काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी पछिल्लो समय विश्वकप फुटबलका खेल सिनेमा हलमा प्रतिबन्ध गर्ने विषयले विवादमा तानिएका छन्।
विकास बोर्डको निर्देशनका नाममा केसीले फिल्म हलमा विश्वकप नदेखाउन परिपत्र गरेपछि पछिल्लो पटक विवादमा तानिएका हुन्। यसअघि विभिन्न प्रकरणमा उनको नाम जोडिने गरेको छ।
नेपाली कांग्रेसमा प्रवेश गर्नासाथ विकास बोर्डको जिम्मेवारी पाएका उनी त्यसअघि हिन्दी भाषामा समेत डब भएको फिल्म प्रेमगीतका विषयमा विवादमा तानिए। हिन्दी भाषाको फिल्म पनि नेपाली हलमा चल्नुपर्ने भनी फिल्म निर्माण पक्षले दाबी गर्दा केसीले त्यसमा रोक लगाए।
केसीको उक्त कदमप्रति फिल्मका अभिनेता प्रदीप खड्काले आपत्ति जनाएका थिए। केसीलाई उनका छोरा अनमोलको स्टारडम खस्काउन प्रदीपको फिल्ममा रोक लगाएकोसम्मका आरोप लागेको थियो। केसीले त्यस कदमको पनि प्रतिवाद गरी विवादमा तानिने काम गरे।
केसी यसै पनि विवादको घेरामा आइरहने फिल्मीपात्र हुन्। उनको पछिल्लो चर्चाचाहिँ लिभिङ टुगेदर बसेकी जिया केसीसँग बिहेको विषयबाट चलेको थियो। त्यसअघि जियासँग नै लफडा परेकासम्म चर्चा सतहमा आइरहन्थ्यो।
फिल्मी क्षेत्रको लामो करिअरमा केसी अभिनेत्री प्रकरण, दोस्रो बिहे, सम्बन्ध विच्छेद, बुटिक सञ्चालकसँगको सम्बन्धलगायतका प्रकरणले विवादमा तानिँदै आएका पात्र हुन्।
एक समय रिल लाइफमा उनको जति धेरै चर्चा भए पनि रियल लाइफमा भने केसी विवाद शिरोमणिका रुपमा नै स्थापित भइसकेका छन्। उनको विवादको फेरो फिल्म महादेव छायांकनका बेला अभिनेत्री करिश्मा मानन्धरले उठाएको प्रश्नदेखि सुरु हुन्छ। एउटा चुम्बनको सिनमा बारम्बार रिटेक गराउन केसीकै नियत रहेको चर्चा चलेको थियो। सो बेला अभिनेत्री मानन्धरको प्रश्नका कारण केसी विवादीत भए।
उनले पहिलो सम्बन्ध विच्छेद गरेपछि सुस्मिता बम्जमसँगको सम्बन्धले केसीलाई अर्को विवादमा तान्यो। वैवाहिक सम्बन्ध कायम गरी विवादका हल्लालाई सान्त पारे पनि उनीसँगको सम्बन्ध विच्छेदले अझ चर्चा पायो। अभिनेता अनमोल सुस्मिताका सन्तान् हुन्।
एक बुटिक सञ्चालिकासँगको अफेयरका कारण भुवनमाथि हातपात भएको विवरण सार्वजनिक भयो। ति सञ्चालिककाका पतिले भुवनलाई हेलमेटले हिर्काएको समाचार बाहिरिएपछि उनी थप विवादमा तानिएका थिए।
उनले यसको प्रतिवाद गरे पनि घटना सामसुम हुन निक्कै समयमा लागेको थियो।
भुवनलाई लागेको अर्को संगीन आरोप र विवादको विषय हो, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीको सामाजिक सञ्जालमा आएको बयान। उनले फिल्म ड्रिम्सका बेला भुवनले यौनिक मनोदशा राखेर व्यवाहार गरेको भिडिओ बयान बाहिर ल्याइन्। यसले फिल्म क्षेत्रमा मात्र तरङ्ग ल्याएन, महिला अधिकारकर्मी, सामाजिक क्षेत्रमा पनि व्यापक चर्चा भयो। भुवन यस प्रकरणमा प्रतिवादमा उत्रिनेगरी आउन बाध्य भए।
जापानमा भएको अवार्ड कार्यक्रममा भुवन आफूसँग टाँसिन आएको पनि साम्राज्ञीले आरोप लगाएकी थिइन्। यो विषय अदालतसम्म पुगेको थियो।
फिल्म क्षेत्रमा चर्चा, आलोचना र विवादको विषय बनेको ‘महानायक’को पगरीका विषयमा बोल्दा भुवन फेरि विवादमा तानिए। अभिनेता राजेश हमाललाई आम मानिसले महानायक भनिरहेका बेला भुवनले शिव श्रेष्ठलाई महानायक भनिदिए। यसले उनको निक्कै आलोचना भयो।
जीवनको उत्तरार्धतिर लाग्दा पनि भुवनले विवादलाई निम्तो दिइरहेका हुन् कि विवादले उनलाई पछ्याएको हो भन्नेचाहिँ ठम्याउन मुस्किल छ। नेपाली सिने क्षेत्रदेखि राजनीतिक दलबदलसम्मका गतिविधिले भुवनलाई विवाद शिरोमणि बनाइसकेको छ।