नयाँ शक्तिको उदयः चितवनमा कांग्रेस, एमाले र माओवादीको कन्तबिजोग-Sutra News

नयाँ शक्तिको उदयः चितवनमा कांग्रेस, एमाले र माओवादीको कन्तबिजोग

शनिबार, १० मंसिर २०७९

शनिबार, १० मंसिर २०७९

भरतपुर– प्रतिनिधि सभा निर्वाचनमा मूलधार भनिएका पार्टीलाई पराजित गर्दै नयाँ राजनीतिक शक्तिको उदय भएको छ। मूलधारको राजनीतिमा प्रभाव राख्ने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई धक्का दिँदै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अस्वभाविक उदय भएको हो।



यी दुई पार्टीले केन्द्रीय राजनीतिमा दख्खल राख्ने नेताका चुनावी क्षेत्र रहेको चितवन जिल्लामा मुख्य पार्टीकै पत्तासाफ गरेका छन्। प्रतिनिधि सभामा तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा रास्वपा र राप्रपाले कब्जा जमाउँदै कांग्रेस, एमाले र माओवादीलाई बोल्ड आउट गरेका हुन्।

५ दलीयय गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका कांग्रेस र माओवादी तथा ठूलो प्रभाव राख्छु भन्ने एमालेलाई चितवनका निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा रास्वपा र राप्रपाले सिङ्गल–सिङ्गल लडेर नै पराजित गरिदिए।

तीन निर्वाचन क्षेत्र मध्य दुई वटामा रास्वपा र एउटामा राप्रपाले जीत निकाल्दै धक्का दिने नयाँ राजनीतिक शक्तिका रुपमा उदय भए। जुन एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, कांग्रेस सभापति शेरबहादुर देउवाका भित्रिया उमेश श्रेष्ठ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै निर्वाचन क्षेत्र पर्छन्। यद्यपि यस पटक चुनावमा खतरा देखेकै कारण प्रचण्ड गोरखा–२ मा चुनाव जीत्न उक्लिएका थिए।

चितवन–१ मा एमाले उपाध्यक्ष पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पानी पनि भन्न दिएनन्। उनले ७ हजार पाँच सय ८१ मतान्तरमा पाण्डेको संसद यात्रामा ब्रेक लगाए।

ढकालले ३४ हजार एक सय ८९ मत ल्याउँदै प्रतिनिधि सभामा आफ्नो सीट सुरक्षित गरेका थिए। पाण्डेले २६ हजार ६०८ मतमात्र ल्याए। नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९०९ मत मात्र ल्याए।

ढकालको बिजयले मात्र रास्वपाको उदय भएको होइन। चितवन क्षेत्र नम्बर २ मा सोही पार्टीका सभापति रवि लामिछानेको अस्वभाविक मतान्तरको बिजयले मूलधारका पार्टीलाई सोच्न बाध्य बनायो।

लामिछाने ३४ हजार २६४ मतान्तरले निर्वाचित भए। ४९ हजार दुई सय ६१ मत पाएका लामिछानेसँग प्रतिस्पर्धामा पनि देखिएनन् देउवाका भित्रिया श्रेष्ठ। उनले १४ हजार ९८३ मत प्राप्त गरे। यसअघिको निर्वाचनमा जित निकालेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत मात्र पाए।

प्रचण्डले अघिल्लो पटक जीत निकालेको चितवन–२ मा राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेले बाजी मारे। एमालेले कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गरेको क्षेत्रमा पाण्डेले माओवादीका खास उम्मेदवार भोजराज अधिकारीलाई पराजित गरे।  पाण्डे ३४ हजार ६६२ मतसहित विजयी हुँदा अधिकारीले २४ हजार ६७१ मतमा चित्त बुझाउने अवस्था भयो। । रास्वपाकी जीता बराल १४ हजार ७८९ मत ल्याएर तेस्रो भइन्। यहाँ पनि नयाँ शक्तिकै मत बलियो देखियो।

चितवनमा मूलधारका पार्टीलाई शून्य जीतमा सीमित गरेका नयाँ शक्तिको उदयले प्रतिनिधि सभाबाट सरकार बनाउने गणितमा नै ठूलो धक्का दिएको छ। रास्वपा र राप्रपाले समानुपातिक मतमा पनि ठूलो धक्का दिने प्रारम्भिक नतिजा ल्याइसकेका छन्। रास्वपा समानुपातिकमा तेस्रो छ भने राप्रपा ५औंमा छ। ति मतबाट तय हुने सांसद संख्याका आधारमा सत्ता गठबन्धन र एमालेले सरकार बनाउने अवस्था नहुने स्पष्ट खाका देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट