समूह ‘एच’ बाट पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा पुगेका छन् । यही समूहका उरुग्वे र घाना घर फर्केका छन् ।
शुक्रबार राति दक्षिण कोरियासँग २–१ ले पोर्चुगल पराजित भयो । यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरेको पोर्चुगललाई पराजयको कुनै प्रभाव परेन । ६ अङ्क सहित पोर्चुगल समूह विजेता बन्यो । विजयी दक्षिण कोरिया भने उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
दक्षिण कोरियाका लागि किम योङ–ग्वन र हवाङ ही–चानले गोल गरे । पोर्चुगलको लागि रिकार्डो होर्टाले १ गोल गरे । ५ औँ मिनेटमा होर्टाको गोलले पोर्चुगलले अग्रता लियो । २७ औँ मिनेटमा किमले गोल फर्काएसँगै खेल १–१ को बराबरीमा पुग्यो । इन्ज्यूरी समयमा ह्वाङको गोलमा दक्षिण कोरियाले खेल जित्यो । जित सँगै ४ अङ्क जोडेको दक्षिण कोरिया अन्तिम १६ मा पुग्यो ।
अर्को खेलमा घानालाई २–० ले हराए पनि उरुग्वे भने बाहिरिएको छ । ४ अङ्क जोडेको उरुग्वेको दक्षिण कोरियासँग अंक र गोल अन्तर बराबर भयो । तर गोल कम गरेको आधारमा बाहिरिएको हो । ३ अङ्क जोडेको घाना पनि घर फर्किएको छ । राजधानी दैनिक