काठमाडौं– ०६४ यता माओवादीको खास किल्ला रहेको जुम्लाले यस पटक प्रतिनिधिसभाका लागि अप्रत्यासित रुपमा आफ्ना जनप्रतिनिधि छानेका छन् ज्ञानबहादुर उर्फ ज्ञानेन्द्र शाहीलाई।
०७८ को अन्तिमसम्मा सडकमा, सरकारी कार्यालयमा भएका बेथितिका विषयमा युट्युव र केही टेलिभिजनमा विभिन्न फन्डा मच्चाएको चर्चामा रहेका ज्ञानेन्द्र शाही त्यस्ता प्रतिनिधि सभा सदस्यमा अनुमोदन गराइयो जो गणतन्त्रको किल्लामा राजतन्त्रको बलियो मियोँ गाड्न सफल भए।
शाहीको उदय फन्डावाला चर्चाका कारण भएको थियो। उनी देशका जनप्रतिनिधि तथा मन्त्रीहरूसँगको विवादका कारण त कहिले कार्यकर्ताको आक्रमणको शिकारका कारण चर्चामा रहने गरेका थिए। पछिल्लो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेपछि उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले महत्वपूर्ण जिम्मेवारी महामन्त्री र प्रवक्ताको दिएका थिए।
अभियानकर्मीका रुपमा आलोचना, विरोध र चर्चामा सँधै रहने गरेका शाहीलाई धेरैजसो भ्रष्टाचारविरुद्धका फन्डामा देखिन्थ्यो। उनले वाइडबडी काण्ड, ललितानिवास प्रकरण, ओम्नी प्रकरणमा खुलेर विरोध गर्दा तत्कालिन नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आक्रमण समेत गरेका थिए।
कहिले पत्रकारसँग विवाद परेका कारण त कहिले सभामा प्रहरीको हस्तक्षेपका कारण सना या ठूला विवादमा तानिने गरेका शाहीका लागि अबको बाटो प्रतिनिधि सभा बनेको छ र उनको मानपदवी माननीयको बनाएर जुम्लका जनताले पठाएका छन्।
०७८ फागुन ६ गते राप्रपामा प्रवेश गरेपछि राजनीतिक व्यक्तिका रुपमा सडक अभियानकर्मीदेखि उनको स्थानान्तरण भयो।
जुम्लाबाट प्रतिनिधिसभामा गठबन्धनकी उम्मेद्वार नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई फराकिलो मतअन्तरले पछि पादै निर्वाचित भएपछि उनी माननीयको हकदार बनेका छन्। शाहीले २२ हजार ८१९ मत ल्याएर निर्वाचित हुँदा गोमाले ११ हजार ९५९ मत पाइन्। नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५२८ मत ल्याएका छन्।
अभियानकर्मीबाट राजसंस्था र हिन्दू राष्ट्रको पैरवी गरिरहेको राप्रपाबाट राजनीतिक यात्रा थालेपछि उनी खरो राजावादीका रुपमा मोडिए। राजसंस्थाको पैरवी गर्दै जुम्लामा चुनाव जित्नु चुनौतिको विषय थियो तर गणतन्त्रका नाममा गरिएका राजनीतिक बेथितिको विकल्पमा जनताले राजावादीकै उदयलाई मन पराए।
०४८ सालपछि जुम्लामा कुनै पनि राजावादीले चुनाव जितेका छैनन्। ०७० मा कांग्रेसले जिते पनि ०६४ मा माओवादीलगायत कम्युनिस्टले किल्ला गाड्दै आएको थियो।
सिंजा गाउँपालिका–३ निवासी शाहीको गृह जिल्ला समेत रहेको जुम्लामा राप्रपा निकै कमजोर छ। स्थानीय तहको निर्वाचनमा राप्रपाले करिब ४५० मतमात्रै पाएको थियो। उनको वडामा राप्रपाले १६ मत ल्याएको थियो।
यस्तो चुनावी हिसाबकिताबमा चुनौति मानिएको जुम्लामा उनले भावनात्मक र रचनात्मक चुनावी प्रचारलाई तिव्रता दिए। उनले भावनात्मक सन्देश छाड्दै भनेका थिए,‘जुम्लाका जनताले हराए पनि जिताए पनि स्वीकार्य छ।’
आखिर काठमाडौंका सडकमा तुल, व्यानर र प्लेकार्ड देखाउँदै, विभिन्न कार्यालयमा बेथितिविरुद्ध आवाज उठाउँदै हिँडेका उनलाई जुम्लाका जनताले जिताउनुको पछाडिको मुख्य कारण अन्य दलप्रतिको विकर्षण पनि रहेको विश्लेषण गरिएको छ।
राजसंस्थाको भन्दा पनि जुम्लाका समस्या, ठूला दलले हेपेको जुम्लाका दुखका विषयलाई कडा आवाजमा शाहीले प्रतिरोध भाषण गरेका थिए। जुम्लाका जनताले आफ्नालाई माया गरेको रुपमा यो चुनावमा शाहीको बर्चश्व रहेको बताइन्छ।
जुम्लामा ०८४ यताको संसदीय चुनावमा एउटै व्यक्तिले दोहोरिएर जितेको इतिहास छैन्। ०४८ मा नेकमिपाबाट डिल्लीबहादुर महत, ०५१ मा नेमकिपाकै भक्तबहादुर रोकाया, ०५६ मा एमालेका देवीलाल थापा, २०६४ मा माओवादीका नरेश भण्डारी, २०७० मा कांग्रेसका ललितजंग शाही र ०७४ मा माओवादीकै गजेन्द्रबहादुर महत यो क्षेत्रबाट निर्वाचित भएका थिए।
२०४८ माघ २४ गते जुम्लाको सिंजामा जन्मिएका शाही ३१ वर्षका भए। आफूलाई सिए (चार्टर्ड एकाउन्टेन्ट) बताउने उनी बैसाख २०७६ मा सुर्खेतका पत्रकारलाई अपशब्द बोलेर एकएक चर्चामा आएका थिए।
सामाजिक सञ्जालमा चर्को बोलेर लोकप्रियता कमाएका शाहीका हजारौं फ्यान छन्। उनी बोलेर मात्र चर्चामा आउँदैनन्, उनीमाथि बेलाबेला सडकमै हुने ‘आक्रमण’ वा उनी संलग्न हुने झडपले पनि चर्चामा ल्याइरहन्छ।
२०७६ असोजमा चितवनको चौबीसकोठीमा पनि उनीमाथि आक्रमण भएको थियो। आफनो लोकप्रियताबाट डराएर सत्ता पक्षका व्यक्तिहरुले नै आफूमाथि पटक–पटक आक्रमण गर्ने गरेको बताउँदै आएका थिए। राज्यले त्यसबेला गरेको उनीमाथि गरेको निर्मम आक्रमणले चर्चा थप चुलियो।
राजनीतिमा सानो मोडले पनि महत्वपूर्ण जिम्मेवारीमा जनताको मत बलियो हुन्छ भन्ने उदाहरण शाही हुन्। सँधै परिवर्तन खोजीरहेको जुम्लामा शाहीको बिजय एउटा राजावादीको चाखलाग्दो उदयका रुपमा हेरिएको छ।