काठमाडौं- ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभामा नियाँलिएको खास जिल्ला हो, ओखलढुङ्गा। एउटा मात्रै निर्वाचन क्षेत्र रहेको यस जिल्लामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडा र नेकपा एमालेका नेता यज्ञराज सुनुवार चुनावी मैदानमा छन्।
०७४ मा बाम गठबन्धनबाट जित निकालेका सुनुवारले खतिवडालाई नै पराजित गरेका थिए। यस पटक बाम लोकतान्त्रिक गठबन्धनका ५ दलको सहयोग खतिवडालाई रहेका कारण सुनुवारको प्रतिष्ठा साख जोगाउनुमा रहेको छ। तर, ०७० को संविधानसभा निर्वाचनमा तत्कालिन ओखलढुङ्गा-२ मा निकालेको जित जस्तै कमब्याक गर्ने मिशनमा छन्, खतिवडा।
०७४ मा एमाले नेता सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका थिए भने खतिवडाले २७ हजार ३ सय २७ मत ल्याएका थिए। खतिवडा बाम गठबन्धनविरुद्ध ५ हजार २ सय ५३ मतले मात्र पराजित भएका थिए।
यसपटक उनले गुमेको ५ हजार मत फिर्तासँगै गठबन्धनको सहयोगमा जित निकाल्न आक्रामक चुनावी प्रचार गरिसकेका छन्। एमाले विभाजन, माओवादीको सहयोगका कारण खतिवडाका लागि यो आम चुनाव फलदायी हुने प्रक्षेपण गरिएको छ।
खतिवडाले चुनावी प्रचारका क्रममा प्रतिनिधि सभा विघटनको सवाललाई बलियोगरी उठाएका छन्। यसबाहेक पराजित भए पनि ५ बर्षको अवधिमा जिल्लामा निरन्तर खटिनुका साथै कांग्रेसको महाधिवेशनमा पनि उनको उत्कृष्ट पुनरागमनको प्रभाव देखिने संश्लेषण गरिएको छ।
२०४८ सालको निर्वाचनमा ओखलढुंगाको चुनाव प्रचार समितिको संयोजक बनाएर कृष्णप्रसाद भटटराईले उनलाई खटाएका थिए। २०४५ मा पञ्चायतविरुद्ध नारा लगाएको भन्दै काठमाडौंमा पक्राउ गरि केही दिन थुनेर पछि तीन हजार धरौटीमा जिल्ला अदालत काठमाडौंले छोड्न लगाएका खतिवडा २०४६ साल जनआन्दोलन, २०६२-२०६३ को जनआन्दोलनमा पटक पटक हिरासतमा बसेका थिए।
उनी एमालेका सुनुवारका लागि बलियो चुनौतिका रुपमा खडा भएका छन्। ओखलढुङ्गामा माओवादीको पनि राम्रो प्रभाव रहेका कारण खतिवडालाई सहज हुने बताइन्छ।
०७० मा चुनाव जितेपछि गरेका कामका कारण नै खतिवडाको चर्चा कम छैन। पहिलो पटक सांसदमा निर्वाचित भएपछिको साढे ३ बर्षे कार्यकालमा ११३ पटक ओखलढुंगा जाने र आउने काम गरेका खतिवडाले लिखू, दुधकोसी र मोलुङ करिडोरका सडक निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
०७४ पछि बामपन्थी सरकार आए पनि सक्रिय रहेका उनी केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर कांग्रेस नेतृत्वमा आएपछि अझ खटिएका थिए।
पहिला गरेका कामको जस तथा सांसद भएपछि सुनुवारले काम नगरेको अपजसको विकल्पमा खतिवडा चुनावी महासंग्राममा होमिएका छन्। उनलाई कांग्रेससहित गठबन्धनका अन्य दलको साथले चुनाव जित्ने बल पुगेको छ।