काठमाडौं– प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको नयाँ नतिजासँगै उदय भएका नयाँ दलको महत्व बलियो भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत र नागरिक उन्मुक्ति पार्टी निर्णायक शक्तिका रुपमा उदय भएका छन्।
सत्ता गठबन्धनले सरकार बनाउनका लागि कम्फर्टेबल बहुमत हासिल गर्न यी मध्यका नागरिक उन्मुक्ति पार्टीलाई रोजेका छन्। यसैकारण, टिकापुर घटनाको अभियोगमा जेलमा रहेका पार्टीका मुखिया रेशम चौधरीलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुगेका विवरण सतहमा आएका छन्।
प्रचण्ड सोमबार, माधव नेपाल र भट्टराई मंगलबार चौधरीलाई फकाउन जेलमा पुगेका थिए। नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा आफैं पनि चौधरीसँग वार्तामा रहेको बताइन्छ।
नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइलाई पहिलो सर्त राखेको छ। चौधरीकी पत्नी पार्टी अध्यक्ष एवं कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रञ्जिता श्रेष्ठले भने सरकारमा जाने विषयमा कुनै निर्णय नभएको प्रतिक्रिया दिइसकेकी छन्। उक्त पार्टीका चार सांसद रहेका छन्। पार्टीबाटै जितेका तीन जना छन् भने स्वतन्त्र सांसदका रुपमा रेशम चौधरीका बुवा लालबीर चौधरीले बर्दियाबाट चुनाव जीतेका छन्।
नागरिक उन्मुक्ति पार्टीले कैलाली–१ मा श्रेष्ठ, कैलाली–२ मा अरुणकुमार चौधरी, कैलाली–३ मा गंगाराम चौधरीको जीतसँगै प्रतिनिधि सभामा तीन सांसद पाएको छ। बर्दिया–२ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी पनि सोही पार्टीमा खुल्ने निश्चित छ।
०७२ भदौ ७ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र ७ सुरक्षाकर्मीको हत्यामा कैलाली अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको सजाय उच्च अदालत दिपायलले सदर गरेपछि उनी जेलमै छन्।
उनलाई छुटाउने अधिकतम प्रयास नभएको भने होइन। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले चौधरीलाई छुटाउने प्रशासनिक र न्यायीक बाटो खोजेको थियो। तर, राजनीतिक खिचातानीका कारणले सम्भव भएन।
जनता समाजवादी पार्टीमा रहेका रेशम चौधरी यसको विभाजनका बेला भने कतै खुलेनन्। निर्वाचनको मुखमा चौधरीले नागरिक उन्मुक्ति पार्टी स्थापित गरेका थिए। बर्दिया–२ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका रेशम चौधरीको मनोनयन खारेज भएपछि स्वतन्त्रमा बुवा लालवीरलाई उठाएका थिए।
जेलमा रहे पनि सत्ता राजनीतिलाई प्रभावित बनाउन सक्ने हैसियतमा जनताले पत्याएपछि रेशम चौधरीको महत्व अझ बलियो भएको छ। सरकार बनाउने शक्तिले उनलाई छुटाउने प्रयत्न थालिसकेको छ।