काठमाडौं– प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फका सांसद छनौटमा मुख्य दलका शीर्ष नेताका आफन्तको बर्चश्व भएको छ।
विभिन्न क्लस्टरबाट प्रतिनिधि पठाउनुपर्ने ठाउँमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका नेताका पत्नी, बहिनीलगायत ‘हाडानाता’भित्रकालाई पठाइएको छ।
समानुपातिक सूची तयार पार्दा नै विवादमा आएका नेता नाम पठाउँने क्रममा पनि सुध्रिएका छैनन्।
समानुपातिकमा नेताले हाडानाताबाहेक नजिकका, गुटका र आफ्ना सहयोगीसम्मको नाम छनौट गरी निर्वाचन आयोगमा पठाएका हुन्। यस्तो गर्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि जसपा नेता अशोक राईसम्म रहेका छन्।
प्रधानमन्त्री देउवाले समानुपातिकमा पत्नी आरजु राणालाई पठाएका छन्। नेपाली कांग्रेसकी नेत्री समेत रहेका राणाको नाम पठाउँदा नै विवाद भएपछि सूचीमा केही तल सारिएको थियो।
‘पति पत्नीले नै अवसर लिनुपर्छ भन्ने के थियो र? कांग्रेस नेत्रीका रुपमा जिम्मेवारी पूरा गरी अन्यलाई अवसर दिनु पर्दैन?’, कांग्रेसका एक नेता प्रश्न गर्छन्,‘प्रथम लेडी समेतको सुविधा पाउँदा पाउँदै पद किन चाहियो? कांग्रेसभित्रको लोकतन्त्र खोई? अन्य कार्यकर्तालाई न्याय कहाँ भयो?’
यसरी समानुपातिकको सांसद पाउने सुविधाको दुरुपयोग प्रधानमन्त्री देउवाले मात्र होइन, गृहमन्त्री बालकृष्ण खाँणले पनि गरेका छन्। प्रत्यक्षतर्फ निर्वाचनमा पराजित खाँणले पत्नी मञ्जु खाँणलाई समानुपातिकमा पठाएका छन्। प्रहरीभित्र चलखेल गरेको भन्ने विवादमा आइरहने मञ्जुका लागि संसदयात्रा तय गराउन पति नै सक्रिय देखिए।
भिडियोमा पनि हेर्नुस्
त्यसो त क्लस्टरबाट सांसद हुने फाइदा देउवाका खास पात्र कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि पाएका छन्। देउवा समूहमा सक्रिय रहेका उनी महाधिवेशनमा पराजित भए पनि प्रवक्तामा तानिए भने अहिले समानुपातिकमा सांसद बनाइएका छन्।
महाधिवेशनमा सभापति पदमा सघाएका विमलेन्द्र निधिलाई समानुपातिकमा सांसद पदमा पठाएर देउवाले गुण तिरेका छन्। प्रत्यक्षमा चुनावी मैदानमा पराजित हुने त्रासले समानुपातिकमा बसेका निधि महाधिवेशनपछि फेरि देउवाका सहयोगीका रुपमा देखा परेका थिए।
समानुपातिक मतमार्फत सांसदमा पठाउन नेताको मनोपोली कांग्रेसमा मात्र होइन एमालेमा पनि देखियो। एमाले उपाध्यक्ष रामबहादुर थापापत्नी नैनकला थापालाई समानुपातिक सांसदमा पठाइएको छ। पदाधिकारीकै हालीमुहाली रहेका तर प्रत्यक्ष निर्वाचनमा पराजित भएका महासचिव शंकर पोखरेलले पनि बहिनी मेनका पोखरेललाई समानुपातिक सांसदमा पठाएका छन्।
‘पार्टीका नेताको मनपरीले जीवनभरी राजनीति गरेकाले अवसर नपाउने भए, एमालेमा यो मनोपोली हावी भयो’, एक नेता भन्छन्,‘आफन्त मात्र होइनन्, एमालेले पाएको मतमा अलग पार्टीका नेतालाई समेत सांसद बनाइयो भने कहाँ छ न्याय?’
एमालेले केही व्यापारी र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक सांसदमा पठाएको छ। जसमा अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना पार्टीभित्र पनि भइरहेको छ।
यता माओवादी केन्द्रको हालत पनि उस्तै छ। समानुपातिक सांसद बनाउने प्रणालीको वकालत गर्ने माओवादीभित्र नै नातावाद हावी भएको छ।
उपमहासचिव जनार्दन शर्माले बहिनी नारायणी शर्मालाई समानुपातिकमा सांसद बनाउने भएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगमा पठाएको नाममा नारायणीलाई अटाइएको छ।
यस्तै प्रचण्डका खास मानिने शक्ति बस्नेतले पनि बहिनी ज्ञानु बस्नेतलाई माओवादी केन्द्रबाट समानुपातिक सांसद बनाउने निधो नै गरी नाम पठाउन लगाए। हुन त पछिल्ला चरणमा माओवादीभित्र चरम नातावाद प्रचण्डबाट नै प्रयोग भएको भनी टिप्पणी हुँदै आएको छ। उनले छोरी रेणु दाहाल, ज्वाँई जीवन आचार्यलाई टिकट दिएर चुनाव जीताएका थिए। यसैक्रममा जनार्दन शर्मा र शक्ति बस्नेतलगायतले पनि आफन्तलाई सांसद बनाउन बेजोड भूमिका खेलेका छन्।
यो रोगले जनता समाजवादी पार्टीलाई पनि गाँजेको छ। अध्यक्ष उपेन्द्र यादवलाई यसअघि लाग्ने नातावादको कर्म नेता अशोक राईले पूरा गरेका छन्। उनले समानुपातिकमा पत्नी सुशीला श्रेष्ठलाई सांसद बनाउने निधो गरेका हुन्।
यी त केही प्रतिनिधि पात्र मात्र हुन्। पार्टीका शीर्ष नेताले आफन्तलाई च्याप्ने र नेता भएको फाइदा उठाउन पदीय दुरुपयोग गर्न कुनै कसर बाँकी राखेका छैनन्। आफन्त मात्र होइन, व्यापारीदेखि ठेकेदारसम्मलाई सांसद बनाउने चलनलाई अहिले पनि जारी राखेका छन्। यसले लोकतन्त्रमा दलहरू सिमान्तकृत, अल्पसंख्यकलाई अगाडि बढाउने भन्दा पनि उनीहरूको नाममा ‘हाडनाता’ पर्नेलाई राज्यको सुविधा भोगमा तल्लिन रहेको देखाउँछ।