यस्तो छ अर्जेन्टिना र क्रोएसीयाको खेल इतिहास, २–१ को जीत निस्कने विश्लेषण-Sutra News

यस्तो छ अर्जेन्टिना र क्रोएसीयाको खेल इतिहास, २–१ को जीत निस्कने विश्लेषण

मंगलबार, २७ मंसिर २०७९

मंगलबार, २७ मंसिर २०७९

काठमाडौं– विश्वकप २०२२ को उपाधिको दाबेदार भनी चर्चा गरिएको ब्राजिललाई पाखा लगाएको युरोपेली मुलुक क्रोएसीयाले सेमीफाइनलमा आज अर्को दक्षिण अमेरिकी शक्ति अर्जेन्टिनाको सामना गर्नेछ।



नेपाली समयअनुसार बुधबार बिहानको राती १२ः४५ मा हुने खेल रोचक हुनेछ। क्रोएसीया र अर्जेन्टिना फुटबलको अन्तर्राष्ट्रिय मञ्चमा छैठौं पटक आमने–सामने हुँदैछन्। र, यी दुवैका लागि आजको जीत फाइनल खेल्नका लागि अनिवार्य हुनेछ।

पेनाल्टी सुटआउटमा ब्राजिललाई स्तब्ध पार्दै क्रोएसीयाले चमात्कारिक खेल देखाएको थियो।

क्रोएसीया अन्तर्राष्ट्रिय फुटबलको उच्च स्तरमा नाटक गर्न माहिर छ। अन्तर्राष्ट्रिय स्तरका प्रमुख ८ खेलहरूमा अतिरिक्त समय लगाउँदै अघि बढेको छ, क्रोएसीया। ब्राजिलसँगको क्वार्टनर फाइनलमा पनि ९० मिनेटसम्म रोकेको क्रोएसीयाले विश्वकप प्रतियोगितामा पछिल्ला पाँच नकआउट खेलहरूमध्ये ५ खेल अतिरिक्त समयमा गएका छन्।

क्रोएसीयाले पेनाल्टीमा चार खेलमा जीत निकालेको छ। २०१८ को विश्वकपमा ९० मिनेटमा क्रोएसीयाले सिध्याएको तथा हार व्यहोरेको फाइनल खेल मात्र थियो। जारी विश्वकपमा पनि उसले सोही रणनीति अख्तियार गरी आएको छ। अर्जेन्टिनासँगको खेललाई पनि उसले दबाबमा राख्ने तयारी गरेको छ।

मुख्य प्रशिक्षक ज्लात्को डालिकको रणनीति अहिलेसम्म सफल देखिएको छ। अर्जेन्टिनामाथि साबिकको विश्वकपमा ३–० ले जीत निकाले पनि यस पटकलाई डालिकका टोलीले कमजोर आँकेकाचाहिँ छैनन्।

भिडिओमा हेर्नुहोस्

डालिकले सुरुआती ११ मा लिभाकोभिक, जुरानोभिक, गार्डियल, लोभ्रन, सोसा, मोड्रिक, ब्रोजोभिक, कोभाकिक, पासालिक, कमारिक र पेरिकिलाई मैदान छिराउने अनुमान गरिएको छ। यो बलियो टोलीले डिफेन्सिफ काउन्टर अट्याकको रणनीति कार्यान्वयनमा ल्याउनेछ।

यता, यो विश्वकप अर्जेन्टिनाका लागि मात्र नभएर बिख्यात खेलाडी लियोनल मेस्सीका लागि पनि खास छ। अन्तिम विश्वकप खेलीरहेका मेस्सीका लागि विश्वकपको ट्रफी नै अनिवार्य भएका कारण सेमीफाइनलको जीत संघर्षपूर्ण हुने नै छ।

मुख्य प्रशिक्षक लियोनल स्कालोनीले जसरी नेदरल्यान्डससँगको खेलमा आफ्ना खेलाडीलाई मैदानमा उतारे सोही प्रकारको आक्रमणलाई जारी राख्नेछन्। तर, डिफेन्सलाई कमजोर हुने छुटचाहिँ दिनेछैनन्।

स्कालोनीले अर्जेन्टिनाबाट सुरुआती ११ मा मार्टिनेज, मोलिना, रोमेरो, ओटामेन्डी, ट्याग्लियाफिको, फर्नान्डिज, डी पाल, म्याक एलिस्टर, डि मारिया, मेस्सी र अल्भारेजलाई मौदानमा उतार्न सक्नेछन्।

साबिकको उपबिजेता तथा खेलमा असम्भव नतिजा उल्टाउँदै सेमीफाइनलसम्म आएको क्रोएसीयालाई स्कालोनीले कमजोर ठानेका छैनन्। हालसम्म ५ पटक भेट भइसकेका यी दुई देशले समीफाइनललाई अति रोचक बनाउनेछन्।

अहिलेसम्म भएका ५ खेलमा अर्जेन्टिना र क्रोएसीयाले दुई–दुई जीत निकालेका थिए भने एक खेल बराबरीमा सकिएको थियो। यो अन्तर्राष्ट्रिय रेकर्डका कारण पनि छैठौं खेलको नतिजा पर्खाइमा छन्, फुटबल प्रेमीहरू।

४ जुना १९९४ मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। तर चार बर्षपछि २६ जुन १९९८ मा भएको विश्वकप प्रतियोगिताको भेटमा क्रोएसीयामाथि अर्जेन्टिनाको १–० को जीत निस्किएको थियो।

१ मार्च २००६ मा भएको मैत्रीपूर्ण भेटमा क्रोएसीयाले अर्जेन्टिनामाथि ३–२ को जीत निकालेको थियो भने त्यसको ८ बर्षपछि भएको भेटमा अर्जेन्टिनाले २–१को जीत निकाल्यो। यी दुई देशको पछिल्लो भेट २१ जुन २०१८मा विश्वकपमा भयो जहाँ क्रोएसीयाले अर्जेन्टिनामाथि ३–० को बलियो जीत निकाल्यो।

अब यी दुई मुलुक फाइनल खेलका लागि एकअर्कामा हावी हुने तयारीमा छन्। मेस्सीले इतिहास लेख्ने मौका पाउनेछन् या लुका मोड्रिकले लक्ष्य प्राप्ति गर्नेछन्? यो प्रश्नले खुलदुली बढाएको छ।

विश्वका फुटबल विश्लेषकहरूका अनुसार पहिलो सेमीफाइनलको यो खेल १२० मिनेटसम्म पुग्नेछ। यो समयावधिमा अर्जेन्टिनाले इतिहास रच्दै २–१ को जीत निकाल्ने फुटबलका जानकारहरूको अनुमान छ। तर अन्तिम समयसम्म पनि नतिजा उल्टाउँदै आएको विश्वउपबिजेता क्रोएसीयालाई नजरअन्दाज गर्न भनेचाहिँ मिल्दैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट