काठमाडौं– २०७९ सालको आवधिक निर्वाचनमा मुख्य दललाई सकस पार्दै नयाँ दल स्थापित हुने प्रक्रियामा रहेका छन्। मुख्य दलले चुनावमा भोगेको नतिजाको कारण नयाँ दलको उदय मात्र नभएर सैद्धान्तिक बाटोको कमजोरी पनि औंल्याइएको छ।
यो निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले राम्रो फाइदा लिएको समिक्षा गरिएको छ। नेक टु नेक प्रतिस्पर्धामा एमालेको उपस्थिति भए पनि पहिलो दल बन्नेमा शंका गरिएको छ।
एमालेको यो कमजोरीका विविध कारण रहेको विश्लेषकहरू बताउँछन्।
पार्टी विभाजन हुँदा पनि अघिल्लो सदनमा ८० जना सांसद रहेको एमालेलाई यो निर्वाचन फलिफाप नभएको स्पष्ट चित्र देखिएको छ। अर्कातिर समानुपातिक मतमा पनि यसै बर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा खसेको मत समेत एमालेले पाउन सकेन।
यसको मुख्य कारण एमाले पार्टीको भन्दा पनि अध्यक्ष केपी शर्मा ओलीको ब्रान्डिङ गर्नु रहेको बताइन्छ। चुनावअघि एमालेले पार्टीको लोकप्रियताका आधारमा नभई ओलीको लोकप्रियता झल्काउनेगरी प्रचारप्रसार गरेको थियो। ‘मंसिर ४, एमाले सरकार’ जस्ता नारामा पार्टीको नाम प्रतिस्थापन गर्दै अध्यक्ष ओलीको नाम राखियो। जस्तै, ‘मंसिर ४, ओली सरकार’ भनी प्रचार गरियो। यद्यपि एमालेले आगामी प्रधानमन्त्रीको उम्मेदवार ओलीलाई नै बनाउने अग्रिम निर्णयचाहिँ गरिसकेको थियो।
प्रतिनिधि सभा विघटनको दाग, नयाँ र वैकल्पिक शक्तिमाथि गरिएको प्रहारका कारण पनि एमाले ५ बर्षमा आधा भइसकेको पुष्टि चुनावी नतिजाले दिइरहेको छ। एकातिर सत्ता गठबन्धनको धक्का र अर्कातिर नयाँ राजनीतिक शक्तिको तिव्र उदयको क्षति एमालेले ब्यहोर्नुपरेको हो।
२०७४ को स्थानीय तह निर्वाचनमा पहिलो २९४ तहमा विजयी एमाले यस पटक २०५ सिटमा खुम्चियो। प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पनि आधा नै भएको छ। प्रत्यक्षका १६५ सिट मध्य एमाले ४४ मा सीमित भइसकेको छ। एकाध ठाउँमा कांग्रेससँग प्रतिस्पर्धामा रहेका विवरण आइरहेका छन्।
भिडियोमा पनि हेर्नुस् –
प्रदेश सभामा पनि अघिल्लो पटक उल्लेख्य जीत निकालेको एमाले यस आवधिक निर्वाचनमा ९०को हाराहारीमा खुम्चिएको छ। महासचिव शंकर पोखरेलले चुनावअघि विश्लेषण गरी ४० लाख मत खस्ने दाबी र आँकलन गरे पनि मतदानमा जनताको उल्लेख्य सहभागीता नहुनु र राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको उदयको चोट एमालेलाई परेको छ। यद्यपि सानोतिनो दुखाई नेपाली कांग्रेसले पनि खेप्नु परेको थियो तर उसले गठबन्धनमा ८६ सीट मात्र लिएका कारण प्रत्यक्षतर्फ राम्रो नतिजा ल्याएको मानिन्छ। तर समानुपातिकमा भने कांग्रेसले पनि बाजी मार्न सकेन।
प्रतिनिधिसभाको समानुपातिकतर्फ १ करोड २० हजारभन्दा बढी मतगणना हुँदा एमालेले पाएको मतले त्यहि संकेत गरिसकेको छ। २०७४ सालको निर्वाचनमा ३१ लाख भन्दा बढी मत ल्याएको एमाले यस पटक २८ लाख मतमा सीमित हुने निश्चय जस्तै भइसकेको छ।
एमाले २७ लाखको वरिपरीको मत बटुलिरहेको छ भने नेपाली कांग्रेसले २६ लाखको सेरोफेरोमा मत ल्याइरहेको छ। यी दुवै पार्टीको मत रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले तानेको विश्लेषण गरिएको छ। उसले ११ लाखको हाराहारीमा समानुपातिक मत ल्याइसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ लाखको गतिमा मत ल्याइसकेको छ।
यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए। त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड ९ लाख हाराहारीमा मत खसेको थियो।
२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाँच दलले निर्वाचन ऐनले तोकेको थ्रेस होल्ड पार गरी राष्ट्रिय दलको मान्यता पाएका थिए। उक्त निर्वाचनमा एमालेले ३१ लाख ७३ हजार चार सय ९४, कांग्रेसले ३१ लाख २८ हजार तीन सय ८९, माओवादी केन्द्रले १३ लाख तीन हजार सात सय २१, राजपा नेपालले चार लाख ७२ हजार दुई सय ५४ र सङ्घीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार दुई सय एक मत प्राप्त गरेका थिए।
उक्त निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपालले ६ स्थान र संघीय समाजवादी फोरम नेपालले ६ सिट प्राप्त गरेका थिए। तुलनात्मक रुपमा मुख्य दललाई यस पटकको आवधिक निर्वाचनले राम्रो क्षति गरेको देखिन्छ। त्यसको मुख्य मार पहिलो दल बनेको एमालेले खेप्यो। यसको प्रमुख कारणचाहिँ पार्टी, नीति र विधान भन्दा पनि नेताको ब्रान्डिङ गरिनु स्पष्ट देखियो।