कोरोनाकाल यता क्रमिक रूपमा अप्ठ्यारोमा पर्दै आएको नेपालको अर्थतन्त्र असोजमा आएर केही सुधार भएको छ । नेपालमा भित्रिने विदेशी मुद्राभन्दा बढी बाहिरिने क्रम चलेकोमा गत असोजमा विदेशी मुद्रा बढी भित्रिएकाले अर्थतन्त्र सकारात्मक देखिएको हो ।
जसले गर्दा विगतमा घाटामा रहेको शोधनान्तर स्थिति पहिलोपटक बचतमा आएको छ । गत असोज महिनामा शोधनान्तर स्थिति करिब साढे १२ अर्ब ४३ करोडले रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकका तथ्यांकले देखाएको छ ।
गत वर्षको असोजमा शोधनान्तर स्थिति ७ अर्ब ७१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेकोमा अहिले आएर अमेरिकी डलरमा मात्र हेर्ने हो भने ९ करोड १ लाखले बचतमा रहेको छ । शोधनान्तर सुधार हुनुको पछाडि सरकारले आयातमा लगाएको प्रतिबन्ध तथा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिनु हो ।
तीन महिनामा विप्रेषण आप्रवाह १६ दशमलव ८ प्रतिशतले बढेर २ खर्ब ८१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव १ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७ दशमलव १ प्रतिशतले घटेको थियो ।
गत असोज मसान्तसम्ममा चालू खाता पनि ३४ अर्ब २८ करोड रुपैयाँले मात्र घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ४९ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको चालू खाता चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा २७ करोड रुपैयाँले घाटामा रहेको छ । यो दौरानमा नेपालले वैदेशिक ऋण नलिएकाले र तिर्नुपर्ने रकम तिर्दै गएकाले चालू खाता घाटा कम हुँदै गएको हो । राजस्वमा कमी, पर्यटक आगमनमा कमी, वैदेशिक सहायता कम हुँदै गइ बजेट घाटामा गएको खण्डमा सरकारले पुनः वैदेशिक सहायता बढाउनुपर्ने स्थिति आयो भने चालू खाताको घाटा बढेर जानेछ । अहिले सरकारले विकास निर्माण खासै नगरेको र वजेटमा विनियोजन गरेबमोजिमको कर्जा तिर्दै चालु खाता कम हुँदै गएको हो । सरकारले चालू आवको बजेटमा ४ खर्ब ऋण लिने घोषणा गरिसकेको छ ।
यसैगरी पुँजीगत ट्रान्सफर ३४ प्रतिशतले वृद्धि भई २ अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ करोड रुपैयाँ प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ९२ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।
३ महिनामा विदेशी मुद्रा सञ्चिति पनि बढेको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २० करोड ५ प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ साल असोज मसान्तमा शून्य दशमलव ६ प्रतिशतले कमी आई ९ अर्ब ४ करोड कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ असोज मसान्तमा ४ दशमलव ३ प्रतिशतले वृद्धि भई ११ खर्ब १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९÷८० को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९ दशमलव ६ महिनाको वस्तु आयात र ८ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
आर्थिक वर्ष २०७९÷८० को तीन महिनामा कुल वस्तु आयात १६ दशमलव २ प्रतिशतले कमी आई ४ खर्ब १ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३ दशमलव ७ प्रतिशतले बढेको थियो ।
गत वर्षको तुलनामा आर्थिक वर्ष २०७९-८० को तीन महिनामा कुल वस्तु व्यापार घाटा १३ दशमलव १ प्रतिशतले कमी आई ३ खर्ब ५९ अर्ब १८ करोड पुगेको छ ।
राष्ट्र बैंकको तथ्यांकले अर्थतन्त्रमा मूल्यवृद्धि सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ । २०७९ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति ८ दशमलव ५० प्रतिशत रहेको छ ।
कठोर नीति लिएकै कारण अर्थतन्त्र सुधारको बाटोमा : गभर्नर अधिकारी
गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र सरकारले कठोर कदम चालेकै कारण अर्थतन्त्र सुधारोन्मुख बाटोमा लागेको बताएका छन् । असोज महिनाको तथ्यांकमा अर्थतन्त्रका यसअघि बिग्रिएका सूचक निकै सकारात्मक बन्दै गएको र विशेषगरी करिब १५ महिनापछि शोधनान्तर स्थिति बचतमा आएको उनले बताए ।
उनले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक नीतिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको संकेत नदेखिनेसमेत दाबी गरे ।
राष्ट्र बैंकले लिएको नीतिले सकारात्मक रूपमा काम गरेको कुरा अहिलेको रिजल्टबाट देखिएको र अर्थतन्त्रलाई सही ट्र्याकमा लैजाने आशामा रहेको उनले बताए । राजधानी दैनिकमा खबर छ