रेशम चौधरीलगायतलाई छुटाउन सरकारले अध्यादेश ल्याउन खोजेपछि देउवाको चौतर्फी आलोचना-Sutra News

रेशम चौधरीलगायतलाई छुटाउन सरकारले अध्यादेश ल्याउन खोजेपछि देउवाको चौतर्फी आलोचना

मंगलबार, २७ मंसिर २०७९

मंगलबार, २७ मंसिर २०७९

काठमाडौं – ज्यान लिएको अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन खोजेपछि सत्ता गठबन्धनकै नेताहरुले अहिले विरोध गरिरहेका छन् । सीके राउत र नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता रिहा हुनेगरी व्यवस्था रहेको सरकारले अध्यादेश जारी गर्न लागेको हो ।



सोमबार मुलुकी फौजदारी संहिता संशोधन अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । सरकारले यस्तो अध्यादेश ल्याउन खोजेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भइरहेको छ । नेकपा एमाले र कांग्रेसभित्रकै नेताहरुले यसको विरोध जनाइरहेका छन् ।  कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि यो निर्णयमा आफूहरुको असहमती रहेको बताएका छन् ।

यस्तै एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ । व्यक्ति हत्या अभियोगमा आजीवन कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीलसहितलाई उन्मुक्ति दिन अध्यादेश ल्याउन लागेको भन्दै अनेरास्ववियुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनरत विद्यार्थीहरुले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतीकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।

यसैबीच नेकपा एमालेका गोकुल बाँस्कोटाले गगन र विश्वप्रकाशले सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेको राम्रो भएको बताएका छन् । उनले उनीहरु गरेर देखाउने हैसियतमा रहेको भन्दै देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालो बजारी बन्द गराउन सकून् भनेका छन् ।

उनले लेखेका छन् – ‘गगन र विश्वप्रकाशले बोले,राम्रो गरे।तर उनीहरुसंग बोल्न बांकी अझै केही छ कि गरेर देखाउन धेरै बांकी छ?म आशा गर्छु-उनीहरु गरेर देखाउने हैसियतमा छन।ताजा जनादेशसंगै संसद बैठक तयारी चल्दै गर्दा देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालो बजारी बन्द गराउन सकुन।शुभेच्छा!’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट