उम्मेदवारको राजनीति चरित्र, प्रवृत्ति र योजना हेरेर मत दिनुहोस् : डिल्लीराम सुवेदी (अन्तर्वार्ता)-Sutra News

उम्मेदवारको राजनीति चरित्र, प्रवृत्ति र योजना हेरेर मत दिनुहोस् : डिल्लीराम सुवेदी (अन्तर्वार्ता)

बुधबार, ३० कार्तिक २०७९

बुधबार, ३० कार्तिक २०७९

आसन्न निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी बाग्लुङ–१ प्रदेश सभा (ख) बाट चुनावी मैदानमा उत्रिएका छन् । उनलाई सत्ता गठबन्धनको साथ छ । सुवेदीको प्रतिष्पर्धीको रुपमा यही क्षेत्रबाट एकताका कांग्रेसमा रहेर काम गरेका र अहिले एमालेबाट उम्मेदवार बनेका नवराज पौडेल चुनावी मैदानमा छन् । यी दुबै जनाबीच रोचक प्रतिष्पर्धा हुने देखिएको छ । प्रस्तुत छ  उनै डिल्लीराम सुवेदीसँग गरेको कुराकानी :



पहिलोपटक निर्वाचनको प्रतिष्पर्धा गर्दाको अनुभव कस्तो गरिरहनु भएको छ ?

एकदमै उत्साहजनक छ । बाग्लुङको दक्षिणी क्षेत्रका विकट गाउँहरुमा पुगेको छु । धानबाली थन्क्याइरहेका किसानलाई खेतबारीमै पुगेर भेटिरहँदा उहाँहरुले सकरात्मक प्रतिक्रिया दिनु भएको छ । उहाँहरुले तिमी योग्य छौ र चुनावका बेलामा मात्रै आउने नगर्नू भन्ने सुझाव दिनुभएको छ । यसलाई हृदयमा लिएर फर्किएको छु ।

चुनावी माहोलमा सबैले राम्रो भन्छन् । अरू उम्मेदवारहरूको भन्दा तपाईं कसरी फरक ?

यो तुलना गर्ने कुरा त जनताको हो । तर, पनि जनताका माझ पुगिरहँदा, भेटिरहँदा हामीले कुनै झुटा आश्वासन दिएका छैनौँ । प्रदेश सांसदको काम कर्तव्य अधिकारको विषयमा संविधानले निर्दिष्ट गरेका नीति नियमभित्र रहेर राजनीतिक मूल्यको आधारमा काम गर्ने प्रतिबद्धता छ । यसलाई समग्रमा भन्दा विचारको दृष्टिकोणले ठिक ठाउँ उभिने, विकासको एजेण्डाको दृष्टिकोणले जनताका बीचमा बनेका योजनाहरुलाई प्राथमिकता दिएर अबको १५ वर्षमा यो क्षेत्रलाई कहाँ पु¥याउने भन्ने स्पष्ट मार्गचित्र तथा गुरुयोजनासहित अघि बढ्ने तथा नेतृत्वको दृष्टिकोणले पारदर्शीतासहित जनताकाबीचमा रमाउने उद्देश्य बोकेर हामी हिँडेका छौ । यो प्रतिबद्धता लिएर आएको हुुनाले उहाँहरुले रुचाउनु भएको छ ।

तपाईंका एजेण्डाहरु के के हुन्  ?

हामीले भर्खरै सारेको प्रतिबद्धतामा पहिलो कुरा पहाडी भू–भागको शीरदेखिी कालिगण्डकीको तीरसम्म, थारदेखि भीरसम्म हाम्रो भू–भागमा रहेको सम्भावनाहरुको व्यवस्थित अध्ययन गरेर गुरु योजना बनाउँछौ ।  दोस्रो अलपत्र र असरल्ल रहेका निर्माणाधीन आयोजनाहरुको व्यवस्थित व्यवस्थापन गर्ने, त्यस्तै नयाँ सम्भावनाहरुको खोजी गर्दै गर्दा पहिलो प्राथमिकतामा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा रहनेछ । सार्वजनिक विद्यालय सुधार, युवा उद्यमशिलता, कृषीको बजारीकरण लगायत सबै बिषयको प्याकेज सहितको योजना लिएर अघि बढेका छौ ।

तपाईंको दलले टिकट नदिएपछि नवराज पौडेल एमालेमा जानु भयो नि । यसले तपाईंलाई असर गर्दैन ?

मैले जनता जर्नादनहरु हो, तपाईहरुले गर्ने निर्णय मलाई शिरोधार्य छ भनेको छु । यसमा अब मेरो खासै टीप्पणी छैन ।

सोचेविपरीत मत परिणाम आयो भने गाउँ फर्किन के गर्नुहुन्छ ?

म त यही गाउँकै माटोमा खेले हुर्केर बढेको मान्छे । मेरा मर्दाका मलामी र बिहेका जन्ती यहीँ छन् । परिणाम जे आए पनि स्वीकार्य छ । म त हिजो पनि यहीँ थिएँ, भोलि पनि यही माटोमा नै, गाउँका बाआमा र मेरा मतदाताहरुकै काखमा रम्नेछु ।

अन्त्यमा,  मतदातालाई केही भन्न चाहनुहुन्छ ?

मंसिर ४ को निर्वाचन नेपाली लोकतन्त्रको रक्षा, प्राण प्रतिष्ठा रहेकोले मतदान प्रक्रियामा सहभागी भएर आफ्नो मत प्रकट गर्न आग्रह गर्छु ।  जो मन पर्छ, उसैलाई मतदान गरि आफ्नो कर्तव्य पूरा गरिदिनुहोस् । उम्मेदवारका योजना, विगत र उसको राजनीतिक प्रवृति हेरेर मत हालिदिनुहुन अनुरोध गर्दछु । म यति प्रतिबद्धता गर्दछु कि, तपाईले मलाई भोट दिएर जिताउँदा गलत गरेको रहेछु भन्ने भावना आउन नदिने गरी काम गरेर देखाउनेछु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट