काठमाडौं– दाङका एक सम्पन्न व्यापारीलाई प्रेमजाल (हनिट्रयाप)मा पारी ५ करोड असुल्न खोज्ने तीन जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले गढवा गाउँपालिका– ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णा गहतराज, तुलसीपुर–१८ ग्वारखोला बस्ने ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने जनक भनिने २६ वर्षीय रुद्रबहादुर केसीलाई नियन्त्रणमा राखी कानुनी कारबाही सुरु गरेको हो।
पीडित भनिएका दाङका ४५ वर्षीय विवाहीत पुरुषलाई अनुष्का भनिने कृष्णा गहतराजले प्रेमजालमा पारिन्। डिभोर्स भएकी गहतराजले सामान्य चिनाजानपछि व्यक्तिगत सम्बन्ध राख्दै ति व्यापारीसँग आर्थिक लाभ लिन थालिन्। प्रहरीका अनुसार ती व्यापारीले गहतराजलाई ३५ लाख रुपैयाँ दिइसकेको खुलेको छ।
गहतराजको मनमा लोभ अझ बढ्न थालेपछि ति व्यापारीलाई घरजग्गा समेत किनिदिन भन्दै ५ करोडसम्म बार्गेनिङ गर्न थालिन्। त्यति ठूलो रकम सहजै नपाउने देखेपछि गहतराजले कृष्णाकुमारी बस्नेत र रुद्र केसी भनिने पुरुषको सहयोग लिएर धम्क्याउन थालिन्। पीडितको घर परिवारलाई समेत तनाव दिन थालेपछि यो घटना प्रहरी कहाँ आइपुगेको थियो।
यो मात्र होइन हनिट्रयापमा पारी रकम असुल्ने शैली नै बन्न थालेको छ।
अन्तर्राष्ट्रिय अपराधमा मात्र सुनिने ‘हनिट्रयाप’ सुसुप्त ढंगले नेपालका विभिन्न सहरमा बढ्न थालेको पाइएको छ।
दुई बर्षअघि प्रहरीले झापाको बिर्तामोड–४ का एक व्यापारीलाई ‘हनिट्रयाप’ मा पार्दै ४० लाख रकम फिरौती माग्ने एक युवतीसहित चार जनालाई नियन्त्रणमा लिएर कारबाही चलायो।
सामाजिक सञ्जालमार्फत् सम्पर्क गरेर प्रेम गर्ने बहाना गर्दै आफ्नो स्वार्थ पूरा गर्ने र फिरौती माग्ने उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडले नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया बढाएको थियो।
बिर्तामोड–४ का २९ वर्षीय मेराज, बिर्तामोड चारपाने बस्ने २० वर्षीया ऋतु फियाक लिम्बु, भारत पश्चिम बंगाल दार्जिलिङ खोरीबारीका सुजन शंकर र बिर्तामोड–४ का प्रकाश दासलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
झापाका एक व्यापारीलाई फसाउनका लागि सुन्दर युवती ऋतु फियाकको प्रयोग आपराधिक समूहले गरेको थियो। ऋतुले ती व्यवसायीलाई जया खान बन्दै इमो र मोबाइलमा फोन गरिन्। प्रेमका मिठा कुरा मात्र गरिनन् शारिरीक सम्बन्धका लागि अपिलको संकेत दिइन्। व्यापारीलाई कोठामा बोलाइन् अनि यौनजन्य गतिविधिमा सक्रिय बनाउन थालिन्। अभियुक्तहरुले भिडिओ रेकर्ड गरी कुटपिट गर्दै फिरौती माग गरे। उनीहरुको समूहले सुरुमा ती व्यापारीसँग ५० लाख माग गरेका थिए तर कुरो ४० लाखमा मिल्यो।
प्रहरीले पत्तो लगाएको यो घटनाका अभियुक्तहरूलाई शरीर बन्धक बनाई आपराधिक आर्थिक लाभ उद्योग गरेको तथा लागू औषध वारदातमा मुद्दा दर्ता गरी कारबाही चलायो।
नियन्त्रणमा लिइएकी सञ्जु क्षेत्री भन्ने सुजन शंकर २०७४ सालमा दुई जना महिलालाई जवरजस्ती शरीर बेच्ने धन्दामा लगाएकोले मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेका अभियुक्त समेत रहेको खुलेको थियो।
प्रेमजालको पासोमा परेर कतिपयले आफ्नो घरबार देखि जीवन नै समाप्त पारेका घटना पर्याप्त छन्।
महानगरीय अपराध महाशाखाले एक व्यवसायीलाई ब्ल्याकमेलिङ र एक्सर्टशन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो। गोरखा पालुङटारका ३१ वर्षीय वद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङकी २५ वर्षीया इन्दिरा उप्रेतीले व्यवसायीसँग अन्तरङ्ग भिडिओ बनाएर पैसा असुल्न खोजेका थिए।
ललितपुरको कुपण्डोल क्षेत्रमा बस्ने एक जना व्यवसायीलाई उनीहरुले ब्ल्याकमेलिङ गरेका थिए। इन्दिरा उप्रेतीले फेसबुकमा निशा अधिकारीको नामबाट तीन व्यापारीलाई फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन्। पछि कुराकानीको क्रममा उनले व्यवसायीसँग मोबाइल नम्बरसमेत लिएकी थिइन्।
उप्रेतीले व्यवसायीलाई फोन गरी ‘तपाईंको अफिसमा भेट्न आउँछु, कुराकानी गर्नुछ’ भन्दै ‘निशा अधिकारी’ बनेर पुगिन्। व्यापारी मख्ख परे। उनले आफ्नो वास्तविक नाम ईन्दु भएको र घर झापा जिल्लाको बुधवारेमा पर्छ भनेर परिचय दिएकी थिइन् ।
त्यसअघि नै उनले ती व्यवसायीले थाहा नपाउने गरी मोवाइलको भिडियो क्यामेरा अन गरी सोफामा राखेर त्यहाँ भएको सबै कुरा रेकर्ड गरेकी थिइन् । त्यसपछि व्यवसायीको नजिक हुँदै छेउमा गई अङ्गालो मारी चुम्बन गरिन्।
उनी त्यहाँबाट गएपछि आफूलाई ‘गणेश लामा’ बताउने व्यक्तिले ती व्यवसायीलाई इमोबाट फोन गरी सो अन्तरङ्ग पलको भिडियो रेकर्ड आफूसँग रहेको भन्दै रकम बार्गेनिङ गरेका थिए। यस विषयमा प्रहरीलाई उजुरी दिएपछि अनुसन्धान गर्दा घटनामा वद्रीनाथ लामिछाने र इन्दिरा उप्रेतीको संलग्नता रहेको खुल्न आएको थियो ।
दाङका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या ‘हनिट्रयाप’कै एउटा उदाहरण मान्छन् प्रहरी अधिकारीहरू। घटनाका मुख्य अभियुक्तहरू तुलसीपुर–६ बस्ने टीकाराम घर्ती, उनकी छोरी पूजा घर्ती र मानबहादुर भण्डारीलाई पक्राउ गरेको थियो। मिलोमतोमा नै यो घटना भएको थियो।
अपहरणमा परेका श्रेष्ठको शव प्रहरीले सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ मा पर्ने झिम्पेको जंगलमा फेला परेको थियो। अपहरण र हत्यामा संलग्न भएको आरोपमा भर्खरै पक्राउ परेकी पुजाले व्यापारी श्रेष्ठसँग लामो समयदेखि प्रेम सम्बन्ध राखेको भन्ने प्रहरीको अनुसन्धानले खुलायो।
यसरी सुरुभयो हनिट्रयाप
हनिको अर्थ मिठो र ट्रयापको अर्थ जाल मिलेर ‘हनिट्रयाप’ बनेको हो। यसको अर्थ मिठोजाल हो। यसमा फँस्ने मानिसले कस्तो अवस्थामा आफू पुग्दैछु भन्ने अन्दाज समेत गर्न सक्तैनन्। सुन्दर महिलाले हाइप्रोफाइल वा आम्दानी गर्ने मानिसलाई यसमा फँसाउछन् र सडकमा पुराउने गर्छन्।
लुटपाटका लागि मात्र नभएर कतिपय राष्ट्रिय सुरक्षाका गोप्य जानकारी लिनका लागि सुरक्षा अधिकारीलाई पनि ‘हनिट्रयाप’को माध्यमबाट फसाउने गरिँदै आएको छ। नेपालमा यस्तो घटनाको जानकारी अहिलेसम्म नआए पनि भारतमा भने सैनिक अधिकारीहरू यसरी फँसिसकेका छन्। खासगरी भारतीय स्थल र जल सेनाका अधिकारीहरू हनिट्रयापमा शिकार भएका खबरहरू आएका थिए।
पाकिस्तानी गुप्तचर संस्थाकी महिलासँग प्रेमजालमा फँसेका कर्णेलले सेनाका गुप्त जानकारी दिएको आरोप लागेको थियो। उनलाई पक्राउ गरी कारबाही समेत गरियो।
हनिट्रयाप रुसबाट सुरु भएको थियो। अमेरिकाका गोप्य जानकारी हात पार्नका लागि सीआईए अधिकारीबाट सूचना चुहाउन रुसले राम्री युवतीहरू खटाउने गर्दथ्यो। जसमा अधिक सफलता मिलेको भन्ने चर्चा रुसमा भयो। कुटनीतिक, सुरक्षा संयन्त्रका वैधानिक जानकारीका लागि अवैध हिसाबका मिसनका रूपमा सुरु गरिएको हनिट्रयाप नेपालसम्म आइपुग्दा अपराधको एउटा नयाँ ट्रेन्डका रुपमा देखिइरहेको छ।
तर नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो, विशेष व्युरोसहितका अब्बल प्रहरी अधिकारी यस्ता घटना छानबिनमा सफल भएका पनि छन्। प्रहरीका हरेक संरचनाले यसप्रकारका आपराधिक घटनालाई न्युनिकरण गर्नका लागि सक्रियता देखाइरहेका छन्।
अपराध अनुसन्धानमा खारिएका संगठन प्रमुख रहेका कारण पनि यसप्रकारका घटना निगरानीमा रहेका छन्। अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्व गरिसकेका प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहले यसप्रकारका घटनालाई निगरानीमा राख्न निर्देशन दिइसकेका थिए। सिंह उनै हुन् जसले दाङका व्यापारीलाई हनिट्रयापमा पारी हत्या गरेको पुजालगायतको समूहलाई नियन्त्रणमा लिएर कारबाही चलाएका थिए।