काठमाडौं– प्रतिनिधि तथा प्रदेश सभाका मतिपरणाम पूर्ण नहुँदै आगामी सरकार कम्युनिस्ट गठबन्धनको बन्ने संकेत देखा परेको छ। सत्ता गठबन्धनमा माओवादीलाई कांग्रेसबाट धोका भएको ठहर गर्दै एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बहुमत बनाएर कम्युनिस्ट नेतृत्वको सरकार बनाउनेतिर छलफल चलाउने भएका छन्।
कम्युनिस्टको गठबन्धन बनाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं सक्रिय भएका छन्। उच्च स्रोतका अनुसार पार्टी एकीकरणको विषयलाई थाँती राख्दै प्रधानमन्त्रीमा आलोपालोको सम्झौता इमान्दारीताका साथ पालना गर्दै कम्युनिस्ट नेतृत्वको सरकार गठनका लागि नेताहरू सक्रिय भएका छन्।
नयाँ सरकारमा प्रचण्डले पहिलो कार्यकाल प्रधानमन्त्री चलाउने सहमति बनेको खण्डमा माओवादी राजी हुने पनि बताइएको छ। यद्यपि, यस विषयमा गहिरो छलफल समानुपातिकतर्फको मतपरिणाम पूर्ण भइसकेपछि हुने स्रोतको दाबी छ।
एमाले अध्यक्ष ओलीले प्रचण्डलाई टेलिफोन गरेर बधाई दिँदै नयाँ समीकरणका लागि छलफल हुनसक्ने संकेत दिएका हुन्। माओवादीको हेडक्वार्टरले पनि कांग्रेससँगको गठबन्धन प्रत्युत्पादक भएको ठहर गरिसकेको छ।
ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राखेर प्रचण्डले छलफल गराउने तयारी समेत भएको छ। प्रतिनिधि सभामा दक्षिणपन्थी हावी भएको भन्दै कांग्रेसलाई सरकार सुम्पन नहुने निधोमा कम्युनिस्ट नेता पुगेका छन्।
उच्च स्रोतले भन्यो,‘कम्युनिस्ट पार्टीको विभाजनमा आत्मआलोचना गरी एकअर्काका कमजोरीमाथि गम्भिर समिक्षा गर्दै नयाँ सरकारको ढाँचा तयार पार्ने विषयमा पनि छलफल भएको छ। कांग्रेसलाई प्रतिपक्षमा राखेर सरकार बनाउन सकिने सम्भावना रहेको छ।’
बिहीबार दिउँसो ओलीले प्रचण्डलाई फोन गरेका थिए। ‘तिक्तता बढेर पर भइयो, अब बसेर कुरा गरौं’ भनी ओलीको प्रस्ताव प्रचण्डलाई गएको थियो। प्रचण्डले ओलीको प्रस्तावमा सकारात्मक प्रतिक्रिया जनाएका थिए। प्रचण्डले आगामी परिस्थितिअनुसार बाम गठबन्धन बन्न सक्ने ओलीलाई बताएको स्रोतको दाबी छ।
बिहीबार ओलीले झापा पुगेर देशमा नयाँ राजनीतिक शक्तिको उदय भनेर प्रोपागान्डा मच्चाइएको भन्दै असन्तुष्टि जनाएका थिए। वैकल्पिक शक्तिका रुमपा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयसँगै कांग्रेसको भूमिका रहेको भन्ने कम्युनिस्टको बुझाई छ। उक्त उदयले नेपालमा कम्युनिस्टलाई हानि गरेको फरक तर्कबीच बाम गठबन्धनको तयारी भएको बताइन्छ।
बिगतमा पनि प्रचण्ड र ओली कडा आलोचक हुँदा गठबन्धन गर्दै चुनाव र पार्टी एकतासम्म भएको नजीरका कारण आगामी सत्तारोहणमा सहमति नहोला भन्न नसकिने कतिपय विश्लेषकले बताएका छन्। ‘सत्ता र शक्तिका लागि ओली र प्रचण्ड जुन हदसम्म पनि सहमति गर्न तयार हुन्छन्’, एक विश्लेषक भन्छन्,‘आगामी परिस्थिति बाम गठबन्धनको नबन्ला भन्न सकिन्न।’