काठमाडौँ । ‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनलाई ठगीको आरोप लागेको छ । निर्माता सेनविरुद्ध चलचित्र निर्माता संघमा सिक्किम निवासी राम गोपाल राईले ठगीको उजुरी हालेका हुन् । राईले सेनविरुद्ध संघमा ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाउदै उजुरी दर्ता गराएका छन् । निर्माता सेनले ‘प्रेमगीत ३’को डिजिटल अधिकारका लागि उक्त रकम लिएको तर फिल्मको डिजिटल राइट नदिएको भन्दै राईले ठगीको उजुरी हालेका हुन् । राईले निर्माता सेनले तीन करोड भारतीय रुपैँया विभिन्न समयमा लिएको र विभिन्न समयमा टिकट काटिदिएको ४ लाख ५० हजार गरी ४ करोड ८४ लाख ५० हजार सेनले तिर्न बाँकी रहेको समेत आरोप लगाएका छन् ।
पिडित भनिएका राईले गम्भिर आरोप लगाउँदै निर्माता सेनले पछिल्ला दिनमा उक्त रकम तिर्नुपर्ने भएकाले आफ्नो र आफु निकटतमहरु कसैको पनि फोन नउठाएको जिकिर गरेका छन् । उनले भनेका छन् ‘विपक्षी र मेरो बीचमा डिसेम्बर ६, २०२० अर्थात् नेपाली मिति २०७७र/८/२१ गर्न मा सम्पन्न भएको सम्झौता मुताविकको शर्त विपक्षीले पूरा नगरी उल्लंघन गरेको पूराका लागि फोनवाट बारम्बार ताकेता गर्दा फोन नउठाउने, विपक्षीको घरमा जाँदा भेटसम्म नदिएकोले विपक्षीले म बाट लिएको उल्लेखित रकम अनुचित तरिकाले पचाउने दूषित नियत देखिएकोले विपक्षी यस संघको सदस्य समेत भएको कारणले विपक्षीलाई यस संघमा झिकाइ सम्झौता अनुसारको म बाट लगेको भारतीय रकम रु ३ करोडको हुन आउने नेपाली रु ४ करोड ८० लाख रकम र विपक्षी लगायत उक्त चलचित्रका नायक प्रदीप खड्का,
ललित विष्ट र विपक्षी समेतलाई मुम्बई जाँदा प्लेनमा लगेको टिकटको रकम रु ४,५०,०००। )चार लाख पचास हजार) सहित जम्मा रु ४ करोड ८४ लाख ५० हजार रुपैयाँ विपक्षीबाट असुल उपर गराइ न्याय दिलाई पाउँ’ राईले निर्माता संघमा दिएको उजुरीमा उल्लेख छ । निर्माता संघमा राईले उजुरी दर्ता गराएसँगै अब प्रक्रियागत रुपमा अगाडि बढ्ने जनाइएको छ ।