काठमाडौं– सत्ता गठबन्धनमा आगामी शक्ति सन्तुलन र नयाँ सरकार गठनका विषयमा चर्चा र दौडधुप बढेको छ। गठबन्धनले स्पष्ट बहुमत नपाएको खण्डमा पनि बहुमत हुनेगरी शक्ति सन्तुलन गरी अघि बढ्ने चर्चा चलेको छ।
यो उपक्रममा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रधानमन्त्री पदमा दाबीसहितका भागवन्डाको चर्चा चलेको छ। आगामी राष्ट्रपति को बन्ला भन्ने चर्चा पनि चुलिएको छ।
यो दौडमा गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको दाबी रहेको छ। कांग्रेसभित्रको शक्ति सन्तुलनका लागि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई अगाडि सार्ने भएका छन् भने नेकपा एकीकृत समाजवादीले चुनावमा पराजित भएका सम्मानित नेता झलनाथ खनाललाई अगाडि सार्ने उच्च स्रोतले दाबी गरेको छ।
नयाँ सत्ता समीकरणका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता सक्रिय भइसकेका छन्। पटक–पटक देउवा, प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको छलफल चलिसकेको छ।
चुनावमा पराजित हुने देखेपछि केन्द्रीय सत्ता समीकरणमा आफ्नो दाबी गर्नका लागि एकीकृत समाजवादीका नेता खनाल काठमाडौं आएका थिए।
कमजोर जनमत रहेका कारण खनाल पराजित भएका थिए।
समानुपातिकतर्फबाट मत परिणामलाई हेर्दा एकीकृत समाजवादीले ८ हजार २१ मत पाएको थियो। खनालले २३ हजार ८९ मत ल्याएका थिए। उनलाई एमालेका महेश बस्नेतले २५ हजार ७५३ मत ल्याएर पराजित गरेका थिए। खनाललाई यसअघि नै राष्ट्रपति बनाउने चर्चा चलेको थियो।
यता कांग्रेसभित्रको शक्ति सन्तुलनका लागि भने पौडेललाई राष्ट्रपति बनाउने तयारी भएको छ। देउवालाई संसदीय दलको नेतामा सहयोग गर्दै प्रधानमन्त्री बन्ने बाटो खुलाएपछि पौडेललाई उक्त पद दिने कसरत सुरु भएको बताइन्छ।
यद्यपि सत्ता गठबन्धनमा बाँडफाँटको टुङ्गो लागिसकेको छैन। उच्च स्रोतका अनुसार पदीय भागवन्डाका लागि शीर्ष नेताबीच छलफल चलिरहेको छ।
पौडेलले संवैधानिक पद भन्दा पनि कार्यकारी प्रमुखमा दाबी गरिरहेका छन्। चुनावअघि नै आगामी प्रधानमन्त्री बनाउने शर्तका आधारमा महाधिवेशनमा देउवालाई पौडेलले सघाएको भन्ने चर्चा थियो।
यता आगामी सत्ता समीकरण र संसदीय दलको नेताको विषयमा आन्तरिक समीकरण मिलाउन कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र देउवापत्नी आरजु राणा सक्रिय रहेको चर्चा सतहमा आएको छ। उनीहरूले प्रधानमन्त्रीमा देउवा अनिवार्य कायम गर्दै अन्य पदमा शीर्ष नेतालाई व्यवस्थापनको गृहकार्य गरिरहेको बताइन्छ। उनीहरूले पनि कांग्रेसको भागमा राष्ट्रपति परेको खण्डमा पौडेललाई व्यवस्थापन गर्नेगरी छलफल चलाएको बताइन्छ।