काठमाडौं– नेकपा एमालेका चर्चित युवा नेता महेश बस्नेतले भक्तपुर–२ मा यस पटकको निर्वाचनमा पराजय भोग्नुका विविध कारण रहेका छन्।
२०७४ सालमा बाम गठबन्धन हुँदा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई दोब्बर मतले पराजित गरेका बस्नेत २०७९ सालमा भने ९५७ मतान्तरमा हार स्वीकार्न बाध्य भए। उनलाई प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसका दुर्लभ थापाले पराजित गरेका हुन्।
थापाले २४ हजार २३९ मत ल्याउँदा बस्नेत २३ हजार २८२ मा रोकिँदै स्तब्ध भए। आफ्नो निर्वाचन क्षेत्रमा राम्रो काम गरे पनि उनलाई जनताले किन पत्याएनन्? यो अहम् प्रश्नका उत्तरहरू खोजिएको छ।
जबकि, २०७४ सालमा बस्नेतले ३६ हजार ४१२ मत ल्याएर कांग्रेसका दमननाथ ढुङ्गानालाई १८ हजार ६८७ मा रोकेका थिए। बस्नेतले यस पटकको निर्वाचनमा पराजित भएपछि आफ्ना तर्फबाट केही दलील पेस गरेका थिए। तर, ति मात्र पर्याप्त कारण भनेचाहिँ होइनन्।
बस्नेतले भनेका थिए,‘पाँच दल मात्र नभएर ६–७ दल नै एकजुट भएर आएपछि हाम्रो केही लागेन। तर गठबन्धनले आफ्नो भोट जोगाउन सकेको छैन। यहाँ गठबन्धनको ३१ हजार भोट छ। उसले त्यति भोट ल्याएन।’
उनले अगाडि थपेका थिए,‘यसपाली महेशले जित्यो भने २० वर्ष हामीलाई उठ्न दिँदैन भनेर सबै दल मिले भन्ने कुरा पनि सुनिएको छ। त्यसमा मलाई आपत्ति होइन । फलेको हाँगालाई नै सबैले ढुंगा हान्ने हो। जसले ठूलो हाइट बनायो त्यसमै सबैको आँखा पर्छ। तर कतिपय वुद्धिजीवी महेशले २० वर्ष होल्ड गर्छ भन्ने नाममा भक्तपुरलाई २० वर्ष पछि धकेल्ने काम भयो पनि भनिरहेका छन्।’
चुनावमा पराजित भएपछि मन बुझाउने क्रममा महाभारतको उदाहरण दिँदै उनले भनेका थिए,‘कृष्णजी आफू नलडिकन विनास्वार्थ पाण्डवलाई जिताउन लागे। कर्णजी हारिन्छ भन्ने जान्दा पनि हारिने टिममा लागे। एमालेको सिंगो पंति त्यही ढंगले चुनावमा लाग्यो । हामी हारेका छौं, हार खाएका छैनौं।’
बस्नेतले चुनावअघि नै प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिँदै कांग्रेस शुन्यमा झर्ने भनेका थिए। तर, देउवालेचाहिँ दुर्लभ थापालाई हराएर देखाउन बस्नेतलाई चुनौति दिएका थिए। अन्ततः बस्नेत पराजित भए।
बस्नेत हार्नुका चार कारण मिहिन ढङ्गले पहिल्याइएको छ।
भिडियो पनि हेर्नुस्
१.ओभर कन्फिडेन्सः सांसद भएर निर्वाचन क्षेत्रमा राम्रो काम गरे पनि बस्नेतमा ओभर कन्फिडेन्स हावी भयो। उनले भक्तपुरमा एमालेभन्दा बाहेक अन्यको जीत नै नहुने ठोकुवा गर्दै आएका थिए। यहि क्रममा नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भक्तपुरमा आफूसँग चुनाव लड्नका लागि बस्नेतको चुनौति थियो। तर बस्नेतलाई देउवाका एक उम्मेदवार दुर्लभ थापाले जीत निकाल्न नै दुर्लभ पारिदिए। बस्नेतले अन्य दललाई चुनौतिको भाषा नबोली एमालेका कामको बेलिबिस्तार लगाएको भए सम्भवतः पराजयको स्वाद चाख्नुपर्ने थिएन।
२. वैकल्पिक शक्तिमाथि खनिनुः सहरी क्षेत्रको राजनीतिमा नै आमूल परिवर्तनको हावा चलिरहेका बेला बस्नेतले वैकल्पिक शक्तिको विरोधमा भाषणलाई निरन्तरता दिन थाले। जम्मा ९५७ मतले मात्र उनी पराजित हुनुको अर्को तर प्रमुख कारण वैकल्पिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको मतलाई मान्नुपर्ने देखिन्छ। भक्तपुर–२ मा स्वतन्त्र पार्टीबाट बस्नेतसँग भिड्न साजन बिक मैदानमा थिए। उनले ४ हजार ९८ मत ल्याए। यी मत एमालेतिरकै झुकाव राख्नेका रहेको पनि विश्लेषण गरिएको छ। किनकी स्वतन्त्र पार्टीका कतिपय नेता कार्यकर्ता एमालेकै पृष्ठभूमीका छन्।
३. बालेन अभियानको बिरोधः महेश बस्नेत पराजित हुनुको तेस्रो कारणचाहिँ काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)को डोजर अभियानको बिरोध गर्नु पनि रहेको बताइन्छ। चुनावका मुखैमा बालेनको अभियानविरुद्ध बस्नेतले चर्को विरोध मात्र गरेनन् टेलिभिजन अन्तरवार्ता समेत दिन भ्याए। जसबाट परिवर्तन चाहिरहेका जनतालाई चित्त बुझेन। यसको परोक्ष प्रभाव चुनावी नतिजामा बस्नेतले खेप्न परेको बताइन्छ।
४.एमालेभित्रको किचलोको छायाँः चौथो तथा अन्तिम कारणचाहिँ बस्नेतलाई पार्टीभित्रकै घेराबन्दी रहेको पनि बताइन्छ। एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट भए पनि बस्नेत ‘किचेन’ घेराभन्दा बाहिर धकेलिएका थिए। विष्णु रिमाल, गोकुल बास्कोटालगायतको टिमले बस्नेतलाई असहयोग गरेको बताइन्छ। राष्ट्रिय युवा संघकै एउटा पंक्ति बस्नेतसँग खुसी थिएन। युवा संघमा उनले गरेका कठोर र एकल निर्णयको प्रभाव चुनावमा देखा परेको बताइन्छ।