सत्ता समीकरण बलियो बनाउन साना दलको साथ खोज्दै प्रचण्ड-Sutra News

सत्ता समीकरण बलियो बनाउन साना दलको साथ खोज्दै प्रचण्ड

बिहिबार, २२ मंसिर २०७९

बिहिबार, २२ मंसिर २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्र अहिले सत्ता समीकरण बलियो बनाउन साना दलको साथ खोजिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साना दलबाट निर्वाचित भएका नेताहरुलाई भेटघाट गरेर सत्ता समीकरणबारे छलफल गरिरहेका छन् ।



यसैबीच प्रचण्डले स्वतन्त्रबाट निर्वाचित भएका सांसद प्रभु शाहलाई भेटेका छन् । बिहीबार प्रचण्डले खुमलटारमा नै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र सांसद शाहसँग भेटवार्ता गरे । भेटमा उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र भावी सरकार गठन बारे छलफल भएको जनाइएको छ ।

भेटमा प्रचण्डले राखेको प्रस्तावलाई शाहले सकरात्मक रुपमा लिएको स्रोतको भनाई छ । चुनावअघि नेकपा एमालेमा रहेका शाहले रौतहट क्षेत्र नम्बर २ बाट उम्मेदवार दिएका थिए । एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि सत्ता गठबन्धनले शाहलाई निर्वाचनमा समर्थन पनि गरेको थियो । यसअघि प्रचण्डले जेलमा रहेका रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष सिके राउतसँग भेटवार्ता गरेका थिए ।

सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका राउतले सत्ता गठबन्धनमा सामेल हुने रुची देखाइरहेका छन् । यसैका लागि राउतले प्रचण्डसँग मात्र नभई प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका थिए । राउतले प्रधानमन्त्रीदेखि स्वतन्त्र रूपमा निर्वाचन जितेका उम्मेदवारलाई भेटे । प्रचण्डसँगको भेटमा पनि राउतले शुभकामना आदानप्रदान तथा आगामी दिनमा सहकार्यबारे छलफल गरेका थिए ।

प्रचण्डले पनि आफू यसका लागि सकरात्मक रहेको बताएका थिए । यता, नागरिक उन्मुक्ति पार्टीका चौधरी भने जबसम्म आफूहरुका मुद्दाहरु सम्बोधन हुँदैन, तबसम्म कुनै गठबन्धनमा नरहने बताउदै आइरहेका छन् । पछिल्लो समय प्रचण्डको भेटघाट हेर्दा उनले सत्ता समीकरण बलियो बनाउन साना दलका निर्वाचित नेताहरुको साथ खोजिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट