काठमाडौं– नेकपा एमालेको १०औं महाधिवेशनमा महासचिव पदमा विष्णु पौडेलको चर्चाबीच सरप्राइज दिएर उदय भए शंकर पोखरेल। नवौं महाधिवेशनबाट सचिवमा निर्वाचित उनको अनपेक्षित उदयले एमालेको उत्तराधिकारी रोजेको परिचर्चाचाहिँ स्वभाविक हुन थाल्यो। अध्यक्ष केपी शर्मा ओलीसँग अति निकट पोखरेल पार्टीका सांगठनिक काममा अन्य नेता भन्दा सक्रिय देखिन थाले।
पार्टीमा सक्रिय रहेका पोखरेलले प्रतिनिधि सभा निर्वाचनमा ठूलो जीत निकाल्ने अनुमान गरिएको थियो। तर, उनी झिनो मतले पराजित भए पनि यसलाई एमालेजनले महापराजयका रुपमा लिएका छन्। पार्टीका अध्यक्ष ओलीको महाबिजय हुँदा महासचिवको महापराजयमा आश्चर्यजनक हुनु अस्वभाविक थिएन।
एमालेका एक स्थायी कमिटी सदस्य भन्छन्,‘अनपेक्षित पराजय भयो। पार्टीका अन्य नेताले जित निकाल्दा उहाँको पराजयले सांगठनिक रुपमा कहाँनेर कमजोरी भयो भन्ने विषयको संश्लेषण हुनेछ।’
महासचिव पराजयको चर्चा एमालेभित्र मात्र छैन। सत्ता राजनीतिमा प्रभावकारी भूमिका राख्ने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको पराजयले पनि हलचल ल्यायो। माओवादी बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गुरुङको पराजयलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत नै लेखेका थिए,‘कम्युनिस्ट आन्दोलनमा कहाँनेर हामी चुकेका छौं, त्यसको निर्मम समिक्षा अनिवार्य हुनुपर्छ, त्यसको संश्लेषण पार्टीभित्र आवश्यक छ।’
कम्युनिस्ट पार्टीमा महासचिव पदको महत्व सामान्य हुँदैन। नेतृत्वको उत्तराधिकारी तथा संगठन विभागको प्रमुखका रुपमा व्याख्या हुन्छ। यी पदमा सरप्राईज दिँदै निर्वाचित र मनोनित भएका पोखरेल र गुरुङको चुनावी पराजयले एमाले र माओवादीभित्र परिचर्चा छन्।
एमालेमा पोखरेल वैचारिक, सैद्धान्तिक र सांगठनिक हिसाबकिताबका अब्बल नेता मानिन्छन् भने माओवादीभित्र गुरुङ अझै पनि हार्डलाइनर र खरो कम्युनिस्ट सिद्धान्तका अनुनयकर्ता ठानिन्छन्।
संसदीय निर्वाचनमा यी दुवैको पराजयको समानता पनि छ। पोखरेललाई माओवादी उम्मेदवार रेखा शर्मा र गुरुङलाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पराजित गरेका छन्।
दाङ– २ मा पोखरेललाई शर्माले २६ हजार ८७७ मत ल्याउँदै हराइन्। महासचिव पोखरेलले २६ हजार ६८० मत पाउँदा १९७ मतान्तरले पराजित भए। लमजुङमा माओवादी केन्द्रका गुरुङ एमालेका उपमहासचिव पृथ्वीसुब्बासँग पराजित भए। पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याएर विजयी हुँदा देव गुरुङले ३१ हजार ७८१ मत ल्याए।
यी दुवैको हारले दुवै कम्युनिस्ट पार्टीमा पराकम्पन ल्याएको छ। त्यो किन पनि हो भने पौडेलको चर्चा हुँदा हुँदै पोखरेल एमालेको नेतृत्व तहमा उत्तराधिकारीका रुपमा अगाडि सरेका थिए भने माओवादी केन्द्रभित्र बर्षमान पुनः र जनार्दन शर्मा महासचिव बन्ने चर्चा हुँदाहुँदै प्रचण्डले गुरुङलाई उक्त जिम्मेवारीको भारी बोकाएका थिए।
पोखरेललाई अगाडि बढाएर ओली पार्टीभित्रका शक्ति सन्तुलन गर्दै सरप्राईज दिन सफल भएका थिए भने प्रचण्डले पनि आफू माओ जस्तो उत्तराधिकारी तोकेर लिन प्याओको शिकार बन्न नचाहने सार्वजनिक घोषणा गर्नासाथ गुरुङलाई जिम्मेवारी दिएर सबैलाई सरप्राइज दिन सफल भए।
तर ओली र प्रचण्डको चयनलाई निर्वाचनमा जनताले पछारेपछि स्वभाविक रुपमा नै यसको चर्चा कम्युनिस्ट पार्टीभित्र भइरहेको छ। पोखरेल र गुरुङले जिम्मेवारीअनुसार ओली र प्रचण्डबीच चलेको राजनीतिक वाकयुद्धको लयलाई समातेर तर्कवितर्क गर्दै आएका थिए।
पोखरेलले कम्युनिस्ट एकता भत्किनुमा प्रचण्ड कारक रहेको वकालत गर्दै १९ बुँदे आरोपपत्र एउटा प्रमुख कारण भएको दलील पेस गरिरहेका थिए भने गुरुङले प्रतिनिधि सभा विघटनको विषयमा ओलीको खरो आलोचना गर्दै प्रचण्डको प्रतिनिधित्व गर्दै आएका थिए।
हुन त संसदीय राजनीतिकै वकालत गर्ने पोखरेलले अब पार्टीको सांगठनिक कामलाई द्रुत गतिमा अगाडि बढाउने कार्यभार लिने बताइन्छ भने गुरुङ पनि त्यहि शैलीमा अघि बढ्नेछन्। तर, कम्युनिस्ट पार्टीका ठूलो जिम्मेवारीमा रहेका र प्रभाव राख्ने दुवै महासचिवको महापराजयको चर्चाचाहिँ लामो समयसम्म हुने स्पष्ट नै देखिन्छ।