पिरतीयात्राको मझधारमा पुष्पा न्यौपानेले रोजेको आत्मदाह-Sutra News

पिरतीयात्राको मझधारमा पुष्पा न्यौपानेले रोजेको आत्मदाह

बिहिबार, २२ मंसिर २०७९

बिहिबार, २२ मंसिर २०७९

काठमाडौं– केही दिनअघि मात्र पुष्पा न्यौपानले रोजेको आत्मदाहको कठोर निर्णयको सर्वत्र चासो र चर्चा मात्र छैन, त्यसभित्रका कारण र पात्रहरूबारे पनि टिप्पणी भइरहेका छन्।



यहि आइतबार साँझ ७ बजेतिर धुम्बराहीस्थित पिपलबोट चोक नजिकै एक घरको अगाडि जलिरहेको अवस्थामा भेटिएकी उनको उपचारका क्रममा निधन भएपछि यो प्रकरण प्रहरी अनुसन्धानको गहिरो विषय बनिसकेको छ।

यो घटनाको प्रस्थानविन्दु प्रेम सम्बन्ध थियो। यो क्रम विकास हुँदै बिहेसम्म पुग्नुअघि तर इन्गेजमेन्टपछि पुष्पाले गरेको आत्मदाहको परिणामले चियो चर्चाको विषय बनेको छ।

तर संक्षिप्त पृष्ठभूमीले महिला हिंसाको एउटा घटनाको प्रमाण पुष्पाको आत्मदाह बनिदिएको छ।

२७ वर्षीया पुष्पा न्यौपानेको आत्मदाहले महिलामाथि नरोकिएको हिंसाको चरम रूपलाई उजागर गरिदियो।

दुवै परिवारको अनुमतिमा धुम्बाराहीका सुधन संग्रौलासँग इन्गेजमेन्ट गरे पनि पछि विवाह नगर्ने भन्दै केटा पक्षले सम्झौता तोडेपछि उनले आइतबार साँझ सुधनकै घरको ढोकाअगाडि आत्मदाह गरेकी थिइन्।

शरीरमा पेट्रोल छर्केर आगो लगाएकी उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ सेन्टर लगिएका थियो। उपचारका क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो।

दुवैतर्फका अभिभावकले मञ्जुरी दिएपछि पुष्पा र सुधनबीच १८ भदौमा बुद्धनगरस्थित पुष्पाकै घरमा इन्गेजमेन्ट भएको थियो।

वर्ष दिनभित्र विवाह गर्ने सहमतिमा इन्गेजमेन्ट भएको मृतक पुष्पाका काका उत्तम न्यौपानेले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन्।

‘दुवै पक्षको चित्त बुझेपछि राजीखुसी, मञ्जुरीले गत १८ भदौमा भतिजीको घर बुद्धनगर बानेश्वरमा जनै–सुपारी, टीकाटालो, दान–दक्षिण भई एक वर्षभित्र दिन किटान गरी विवाह गर्ने निश्चय भएको थियो’ जाहेरीमा भनिएको छ ।

तर, शनिबार सुधनले पुष्पाको घर गएर एकाएक ‘इन्गेजमेन्ट’ तोडेका थिए। त्यसपछि दुई पक्षबीचको विवाद चुलीमा पुगेको थियो। यही क्रममा पुष्पा भोलिपल्टै अर्थात् आइतबार धुम्बाराहीस्थित सुधनको घर पुगेकी थिइन्। विवादकै बीच पुष्पाले सुधनको घरअगाडि आत्मदाह गरेकी हुन्।

धुम्बाराहीस्थित घरमा बोलाई थप मानसिक यातना दिएपछि भतिजी पुष्पा न्यौपानेले प्रतिवादीहरूको अगाडि पेट्रोल शरीरमा खन्याई आत्महत्या गर्न लाग्दासमेत नरोकी उल्टै आत्महत्या गर्न दुरुत्साहन गरेको ठहर जाहेरीकर्ता उत्तम न्यौपानेले गरेका छन्।

‘तपाईंहरूको छोरीजस्तै लाग्ने महिलाले शरीरमा पेट्रोल छर्किएर आगो लगाई आत्महत्या गर्दै छिन् भनी बचाउनको सट्टा आत्महत्या गर्न दुरुत्साहन गरेको देखियो,’ जाहेरीमा उल्लेख छ।

पुष्पाको पिरतीदेखि प्राणत्यागसम्म 

२०७८ माघदेखि पुष्पा धुम्बाराही घर भएका व्यवसायी सुधनसँग नजिकिन थालिन्।

चीनबाट बालबालिकाको खेलौना लगायतका सामग्री आयात गरेर विक्री वितरणको काम गरिरहेका सुधन केल्मी नेपालको दरबारमार्गस्थित शोरुम गएपछि यो घटनासम्म हुँदको प्रस्थानविन्दु भेटिन्छ।

सुधन र पुष्पाको प्रेमका अङ्कुर सोही बेलादेखि पलाउन थालेको थियो। फेसबुकमा साथी हुँदै आपसमा फोन नम्बर साटासाट भएपछि पिरीत अझ झाँगिन थाल्यो।

दुवैको घरमा आउने जाने क्रम उपक्रममा कुनै रोकटोक भएन। परिवारका सदस्यले पनि रोक्ने कुरा थिएन, व्यावसायीक सफलतारित लहरो बढाउन थालेकी पुष्पा र सफल व्यावसायी बन्दै गरेका सुधनको सन्निकटतालाई दुवै परिवारका सदस्यले नजरअन्दाज गरे।

त्यसैले यो जोडीको १८ भदौ २०७९ मा बुद्धनगरस्थित घरमा टिकाटालो गर्न परिवार पनि राजी भए।

इन्गेजमेन्टपछिका केही समय खुसी भए पनि यो जोडीमा समस्या त्यसबेलादेखि आउन थाल्यो जब फेसबुकमा फोटो राख्ने विषयमा बहस भयो।

पुष्पा इंगेजमेन्टको तस्वीर भिडियोहरु सुधनलाई मेन्सन गरेर पोष्ट गर्न चाहन्थिन् । तर सुधनले स्वीकृति दिएनन्। यसपछि शंकाको सुविधा मात्र मिलेन, यसको कारण खोज्ने क्रममा खटपट पनि सुरु भयो पुष्पा–सुधनबीच।

मनमुटाव घट्नुको साटो उल्टै उल्झिँदै गयो। प्रहरीको प्रारम्भिक अनुसन्धानले गत कात्तिकमा यी दुवैबीच विवाद बढेको खुलेको छ। यसपछि निरन्तर विवाद रोकिने होइन यसका साइड इफेक्टहरू पनि हुन थाले। यसको अन्तिम विन्दु थियो शनिबार सुधनका बुबाआमा बुद्धनगरस्थित पुष्पाको घरमा आएर इन्गेजमेन्टमा दिएको सुपारी, दक्षिणा र गरगहना फिर्ता गर्नु।

यो विवादको मूल जरोचाहिँ सुधनको अर्को प्रेम सम्बन्ध रहेको भन्ने चर्चा पनि छ। प्रहरीले उक्त पाटोमा पनि अनुसन्धान जारी राखेको छ।

सुधन चीनमा रहँदा त्यहीँकी एक युवतीसँग सम्बन्धमा थिए। कोरोना महामारीपछि नेपाल फर्किएका सुधन ती युवतीसँग अलग भइसकेका थिए।

लकडाउनका बेला समस्यामा पर्दा व्यवसायलाई अघि बढाउन पनि सुधनलाई चिनियाँ युवतीले नै सहयोग गरेको न्यौपाने परिवारको बुझाइ छ।

आउने शनिबार पुष्पाको दिदीको इन्गेजमेन्ट हुँदै थियो। त्यसका लागि ‘ब्लाउज’ सिलाउन दिएकी थिइन्। त्यही लिन भन्दै उनी आइतबार दिउँसो ३ बजेतिर बुद्धनगरस्थित घरबाट निस्किएकी थिइन्। कपडा लिएर पुष्पा कतिबेला आइन्। फेरि कतिबेला निस्किइन्, परिवारका सदस्यहरुलाई राम्रो याद छैन।

एक्कासी साँझ ७ः१५ बजेतिर पुष्पा आगोले जलेर गम्भीर अवस्थामा रहेको खबर आयो। पुष्पाको बुबा पुरुषोत्तम न्यौपानेलाई आएको फोनमा सुधनका बुबाले ‘पुष्पा जस्तै देखिने केटी जलिरहेको’ भन्दै बोलाइएको थियो।

यो फोनअघि पुष्पालाई किन बचाउने प्रयास गरिएन भन्ने प्रश्नलाई अहम् बनाइएको छ। कतिपयले जलिरहेकी पुष्पालाई तत्काल अस्पताल किन लगिएन भन्ने प्रश्न न्यौपाने परिवारले गरेको छ। यहि प्रश्नले आत्महत्या दुरुत्साहनको मुद्दा लगाउनका लागि बल पुगेको छ।

घटनापछि प्रहरीले अनुसन्धान जारी राखेको छ। घटनास्थल आसपासको क्लोज सर्किट (सीसी) क्यामराका फुटेजहरु संकलन भइसकेको छ।

आत्हत्या दुरुत्साहनका मुद्दाका लागि प्रहरीले आवश्यक प्रमाण जुटाउन दुवै परिवारका सदस्यसँग बयान लिने काम जारी राखेको छ। मृतकको पोष्टमार्टम रिपोर्ट विहीबारसम्म आइनसकेका कारण थप अनुसन्धानले गति लिन सकेको छैन। रिपोर्ट आउनासाथ अनुसन्धानको प्रक्रियाले तिव्रता लिने काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) दिनेश मैनालीले सुत्र टिभी र सुत्रन्युजलाई जानकारी दिएका छन्।

अभियोग लागेका सुधन भने अहिले हिरासतमा छन्। उनलाई सोधपुछ जारी राखिएको प्रहरी अधिकारी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट