काठमाडौं – मौन अवधि सुरू हुन केही घण्टा बाँकी रहँदा निर्वाचन प्रचार प्रसारका लागि सेलिब्रेटी कलाकारहरू चितवन पुगेका छन् ।
चितवन ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी सभामा सहभागी हुन उनीहरू चितवन पुगेका हुन् । कलाकारहरू दिपाश्री निरौला, निर्मल शर्मा गैंडा, किरण केसी, रमेश उप्रेती, आशिफ साहलगायतले रवि लामिछानेलाई निर्वाचनमा मतदान गर्न अपिल गरे ।
कलाकार दिपाश्री निरौलाले यसपटक चितवनले रविलाई जिताउने विश्वास व्यक्त गरिन् । रविले टेलिभिजन कार्यक्रममार्फत थुप्रै निमुखा जनताको आवाज बोलेको बताउँदै अब संसदमा पुगेरसमेत चर्को आवाज उठाउने बताइन् ।
कलाकार किरण केसीले यसअघि आफूले कुनै पनि पार्टी र उम्मेदवारलाई भोट नमागेको सुनाउँदै रविलाई जनताले जिताउन अपरिहार्य ठानेर अपिल गर्न चितवन आएको बताए ।