काठमाडौं– मध्यपूर्व एसीयाको कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताको समीफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहानको राती फ्रान्सले इङ्ल्यान्डसँग जीत निकालेपछि सेमीफाइनल समीकरण पूरा भएको हो। शनिबार राती पोर्चुगलमाथि मोरोक्कोको आश्चर्यजनक जीत निस्किएको थियो।
शनिबार बिहानको राती अर्जेन्टिना र शुक्रबार राती क्रोएसीयाले जीत निकालेका थिए। अब सेमीफाइनलमा अर्जेन्टिनाले क्रोएसीयाको सामना गर्नेछ भने फ्रान्स र मोरोक्को भिड्नेछन्।
अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए। फाइनल प्रवेशका लागि अर्जेन्टिनाले क्रोएसियासँग मंसिर २८ गते कतारको लुजेल रंगशालामा भिडन्त गर्नेछ।
क्रोएसियाले पहिलो क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको थियो।
दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सको खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। अर्जेन्टिनाले ४–३ ले पराजित गर्दै नेदरल्यान्डसलाई घर फर्काएको थियो।
यता, अफ्रिकन राष्ट्र मोरोक्कोले पोर्चुगललाई स्तब्ध बनाएर सेमीफाइनलमा स्थान बनायो। कतारको अल थुमामा रंगशालामा मोरोक्कोले पोर्चुगललाई १–० गोलले हराएको थियो। पहिलो हाफमा बनाएको अग्रता कायमै राख्दै बलियो टिम पोर्चुगललाई घर पठाउन मोरोक्को सफल भयो।
मोरोक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ इन न्यासीरीले गोल गर्दै १–० को अग्रता दिलाएका थिए।
यसैगरी, साबिक च्याम्पियन्स फ्रान्स पनि सेमीफाइनलमा पुगेको छ। विश्वकपको ट्रफिलाई कब्जा गर्न उद्दत फ्रान्सले इङल्यान्डलाई २–१ गोलले पराजित गरेको थियो।
फ्रान्सको जितमा औरेलिन चौमेनी र ओलिभियर जिरुडले गोल गरे। इङ्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल फर्काए।
फ्रान्सले इंग्ल्यान्डविरुद्ध सुरुआतमै गोल गर्दै अग्रता बनाएको थियो। कतारको अल बेत रंगशालामा खेलको १७औँ मिनेटमा फ्रान्सले गोल गरेको थियो।
फ्रान्सले फाइनल प्रवेशका लागि मोरोक्कोसँग सेमिफाइनलमा खेल्नेछ।
सेमीफाइनल खेल रोचक हुने देखिएको छ। साबिकको उपबिजेता क्रोएसीयासँग अर्जेन्टिनाको घम्साघम्सी पनि रोचक हुने स्पष्ट नै छ। हालसम्म ५ पटक भेट भइसकेका यी दुई देशले समीफाइनलमा छैठौं पटक स्पर्धा गर्दैछन्।
रोचक के छ भने अहिलेसम्म भएका ५ खेलमा अर्जेन्टिना र क्रोएसीयाले दुई–दुई जीत निकालेका थिए भने एक खेल बराबरीमा सकिएको थियो।
४ जुना १९९४ मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। तर चार बर्षपछि २६ जुन १९९८ मा भएको विश्वकप प्रतियोगिताको भेटमा क्रोएसीयामाथि अर्जेन्टिनाको १–० को जीत निस्किएको थियो।
१ मार्च २००६ मा भएको मैत्रीपूर्ण भेटमा क्रोएसीयाले अर्जेन्टिनामाथि ३–२ को जीत निकालेको थियो भने त्यसको ८ बर्षपछि भएको भेटमा अर्जेन्टिनाले २–१को जीत निकाल्यो। यी दुई देशको पछिल्लो भेट २१ जुन २०१८मा विश्वकपमा भयो जहाँ क्रोएसीयाले अर्जेन्टिनामाथि ३–० को बलियो जीत निकाल्यो।
अब यी दुई मुलुक फाइनल खेलका लागि एकअर्कामा हावी हुने तयारीमा छन्।
५९ बर्षअघि फर्किने हो भने मात्र फ्रान्सविरुद्ध मोरोक्कोले जीत निकालेको भेटिन्छ। २८ अप्रिल १९६३ मा फ्रान्समाथि हावी भएको मोरोक्को त्यसपछिका १० वटा खेलमा जीत निकाल्न असफल छ। तीन खेलमा बराबरीमा गर्न सफल मोरोक्कोले ७ खेलमा पराजय व्यहोरेको थियो।
फ्रान्ससँग उसको अन्तिम भेट १५ बर्षअघि १६ नोभेम्बर २००७ मा भएको थियो। मैत्रीपूर्ण उक्त खेल २–२ गोलको बराबरीमा रोकिएको थियो। अब, १५ डिसेम्बरमा हुने खेलमा साबिक विश्व बिजेतासँग पहिलो पटक सेमीफाइनलमा स्थान बनाएको मोरोक्कोको कडा प्रतिस्पर्धा हुनेछ। फ्रान्स उपाधी रक्षाका लागि खेल्नेछ भने मोरोक्को इतिहास बनाउने संघर्षमा उत्रिनेछ।