माधव नेपाललाई संसदमा सकस, सांसदलाई ह्विप लगाउन नसक्दा कसरी जोगिएला पार्टी?-Sutra News

माधव नेपाललाई संसदमा सकस, सांसदलाई ह्विप लगाउन नसक्दा कसरी जोगिएला पार्टी?

बुधबार, २१ मंसिर २०७९

बुधबार, २१ मंसिर २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रतिनिधि सभाको आगामी दैनिकी सबैभन्दा सकसपूर्ण हुने  देखिएको छ। एमालेमा विद्रोह गरी पार्टी गठन गरेका उनलाई सबैभन्दा ठूलो चुनौति सांसद जोगाउन हुने देखिएको छ।



प्रत्यक्षतर्फ १० सीट जीत निकाले पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्दा आगामी दिनमा जुनसुकै बेला सांसद जता पनि ढल्किने सक्ने अवस्था छ। थ्रेसहोल्ड कटाउन नसक्ने दलका सांसद संसदमा स्वतन्त्र हुन्छन्।

राष्ट्रिय दल बन्न नसकेका कारण एकीकृत समाजवादीमा संसदीय दल हुनेछैन। स्वतन्त्र सांसदका रुपमा प्रतिनिधि सभामा उभिने सांसदलाई ह्विप नलाग्ने भएपछि अध्यक्ष माधव नेपालसँग पार्टी एकीकरण गर्नुको विकल्प छैन। उनी १० सांसदसहित एकीकरण गरी माओवादीलाई थप बलियो बनाउँछन् या कांग्रेसलाई नेक टु नेक च्यालेन्ज गर्न सक्नेगरी एमाले फर्किन्छन् भन्नेचाहिँ टुंगो लागेको छैन।

नेकपा विभाजनका बेला केपी शर्मा ओलीतिर खुलेका तत्कालिन केही सांसद मन्त्री पद पाउनका लागि नै अध्यक्ष नेपालतिर लागेका थिए। मन्त्री परिवर्तनका बेला अध्यक्ष नेपाल र उनीहरूको कचपच पनि परेको थियो। तिनै सांसदले पार्टीबाट निर्वाचन जीते पनि आगामी सत्ता समीकरण र सरकार गठनको अवस्थालाई हेरेर अध्यक्ष नेपालको राजनीतिक ताकतलाई कमजोर बनाउन सक्ने देखिन्छ।

एकीकृत समाजवादीबाट डोटीमा प्रेम आले, बारामा किसान श्रेष्ठसहित १० जनाले जीत निकालेका थिए। यी तिनै दुई व्यक्ति हुन् जो मन्त्री पदका लागि तत्कालिन नेकपा विभाजनका बेला ओलीतिर टाँसिएका थिए भने सत्ता परिवर्तन हुने अवस्थामा अध्यक्ष नेपालतिर जोडिएर सरकारमा पुगेका थिए।

‘यस्तै प्रवित्तिका नेताका कारण माधवकुमार नेपाललाई धोका हुन सक्छ, यसको विकल्पमा उनले के गर्लान्?’, उच्च स्रोतले भन्यो,‘यो अवसरलाई सरकार बनाउने एमालेले पनि प्रयोग गर्न सक्छ।’

गठबन्धनमा २० सीट लिएर चुनावी मैदानमा उत्रिए पनि नेकपा एकीकृत समाजवादी १९ वटामा मात्र प्रतिस्पर्धामा उत्रिन पायो। जसमा १० क्षेत्रमा जीत निकालेको थियो।

अध्यक्ष माधवकुमार नेपालले रौतहट–१ बाट विजयी हासिल गरे। उनले ३३ हजार ५ सय २२ मत ल्याएर उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ ल्याएका थिए।

दाङ क्षेत्र नं. १  एकीकृत समाजवादी पार्टीका मेटमणि चौधरी दोस्रोपटक सांसद निर्वाचित भए।

प्रत्यक्षमा गठबन्धनमा राम्रो फाइदा उठाउन सफल भए पनि माधवकुमार नेपालको पार्टीले समानुपातिकमा ठूलो मार खायो। यसैकारण पनि आगामी संसदमा कठोर समय बिताउनुपर्ने संशय देखा परेको हो

नेकपा एमालेकी शान्ता चौधरीलाई पाँच हजार मतान्तरले पछि पार्दै चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। मेटमणी चौधरीले २६ हजार ५६३ मत प्राप्त गरे उनकी प्रतिस्पर्धी शान्ताले २१ हजार ४७९ मत पाइन्।

धादिङ– १ मा राजेन्द्र पाण्डे विजयी भए। उनले ३५ हजार नौ सय ३४ मत प्राप्त गरे। पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरेका थिए।

भिडिओ रिपोर्ट हेर्नुहोस्

बारा– ४ मा किसान श्रेष्ठ निर्वाचित भए। पूर्वश्रममन्त्री श्रेष्ठ २९ हजार ५०५ मत ल्याएर निर्वाचित भए। अछाम–१ बाट शेरबहादुर कुँवर निर्वाचित भए। श्रममन्त्रीसमेत रहेका कुँवरले नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई पराजित गरेका हुन्। प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीको यो पहिलो जित हो।  कुँवरले १९ हजार ५३४ पाउँदा एमाले उम्मेदवार बोहराले १५ हजार ४५ मत पाएका छन्।

डोटीको प्रतिनिधिसभा सदस्यमा पार्टीका उम्मेदवार प्रेमबहादुर आले निर्वाचित भए।  आलेले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई चार हजार २०६ मतान्तरले हराए। आलेले २७ हजार २१० मत प्राप्त गर्दा ओलीले २३ हजार चार मत ल्याइन्।

सल्यानबाट प्रकाश ज्वाला निर्वाचित भए। उनी ३५ हजार ७ सय मत पाएर निर्वाचित भएका हुन्। ज्वालाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाह १५ हजार ९ सय ११ मतको अन्तरले पराजित भए। शाहले १९ हजार ७ सय ८९ मत पाएका छन्।

बझाङको प्रतिनिधिसभा सदस्यमा भानुभक्त जोशी निर्वाचित भए। उनी नेकपा एमालेका ऐनबहादुर महरलाई ९९८ मतान्तरले हराउँदै उनी विजयी भएका थिए। जोशीले २८ हजार एक सय ४३ मत ल्याउँदा महरले २७ हजार १४५ मत प्राप्त गरेका थिए।

डोल्पामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा ११ हजार २२५ भोट ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ भोट ल्याएका थिए।

दैलेख–१ मा पार्टीका अमरबहादुर थापा प्रतिनिधिसभा सदस्य निर्वाचित भए। थापा १८ हजार २५६ मत प्राप्त गरी विजयी भएका हुन्।  उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रवीद्रराज शर्माले १७ हजार ४०७ मत प्राप्त गरे।

प्रत्यक्षमा गठबन्धनमा राम्रो फाइदा उठाउन सफल भए पनि माधवकुमार नेपालको पार्टीले समानुपातिकमा ठूलो मार खायो। यसैकारण पनि आगामी संसदमा कठोर समय बिताउनुपर्ने संशय देखा परेको हो।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिक तर्फ एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको छ। त्यसको ३ प्रतिशत तीन लाख १६ हजार ८०२ हुन्छ।

एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ। त्यसहिसाबले ‘थ्रेसहोल्ड’ पार गर्न १८ हजार ४११ मत अपुग भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट