कांग्रेस संसदीय दलमा डा. कोइराला समूह देउवासँग अहिले ‘पराजित’-Sutra News

कांग्रेस संसदीय दलमा डा. कोइराला समूह देउवासँग अहिले ‘पराजित’

बिहिबार, १५ मंसिर २०७९

बिहिबार, १५ मंसिर २०७९

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा मैदानमा उत्रिने युवा नेता गगन थापाको तयारीबीच संस्थापनइतरका नेता डा. शेखर कोइरालाले परोक्ष रुपमा पराजय स्वीकार गरिसकेका छन्।



कोइरालाले बिहीबार बिराटनगरमा पत्रकार सम्मेलन गरी संसदीय दलमा आफ्नो टिम बलियो नभएको स्वीकार गर्दै भनेका छन्,‘सभापति शेरबहादुर देउवा जी नै बलियो हुनुहुन्छ तर हामी प्रतिस्पर्धामा उत्रिन्छौं।’

उनको समूहबाट युवा नेता थापाले संसदीय दलमा दाबी गर्दै मैदानमा उत्रिने तयारी गर्दा कोइराला भने मौन छन्। कांग्रेस महाधिवेशनमा कोइराला सभापति देउवासँग प्रतिस्पर्धामा उत्रिएका थिए। तर पराजित भए।

तर प्रतिनिधि तथा प्रदेश सभामा भने उनी मोरङ–६ बाट निर्वाचित भइसकेका छन्। प्रतिस्पर्धी नेकपा (एमाले)का स्थायी कमिटी सदस्य लालबाबु पण्डितलाई भारी मतान्तरले पराजित गर्दै कोइराला सांसद चुनिएका थिए।

उनले ३५ हजार २१३ मत ल्याउँदा पण्डित २२ हजार ९२९ मतमा सीमित बने। कोइराला र पण्डितबीचको मतान्तर १२ हजार २८४ छ।

पण्डितसँग ५ वर्षअघि कोइराला पराजित भएका थिए।

२०२७ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीति सुरु गरेका कोइरालाले आगामी सरकार पनि पार्टीको नेतृत्वमा बन्ने दाबी गरेका छन्। तर, सरकार नेतृत्वमा आफू हुनेबारे उनले नबोल्नुको अर्थ नै संसदीय दलमा दाबी गर्न नसक्ने अवस्था रहेको बुझिन्छ।

कांग्रेसको राजनीतिमा सक्रिय कोइराला पार्टीको ११ औँ, १२ औँ र १३ औँ महाधिवेशनसम्म केन्द्रीय सदस्य रहे। कांग्रेसमा स्थापित नेतृ नोना कोइरालाका छोरा उनी विराटनगर महानगरपालिका–७ निवासी हुन्। ७२ वर्षीय कोइरालाले अल इण्डिया मेडिकल साइन्स इन्ष्टिच्युट (एमस), भारतबाट एमडी गरेका छन्। उनलाई कांग्रेस राजनीतिमा गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारीका रुपमा पनि व्याख्या गरिन्छ।

देउवाको उदय र प्रभाव

युवा तहका नेताले संसदीय दलमा हस्तक्षेपकारी प्रभाव राख्ने तयारी गरे पनि कांग्रेसभित्र सभापति देउवाको प्रभाव बलियो देखिने निश्चित छ। प्रत्यक्षमा ५५ सिट जीतिसकेको कांग्रेसले समानुपातिक समेत गर्दा ८६ सांसद बनाउने अनुमान गरिएको छ। यसमा देउवा पक्षका नै सांसदको बहुमत हुने निश्चित जस्तै छ।

पूर्वउपसभापति विमलेन्द्र निधिले त देउवा नै संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने ठोकुवा गरिसकेका छन्। यो दौडमा रामचन्द्र पौडेल पनि मैदानमा छन् तर केही सीप नचल्ने अवस्थामा रहेको कांग्रेस स्रोतले बताएको छ।

देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै २०५२ सालमा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए। पटक–पटक गरी देउवा ५ पटक प्रधानमन्त्री बन्न सफल भइसकेका छन्। अब छैठौं पटकको अभ्यासमा लागेका छन्।

नेपाली काँग्रेसको विभाजन पछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति थिए। काँग्रेस पुनर्मिलन पश्चात् उनी आफ्नो पार्टीसँगै नेपाली काँग्रेसमा गाभिएका थिए। देउवा डडेलधुरा जिल्ला र कञ्चनपुर जिल्ला क्षेत्र नं. ४ बाट संविधानसभामा प्रतिनिधित्व गरेका व्यक्ति हुन्।

२०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्।

उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी संघका प्रथम सभापति थिए।  सुदूरपश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिने उनी सत्ता राजनीतिमा नै शक्तिशाली बनेका छन्।

कांग्रेसको आन्तरिक राजनीतिमा पनि देउवाको शक्ति संचय बलियो भयो। यसैकारण पनि महाधिवेशनमा सभापतिको दौडमा उत्रिएका बरिष्ठ नेता पौडेल पनि देउवाको ओतमा छन्। महाधिवेशनका क्रममा देउवाको पक्षमा सभापतिका उम्मेदवार प्रकाशमान सिंह, निधि समेत उभिएपछि उनको शक्ति अझ बलियो भएको छ।

संसदीय बोर्ड र दलमा पनि उनी हाबी हुने निश्चित भइसकेको छ। सत्ता गठबन्धनको बहुमत आएको र सरकार बनाउने अवस्थामा देउवा नै प्रधानमन्त्री बन्ने बताइन्छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले त खुलेरै देउवा प्रधानमन्त्री बन्ने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट