार झाँक्रीलाई एमाले सचिव विष्टसँग मैदानमा उतारिएको छ। यी दुवै सदनले खोजेका पात्र हुन्।
रमेश खरेलः नेपाल प्रहरीका पूर्वडीआईजी खरेल प्रतिनिधि सभाले खोजेको अर्को नयाँ अनुहार हो। नेपाल प्रहरीमा कुशलताका साथ काम गरेका उनले राजनीतिमा पनि परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। उनी काठमाडौं–१ बाट चुनावी मैदानमा छन्।
राजेन्द्र लिङ्देनः राप्रपा अध्यक्ष लिङ्देन वैचारिक भावका कारणले नै सदनमा फेरि दोहोरिनुपर्ने पात्र हुन्। न्यायीक र भ्रष्टाचारविरोधी आचरणका कारण देशले खोजेको सांसद लिङ्देन रहेको बताइन्छ। उनी झापा–३ मा सत्ता गठबन्धनबाट कांग्रेसका नेता कृष्ण सिटौलासँग चुनावी मैदानमा छन्।
रविन्द्र मिश्रः लामो समयसम्म पत्रकारिता गरी वैकल्पिक राजनीतिमा सक्रिय रहेका मिश्र मुुलुक बदल्ने सपना बोकेर हामफालेका छन्। स्पष्ट वक्ता मिश्र यसअघि पनि निर्वाचनमा सहभागी भए तर पराजित भए। उनी नयाँ र प्रयोग नगरिएका व्यक्ति भएकाले पनि सदनले खोजेको छ। उनी काठमाडौं–१ मा उम्मेदवार छन्।
कुन्ती पोखरेलः महिला तथा बालबालिकाको रक्षार्थ व्यावसायीक र सामाजिक काममा सक्रिय पोखरेल प्रतिनिधि सभाले खोजेको नेत्री हुन्। युवाको नेतृत्व र सेवाभावको कर्म गर्ने प्रण गरेकी उनलाई परिक्षण गर्न आवश्यक रहेको चर्चा छ। उनी काठमाडौं–२ बाट राप्रपा पार्टीको उम्मेदवार छिन्।
रेखा थापाः नेपाली फिल्मी क्षेत्रमा एउटा युगलाई नै नेतृत्व गरेकी रेखा थापा निडर, प्रखर र स्पष्ट वक्ता नेत्री हुन्। राप्रपाबाट मोरङ–३ मा प्रतिस्पर्धा गरिरहेकी उनी प्रतिनिधि सभामा आवश्यक सदस्य हुन्। महिला मात्र नभएर कलाकर्मीको प्रतिनिधित्वका आधारमा पनि उनको भूमिका सदनले खोजेको छ।
ज्ञानेन्द्र शाहीः भ्रष्टाचारविरोधी अभियानमा सक्रिय रहेका शाही मुलुकमा हुने नीतिगत बेथितिविरुद्ध सशक्त आवाज उठाउने अभियन्ता हुन्। उनी पछिल्लो पटक राप्रपामा महामन्त्रीको जिम्मेवारीमा छन्। उनलाई प्रतिनिधि सभाले खोजेछ। उनी जुम्लाबाट चुनावी मैदानमा छन्।
रवि लामिछानेः नेपाली सञ्चारकर्ममा देशदेखि विदेशसम्म रहेका नेपालीका दुखका आवाज बनेका लामिछाने मुलुक परिवर्तनका निम्ति राजनीतिमा योजनाका साथ आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रहेका उनले समाज परिवर्तन मात्रै होइन, मुलुकको राजनीति नै परिवर्तनको लक्ष्य राखेका छन्। सदनले खोजेका लामिछाने चितवन–२ मा उम्मेदवार छन्।
डा. तोसिमा कार्कीः निर्वाचन आयोगले पटक–पटक उम्मेदवारी खारेजीको प्रयत्न गरे पनि सर्वोच्च अदालतले न्याय गरेकी डा. कार्की स्वास्थ्यका क्षेत्रमा सक्रिय युवा महिला हुन्। उनको क्षमता र दक्षताको उपयोग सदनले गर्न खोजेको छ। ललितपुर–३ की रास्वपा उम्मेदवार कार्की प्रतिनिधि सभा सदस्यका लागि उपयुक्त पात्र हुन्।
पुकार बमः सामाजिक अभियान्ता, वैकल्पिक राजनीतिका एक पात्र हुन् पुकार बम। कोभिडका समयमा विभिन्न क्षेत्रमा जनतालाई खाना खुवाउने अभियान चलाएर सेवाभाव देखाएका बम एक कुशल प्राध्यापक पनि हुन्। बौद्धिक व्यक्ति समेत भएका कारण सदनले उनलाई खोजेको छ, उनी काठमाडौं–१ का रास्वपाका उम्मेदवार हुन्। उनी सदनले खोजेका रविन्द्र मिश्र, रमेश खरेलसँग मैदानमा छन्।
श्री गुरुङः पर्यटनदेखि अनेक व्यावसायमा पोख्त श्री गुरुङ सदनमा आवश्यक युवा हुन्। उनले केही नयाँ भिजनसहित मुलुकको आर्थिक उन्नयन कसरी गर्न सकिन्छ भन्ने लक्ष्य राखेका छन्। काठमाडौं–५ का उम्मेदवार उनी सदनले खोजेका सदस्य हुन्।
स्वागत नेपालः पत्रकारिता हुँदै कानुनकर्ममा सक्रिय रहेका स्वागत नेपाल प्रखर देशभक्त हुन्। नेपालको भविष्यका निम्ति विदेशीको चाकरी गर्ने राजनीतिका बर्खिलापमा उभिने उनी प्रतिनिधि सभाका आवश्यक सदस्य हुन्। उनी झापा–२ बाट उम्मेदवार छन्।
खुश्वु ओलीः बालबालिकालगायतका क्षेत्रमा काम गरेकी, युवा पुस्ताकी मोडल हुन् ओली। नयाँ अनुहारका रुपमा सदनले उनलाई पनि आवश्यक ठानेको छ। उनी झापा क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा उत्रिएकी छन् ।
झापा ४ बाट स्वतन्त्रमा लड्न लागेकी ओली बेलायतको अक्सफ़ोर्ड विश्वविधालयबाट राजनीति अध्ययन गरेकी मिस टिन नेपाल २००६ तथा द्वन्द ब्यवस्थापन र चाइल्ड प्रोटेक्सन विशेषज्ञ हुन् ।
मल्टिनेशनल कम्पनीमा नेपालको राष्ट्रप्रमुख अनुभव भएकी उनले अन्तराष्ट्रिय द्वन्दमा मास्टर अफ साइन्स गरेकी छन् ।
बेलायतको अक्सफ़ोर्ड विश्वविधालयबाट राजनीति अध्ययन गरेकी मिस टिन नेपाल २००६ खुस्बु ओली द्वन्द ब्यवस्थापन र चाइल्ड प्रोटेकसकन मा बिसेसज्ञ हुन। युवा उधमी ओली झापा ४ बाट स्वतन्त्र तर्फ बाट प्रत्यक्ष चुनाब लड्दै छिन।एसियाको ठुलो मध्य ड्रीम एसिया अवार्ड बिजेता ओलीआफ़्ना कम्पनी र ग़ैर सरकारी संस्था बाट सड़क बालबालिका, महिला , युवा तथा किसान ससक्तिकरण , आर्थिक आत्मनिर्भरता, रोज़गार सृजनामा बिशेष योगदान दिंदैछिन । मल्टीन्यासनल कम्पनी मा नेपालको रास्ट्र प्रमूख भएको अनुभव भएकी ओली ले अन्तराष्ट्रिय द्वन्दमा मास्टर अफ साइन्स गरेकी छन ।
मिलन पाण्डेः वैकल्पिक राजनीति स्थापना र त्यसको लय स्थापित गरिरहेका मिलन पाण्डे शिक्षा, स्वास्थ्यका क्षेत्रमा नीति कस्तो बनाउने भन्ने विषयमा दख्खल राख्छन्। उनको आवश्यकता सदनमा खड्किएको छ। उनी काठमाडौं–९ बाट चुनावी मैदानमा छन्।
डा. सीके राउतः पृथकतावादी राजनीतिबाट सम्झौता गरी मूलधारमा बदलिएका डा. सीके राउत मुलुक बनाउन अमेरिकाबाट आएका हुन्। मधेस प्रदेशमा गरिने राजनीतिका विकल्पमा उभिएका उनलाई पनि सदनले खोजेको छ। सप्तरी–२ मा उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग चुनावी मैदानमा छन्।