काठमाडौं– विश्वकप ट्रफि नजिक आउँदै गर्दा शनिबार कतारको अल थुमामा स्टेडियममा अफ्रिकन मुलुक मोरोक्कोले युरोकप उठाइसकेको पोर्चुगलसँग फिफा विश्वकप २०२२ को अन्तिम आठमा सामना गर्दैछ।
अब अन्तिम चारमा स्थान बनाउनका लागि उसले पोर्चुगललाई रोक्नुपर्ने हुन्छ। अन्तिम १६ मा स्पेनलाई ‘टाई ब्रेकर’मा स्तब्ध पार्दै अन्तिम ८ मा स्थान बनाएको मुख्य प्रशिक्षक वालिद रेग्रागुईको टोली विश्वकप ट्रफिमा नजर लगाइरहेको पोर्चुगललाई रोक्ने लक्ष्यमा छ। यतिमात्र होइन युवा खेलाडीले भरिपूर्ण मोरोक्को इतिहास रच्ने लयमा पनि छ।
मोरोक्कोका लागि युरोपका विभिन्न क्लवमा अभ्यस्त खेलाडीको उपस्थिति महत्वपूर्ण छ। यसैले अफ्रिकन महादेशको इतिहास रच्ने लयमा उसले प्रदर्शनको तयारी गरेको छ।
स्पेनलाई पराजित गर्दा, मोरोक्कोले देशका लागि मात्र होइन अफ्रिकी संसारका लागि पनि जग तोडेको चर्चा भएको थियो।
समूह चरणमा क्रोएसिया र बेल्जियम जस्ता युरोपेली सदस्यहरूलाई रोक्दै विश्वविजेता स्पेनलाई घर पठाएको मोरोक्कोलाई कम आँक्न नमिल्ने स्पष्ट नै छ।
उता पोर्चुगलका प्रतिष्ठित कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चिङ गरेर आफ्नो अख्तियार पुष्टि गरेकोमा पुरस्कृत मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले यो हप्ता २०१६ को युरोपियन च्याम्पियनसिपको सफलतापछिको सबैभन्दा ठूलो जीतको आनन्द उठाएका थिए। तर केही आलोचित पनि बने। जब स्विट्जरल्याण्डलाई ठूलो पराजय चखाउँदै उनले पोर्चुगललाई अन्तिम ८ को यात्रा तय गराएका थिए।
पोर्चुगलसँग मोरोक्कोको यसअघि अन्तर्राष्ट्रिय मञ्चमा दुई पटक भेट भएको छ। जसमा एक जीत र एक हार भएको थियो। सन् १९८६ मा भएको विश्वकपको भेटमा मोरोक्कोले पोर्चुगललाई ३–१ ले पराजित गरेको थियो।
तर साबिक विश्वकपमा भएको खेलमा भने पोर्चुगलले १–० को कठिन जीत निकालेको थियो। यस पटक मोरोक्कोले देखाएको खेल कौशलताका आधारमा पोर्चुगलले नजरअन्दाज गर्नेछैन। स्विटजरल्यान्डविरुद्धको खेलमा रोनाल्डोलाई बेञ्चमा राखेका प्रशिक्षक सान्तोषले यस पटक त्यो भूल गर्न नहुने धेरैको प्रतिक्रिया पनि आइरहेका छन्।
ब्राजिल र नेदरल्यान्डस जस्ता मुलुक स्तब्ध भएको देख्दा खेलमा कुनै पनि कमजोरी गर्न हुँदैन भन्ने सन्देश स्पष्ट छ।
मोरोक्कोले युरोकप बिजेता र स्टार खेलाडीहरू रहेको पोर्चुगलविरुद्ध बलियो लाइनअपको तयारी गरेको छ। उसले सुरुआती ११ मा बोनोउ, हाकिमी, साइस, अगुएर्ड, माजरायुई, अउनाही, अम्राबट, अमाल्लाह, जियच, न्यास्री, बोउफाललाई मैदानमा उतार्नेछ।
यसैगरी पोर्चुगलले आक्रामक टोलीलाई सुरुआती ११ मा उतार्नेछ। मोरोक्कोविरुद्ध सान्तोषले कोस्टा, डालोट, पेपे, डियाज, गुरेरियो, सिल्वा, कार्भाल्हो, ओटाभियो, फर्नान्डिज, रामोस् र रोनाल्डोलाई मैदानमा उतार्नेछन्।
मोरोक्कोले खेललाई ९० मिनेटभन्दा अगाडि लैजाने प्रयास गर्नेछ भने पोर्चुगल खेलअवधिमा नै निर्णय निकाल्न उद्दत हुने देखिन्छ। विश्लेषकहरूले यो खेल पोर्चुगलको पक्षमा २–१ले हुने अनुमान गरेका छन्।
यद्यपि गएराती भएका ब्राजिल र क्रोएसीया तथा अर्जेन्टिना र नेदरल्यान्डसको खेलका आधार मान्ने हो भने कडा टक्करबीच मोरोक्को र पोर्चुगल टाई ब्रेकरसम्म पुग्ने सम्भावना बलियो छ।