आम चुनाव २०७९ः काठमाडौं–७ मा गठबन्धनकी मानुषीले बाजी मार्ने अंकगणित यस्तो छ-Sutra News

आम चुनाव २०७९ः काठमाडौं–७ मा गठबन्धनकी मानुषीले बाजी मार्ने अंकगणित यस्तो छ

बिहिबार, १ मंसिर २०७९

बिहिबार, १ मंसिर २०७९

काठमाडौं– नेकपा एमालेका बागी उम्मेदवार रामवीर मानन्धरले उम्मेदवारी फिर्ता नलिएका कारण काठमाडौं–७ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी मानुषी यमी भट्टराईले प्रतिनिधि सभाका पाइला टेक्न सक्ने सम्भाव्यता अध्ययन भएको छ।



३६ वर्षीया मानुषीको प्रतिस्पर्धा एमालेका ६८ वर्षीय श्यामकुमार घिमिरेबीच हुने देखिएको छ। यो क्षेत्रमा रामवीर मानन्धर र जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ पनि मैदानमा छन्।

१६ जना स्वतन्त्र उम्मेदवार समेत चुनावी दौडमा रहेकाले ६१ हजार २ सय ९१ मतदाताको मत विभाजनमा मानुषीले बाजी मार्न सक्ने अनुमान गरिएको छ। एमालेका लागि मानन्धरको उम्मेदवारी चुनौति बनिदियो भने यस क्षेत्रमा कुनै तालमेल पनि भएको छैन।

नीजि जनमत नभए पनि मानुषीलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनको मतको बल उनका लागि सहज बन्न सक्ने देखिन्छ। यस क्षेत्रमा एकीकृत समाजवादीको प्रभाव पनि बलियो रहेको बताइन्छ। उसको साथ मानुषीलाई रहेको छ।

काठमाडौं–७ मा २०७० को संविधानसभा चुनावमा मानन्धरले हिसला यमीलाई हराएका थिए भने र २०६४ मा यमीले मानन्धरलाई हराएकी थिइन् ।

यो क्षेत्रमा राजकुमार कोइराला, हेमबहादुर ढुंगेल, प्रशन्नकुमार अर्याल, भरत तामाङ, लक्ष्मण गजुरेल, ईश्वर अर्याल, मञ्चु माया तामाङ, प्रकाश कुँवर, यादवलाल कायस्थ, लोकप्रसाद सिम्खडा, रवीन्द्रकुमार श्रेष्ठ, सुजनरत्न बज्राचार्य, रोजिना अवाले, किरण केसी स्वतन्त्र चुनाव लडेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, राप्रापाका धुव्रविक्रम मल्ल, नेमकिपाका किरण महर्जन, हाम्रो नेपाली पार्टीका प्रवेन्द्र पोख्रेल, नेपालका लागि नेपाली पार्टीबाट राम नेपाली, राप्रपा नेपालका कुमार खाकी श्रेष्ठ, राष्ट्रिय जनमुक्तिका जुजुकाजी महर्जन, कांग्रेस बीपीबाट कमला भुसाल, नेपाल आमा पार्टीका कृष्णप्रसाद दवाडी, जनसमाजवादीका शैलेशराज श्रेष्ठ पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

गत वैशाखको स्थानीय निर्वाचनको मतअनुसार सबैभन्दा ठूलो दल कांग्रेस हो । उसले १४ हजार १ सय ६७ मत पाएको छ । गठबन्धनमा सहभागी एकीकृत समाजवादीको ३ हजार ८ सय ३९ र माओवादीको ५ सय ७६ मत रहेको छ । एमालेले १२ हजार २ सय ८२ मत ल्याएको छ । निर्वाचन आयोगका अनुसार कांग्रेस ६ वटा वडामा बिजयी हुँदा एमालेले ४ वडामा जित निकालेको थियो । स्थानीय तहको मतका आधारमा ६ हजार २ सय ३७ मतले सत्तागठबन्धन बलियो देखिए पनि २०७४ को प्रतिनिधि र प्रदेशसभाको मत परिणाम भने फरक छ।

यो मत विभाजनले मात्र मानुषीलाई सहज हुने होइन। क्षेत्रगत हिसाबमा स्थानीय रहेका कारण मानन्धरको आन्तरिक सहयोग नै उनका लागि जीतको आधार बन्ने निश्चित छ।

नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट मैदानमा रहेकी मानुषीको जीतका लागि पुष्पकमल दाहाल प्रचण्डले निक्कै चासोपूर्ण रुपमा खटिएका उच्च स्रोतहरूले दाबी गरेका छन्। प्रचण्डले मानन्धरलाई खुमलटारमा डाकेर नै मानुषीका लागि सहयोग माग गरेका थिए। मानन्धरको प्रभावलाई मानुषीका लागि उपयोग गरे एमालेलाई सहज रुपमा पराजित गर्न सकिने प्रचण्डको बुझाई रहेको छ।

स्थानीय तहमा खसेको मतका आधारमा यस्तो प्रयत्न भए पनि स्वतन्त्रलगायत अन्यको प्रभाव बलियो नभएको खण्डमा मानुषीका लागि प्रतिनिधि सभामा छिर्न असहज अवस्था नरहेको बताइन्छ।

कतिपयले त डा. बाबुराम भट्टराईले छोरीलाई जिताउनका लागि नै प्रचण्डलाई गोरखा–२ क्षेत्रमा उम्मेदवारी दान दिएको चर्चा समेत गरेका छन्। यसकारण पनि प्रचण्डलाई मानुषी जिताउनैपर्ने आन्तरिक नैतिक दबाब रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट