कतार विश्वकपः क्वार्टरफाइनलका ८ टोली कुन कति बलिया ?-Sutra News

कतार विश्वकपः क्वार्टरफाइनलका ८ टोली कुन कति बलिया ?

बिहिबार, २२ मंसिर २०७९

बिहिबार, २२ मंसिर २०७९

काठमाडौं– कतारमा जारी २२औँ संस्करणको विश्वकपमा अन्तिम ८ को समीकरण पूरा भएको छ।



साबिक बिजेता फ्रान्स, उपविजेता क्रोएसीया, सर्वाधिक पाँच पकटको च्याम्पियन ब्राजिल, दुई पटक उपाधि उचालिसकेकको अर्जेन्टिना, सबैभन्दा धेरै फाइनल प्रवेश गरेको हल्यान्ड, फुटबलको जन्मदाता इङ्गल्यान्ड, अफ्रिकन प्रतिनिधि मोरोक्को र युरोकप उचालिसकेको पोर्चुगल अन्तिम ८ को भिडन्तका लागि तयार छन्।

अन्तिम १६ को प्रतिस्पर्धाको नतिजा अप्रत्यासित निस्किएको थियो।

मध्यपूर्वी एसीयामा पहिलो पटक आयोजना भएको कतार विश्वकपमा शुक्रबारबाट क्वार्टरफाइनलका खेल सुरु हुनेछन्। पहिलो पटक अन्तिम ८ मा अफ्रिकन मुलुक मोरोक्कोको सहभागीता भएको हो। उसले विश्वकप बिजेता स्पेनलाई स्तब्ध पार्दै क्वार्टरफाइनलमा स्थान बनायो।

युरोप, अफ्रिका र दक्षिण अमेरिका महादेशका टोलीबीच हुने भिडन्तमा एउटाले उपाधि उचाल्ने त निश्चित नै छ। सेमिफाइनल प्रवेशका लागि शुक्रबार राति ब्राजिल र क्रोएसीयाबीच पहिलो प्रतिस्पर्धा हुनेछ ।

अर्जेन्टिना र हल्यान्डले भने सोही दिन दोस्रो भिडन्त गर्नेछन्। शनिबार हुने खेलमा फ्रान्स र इङ्ग्ल्यान्ड आमने–सामने हुनेछन् भने सोही दिन मोरक्कोले पोर्चुगलको सामना गर्नेछ।

विश्वकपको क्वार्टरफाइनलमा पुगेका टोलीहरू एक–आपसमा कस्ता छन् त?

क्रोएसीया

क्रोएसीया सन् २०१८ को उपविजेता हो। अन्तर्राष्ट्रिय मिडियाले क्वार्टरफाइनलमा पुग्ने सबैभन्दा कमजोर टोली नै क्रोएसीया भनी विश्लेषण गरेका छन्। क्रोएसीयाले अन्तिम ८ को यात्रा तय गर्न धेरै मिहेनत गर्नुपरेको थियो। समूह चरणमा बेल्जियमलाई गोलरहित बराबरीमा रोक्दै क्रोएसीयाले प्रि–क्वार्टरफाइनल स्थान पक्का गरेको थियो। प्रिक्वार्टरफाइनलमा एसियन जायन्ट टोली जापानलाई हराउन क्रोएसीयाले टाइब्रेकरसम्म कठिन १२० मिनेट बिताउनु परेको थियो।

अब सेमिफाइनल प्रवेशमा क्रोएसीयाले उत्कृष्ट फर्ममा रहेको ब्राजिलको सामना गर्नेछ। कतार विश्वकपमा सहभागी भएको क्रोएसीया चार वर्षअघिको जस्तो छैन। पाँच पटकको विजेता ब्राजिललाई पाखा लगाउन क्रोएसीयाले थप कौशलता देखाउनुपर्नेछ। उत्कृष्ट प्रदर्शन र फर्ममा रहेको ब्राजिललाई पराजित गर्न नयाँ रणनीति तय नगरे क्रोएसीयाका लागि सेमीफाइनल प्रवेश एउटा सपना मात्र हुने बताइन्छ। यद्यपि, क्रोएसीयाको खुबी भनेकै प्रत्येक खेलमा बलियो हुँदै जाने हो। सम्भवतः क्वार्टरफाइनलमा क्रोएसीयाले ब्राजिलविरुद्ध फरक खेल देखाउनेछ।

ब्राजिल

क्यामरुनसँगको खेलबाहेक ब्राजिलको प्रदर्शन अब्बल रह्यो। युवा खेलाडीले भरिएको ब्राजिलले प्रि–क्वार्टरफाइनलमा दक्षिण कोरियालाई ४–१ ले मुर्छित बनायो।

पाँच पटकको विजेता ब्राजिलले यसपटक उपाधि विश्व फुटबलकै लिजेन्ड पेलेप्रति समर्पित गर्ने घोषणा गरेको छ। ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका पेले अहिले अस्पतालमा उपचार गरिरहेका छन्। ब्राजिलियन भाषाअनुसार ब्राजिलले जोगो वोनिटो अर्थात् सुन्दर खेल खेलिरहेको छ।

चोटबाट केही खेलमा सहभागी हुन नपाएका नेयमार मैदानमा फर्केका छन्। ब्राजिलको आत्मविश्वास बढेको छ। सर्बियासँगको खेलमा चोट लागेपछि नेयमारले दुई खेल गुमाएका थिए।

दक्षिण कोरियासँगको प्रतिस्पर्धामा उनले स्ट्रार्टिङ इलेभेनबाटै प्रतिस्पर्धा गरे। नेयमारको उपस्थितिमा ब्राजिलले चालू विश्वकपमै एक असाध्य राम्रो खेल देखायो। अब ब्राजिलले सेमिफाइनल प्रवेश गर्न क्रोएसीयाको सामना गर्नेछ। प्रशिक्षक टिटेले क्रोएसीयालाई कमजोर नआक्ने टिप्पणी गरिसकेका छन्। गत संस्करणमा ब्राजिल युरोपियन टोलीबाट पराजित भएको थियो । ब्राजिललाई त्यही डर छ ।

हल्यान्ड अर्थात् नेदरल्यान्ड्स

लुइस भान गाल प्रशिक्षण करिअरमा अन्तिम पटक हल्यान्डका साथ विश्वकपमा सहभागी भइरहेका छन्। भान गाल फेरि एक पटक नेदरल्यान्ड्सलाई विश्वकप उपाधिसमीप पु¥याउन चाहन्छन्। सन् २०१० मा उनकै प्रशिक्षणमा नेदरल्यान्ड्स उपविजेता बन्यो । आठ वर्षपछि विश्वकपमा फर्किएको नेदरल्यान्ड्स राम्रो ‘सेप’मा छ। मेम्पिस डिपेयजस्ता स्टार खेलाडीले भरिएको नेदरल्यान्ड्सले प्रि–क्वार्टरफाइनलमा प्रतिद्वन्द्वी अमेरिकालाई ३–१ले सहज जीत निकाल्यो।

यद्यपि, समूह चरणमा नेदरल्यान्ड्सले त्यति राम्रो खेल पस्कन सकेन। सोचेजस्तो ‘स्कोरिङ’ गर्न नसक्दा नेदरल्यान्ड्स फराकिलो अन्तरले जीत निकाल्न चुक्यो।

नेदरल्यान्ड्सका सबै खेलाडी ‘ड्रिब्लिङ’ गर्न माहिर छन्। प्राविधिक रूपमा सशक्त देखिएको नेदरल्यान्ड्स आक्रमणमा त्यतिकै बलियो छ। सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सले लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनासँग खेल्नेछ। भान गालको नजर नै मेसीलाई ‘स्कोरिङ’ गर्न रोक्नु हो। यस पटकको विश्वकपमा मेसी लयमा छन् ।

अर्जेन्टिना

अर्जेन्टिनाले विश्वकपकै पहिलो खेल बिर्सने छैन । साउदी अरेबियासँग २–१ ले स्तब्ध भएको अर्जेन्टिनाले त्यसपछि लय समात्यो। साउदी अरेबियासँग गरेको गल्ती सच्याउँदै अगाडि बढेको अर्जेन्टिना क्वार्टरफाइनलसम्म आउँदा उपाधि दाबेदार बनिसकेको आँकलन गरिन्छ । कप्तान लियोनल मेसी पुरानै लयमा फर्कंदा अर्जेन्टिनाको आत्मविश्वास बढेको छ।

अर्जेन्टिनाले पछिल्लो तीन खेल सहज रूपमा जीतेको थियो। मेसीका लागि कतार विश्वकप नै उनको अन्तिम हो। मेसीले प्रि–क्वार्टरफाइनलमा अस्ट्रेलियाविरुद्ध जादुमयी खेल देखाए। उनकै प्रेरणादायी खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई हराउन सफल भयो। अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशको बाटोमा नेदरल्यान्ड्सलाई घर फर्काउनुपर्छ।

प्रशिक्षक लियोनल स्कालोनीले नेदरल्यान्ड्सविरुद्ध फरक रणनीति अपाउनेछन् । अर्जेन्टिनाले पहिलो पटक बलियो प्रतिद्वन्द्वी पाएको छ। नेदरल्यान्ड्सको चुस्त आक्रमण तथा बलियो डिफेन्स तोड्ने रणनीति नअपनाए अर्जेन्टिनाका लागि यो विश्वकप पनि साबिकको जस्तै साबित हुनेछ।

मोरक्को

कतार विश्वकपमा मोरक्को क्वार्टरफाइनलमा पुग्छ भन्ने खासैले पत्याएका थिएनन्। तर सबै छक्क परे। विश्वकपकै चौथो अफ्रिकन राष्ट्रका रूपमा मोरक्कोले क्वार्टरफाइनल स्थान पक्का गरेको छ। मोरक्कोले प्रि–क्वार्टरफाइनलमा सन् २०१० को विजेता स्पेनलाई १२० मिनेटसम्म सकसपूर्ण समय बिताउन बाध्य पार्दै टाइब्रेकरमा ३–० ले स्तब्ध पा¥यो ।

मोरक्कोको बलियो पक्ष नै युरोपियन लिगमा आबद्ध खेलाडीको डिफेन्स र मिडफिल्ड हो। मोरोक्का प्रशिक्षक वालिड रेग्रागीले पोर्चुगलसँगको प्रतिस्पर्धामा केही फरक नपर्ने उत्साहपूर्ण अभिव्यक्ति दिएका छन्। स्पेनलाई जस्तै स्तब्ध पार्दै अगाडि बढे मोरोक्कोले अफ्रिकन महादेशका लागि इतिहास रच्ने सम्भावना छ।

पोर्चुगल

समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २–१ ले पराजित भएपछि पोर्चुगलको क्षमतामै शंका भयो। तर, प्रिक्वार्टरफाइनलमा युरोपकै अर्को बलियो टोली स्विट्जरल्यान्डमाथिको ६–१ को जीतले पोर्चुगलले सबै आलोचकको मुख बन्द गरेको छ।

प्रशिक्षक फर्नान्डो सान्तोषले कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्दै २१ वर्षीय स्ट्राइकर गोन्कालो रामोसलाई मौका दिएका थिए। प्राप्त मौकामै रामोसले कतार विश्वकपकै पहिलो ह्याट्रिक बनाए। यो रामोस, पोर्चुगल र प्रशिक्षक सान्तोषका लागि पनि पहिलो उत्साहपूर्ण रेकर्ड बन्यो।

प्रशिक्षक सान्तोषको यो रणनीति धेरैलाई मन परेको छैन। किनभने, नकआउट चरणमा नयाँ प्रयोग गर्नु हानिकारक पनि बन्न सक्छ। पोर्चुगलले क्वार्टरफाइनलमा यस्तो गल्ती पुनः नदोहो¥याउने विश्वास समर्थकको छ। सेमिफाइनल प्रवेशका लागि पोर्चुगलले मोरक्कोको सामना गर्नेछ।

प्रतियोगितामा एक मात्र अफ्रिकन टोलीका रूपमा पहिलो नकआउट चरण पार गरेको मोरक्कोको आत्मविश्वास ह्वात्तै बढेको छ। पोर्चुगलले मोरक्कोको सिपालु मिडफिल्ड र बलियो रक्षापंक्ति तोड्ने रणनीति बनाउनुपर्नेछ।

इङ्ल्यान्ड

इङ्ल्यान्डले सन् १९६६ को विश्वकपपछि उपाधि जितेको छैन। इङ्ल्यान्ड विश्वकपको दाबेदार टोलीमै पर्छ। कतार विश्वकपको पछिल्लो तीन खेलमा इङ्ल्यान्डले क्लिन चिट राखेको छ। प्रि–क्वार्टरफाइनलमा इङ्ल्यान्डले अफ्रिकन च्याम्पियन सेनेगलमाथि ३–० को सानदार जीत निकाली अन्तिम ८ को स्थान सुरक्षित गरेको थियो। धेरैले वर्तमान इङ्ल्यान्डको टोली सन् १९६६ को भन्दा बलियो भनी टिप्पणी गरेका छन्।

प्रशिक्षक गेराथ साउथगेटले चालू विश्वकपमा फरक–फरक रणनीति अपनाइरहेका छन्। यो विश्वकपमा इङ्ल्यान्डले डिफेन्स र फिनिसिङ पक्षलाई निकै बलियो बनाएको छ। विशेषतः इङ्ल्यान्डले आफ्नो शक्ति सेनेगलविरुद्ध देखाएको थियो। अफ्रिकन च्याम्पियन सेनेगललाई कुनै पनि समयमा आफूमाथि हावी हुन दिएन।

इङ्ल्यान्डका फिनिसरले मौका पाउँदा गोल गर्न सक्छन् भन्ने सन्देश दिएका छन्। अब इङ्ल्यान्डले प्रतियोगिताकै साबिक विजेता फ्रान्सको सामना गर्दै छ। इङ्ल्यान्डका लागि फ्रान्स सहज प्रतिद्वन्द्वी पक्कै होइन।

फ्रान्सका सबै खेलाडी फर्ममा छन्। फ्रान्सले विपक्षीमाथि एकपक्षीयजस्तो नतिजा निकालेको छ। इङ्ल्यान्ड विश्व च्याम्पियन फ्रान्सका केलियन एम्बाप्पे, एन्टोनियो ग्रिजम्यान र ओलिभर जिरुडलाई गोल गर्नबाट रोक्ने रणनीतिमै केन्द्रीत हुनुपर्नेछ ।

फ्रान्स

ट्युनिसियासँगको खेलबाहेक फ्रान्सले अरू खेलमा विपक्षीलाई आफूमाथि हावी हुने मौका दिएको छैन। फ्रान्सको मुख्य लक्ष्य नै ‘ब्याक–टु–ब्याक’ विश्वकप उपाधि उचाल्ने हो। यो अभियानमा फ्रान्सलाई स्टार खेलाडीहरूले भरपूर साथ दिएका छन्।

एक खेलअगाडि नकआउट चरणमा प्रवेश गरेको फ्रान्सले ट्युनिसियाविरुद्ध दोस्रो रोजाइका खेलाडीलाई मैदान उतारेको थियो। फ्रान्सले स्टार खेलाडीलाई आराम दिने उद्देश्यले नै दोस्रो सेटका खेलाडीलाई प्रतिस्पर्धा गरायो। तर, फ्रान्सले यसको मूल्य चुकायो र ट्युनिसियासँग १–० ले पराजित भयो। प्रशिक्षक डिडिएर डेस्चम्यानको योजना त्यही एक खेलमा मात्र असफल भएको थियो।

रसिया विश्वकपदेखि प्रशिक्षक डिडिएरले फ्रान्सेली टोलीलाई एकदम फरक र बलियो बनाएका छन्। फ्रान्सले क्वार्टरफाइनलमा युरोपकै कडा प्रतिद्वन्द्वी इङ्ल्यान्डको सामना गर्नेछ।

इङ्ल्यान्डका बलियो रक्षापंक्ति तोड्ने र स्ट्राइकरलाई रोक्ने प्रमुख लक्ष्य फ्रान्सले बनाउनेछ। वर्तमान समयकै उत्कृष्ट युवा स्ट्राइकर साथमा रहेको फ्रान्सले इङ्ल्यान्डका सबै बलियो पक्ष भत्काउने हिम्मत राख्छ।

भिडियोमा हेर्नुस् 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट