रेशम चौधरीः एउटा सृजनशील युवा कसरी बन्यो ‘अपराधी’देखि राजनीति केन्द्रविन्दुको मियो?-Sutra News

रेशम चौधरीः एउटा सृजनशील युवा कसरी बन्यो ‘अपराधी’देखि राजनीति केन्द्रविन्दुको मियो?

मंगलबार, २७ मंसिर २०७९

मंगलबार, २७ मंसिर २०७९

काठमाडौं– सत्ता गठबन्धनले राजनीतिक घटनालाई आममाफी दिनेगरी ल्याएको अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको छ।



यो अध्यादेशको सर्वत्र विरोध र आलोचना भइरहेको छ। यसको मुख्य कारणचाहिँ कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनमा भएका हत्याकाण्डमा सजाय पाएका रेशम चौधरीको रिहाई गर्ने भन्ने नै हो। साथमा नेत्रविक्रम चन्द विप्लव र सीके राउतको जनमत पार्टीका कार्यकर्ता छाड्ने भन्ने जोडिए पनि यो अध्यादेशको केन्द्रविन्दु चौधरी हुन्।

चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी अहिले प्रतिनिधि सभामा चार सदस्यसहित सहभागी छ। जसलाई सत्ता गठबन्धनले उपयोग गर्न खोज्दा चौधरीको रिहाई सर्त बन्यो। नागरिक समाज, कानुनविद, विभिन्न पार्टी र स्वयम् कांग्रेसभित्रकै महामन्त्रीलगायतले यो अध्यादेशको किन विरोध गरिरहेका छन्?

यो बुझ्नका लागि २०७२ साल भदौ ७ गते फर्किनुपर्छ।

कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच दिउँसो झडप हुँदा तत्कालिन सेती अञ्चलका प्रमुख तथा प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ नाबालक सहित ८ जनाको मृत्यु भएको थियो।

अमानविय हिसाबले भाला रोपी रोपी प्रहरीसहित बालकको हत्या गरिएको विषयको विरोध भयो। ८ जनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई प्रहरीले हिटलिस्टमा राख्यो।

टिकापुर घटनाको नियती योजनावद्ध पूर्वघोषित आन्दोलनले निम्त्याएको थियो। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको २०७२ भदौ २ मा बसेको बैठकले आन्दोलनपछि बन्ने प्रदेश सरकारले आन्दोलनमा ज्यान गुमाउने सहिद परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने, सहिद परिवारलाई आजीवन निःशुल्क शिक्षा दिने र रोजगारी पनि उपलब्ध गराइदिने घोषणा गरेको थियो।

यो घोषणा तत्कालिन राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले गरेका थिए। मोर्चाले आन्दोलनमा सरिक हुने सर्वसाधारण प्रत्येकलाई ५ सय रुपैयाँ दिने र सरिक नभएमा एक सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गर्ने भनेको थियो।

प्रदर्शनकारीहरूले बरिष्ठ प्रहरी उपरिक्षक सहितको टोलीलाई खुर्पा, भाला, बञ्चरो, खुकुरी लगायतका घरेलु हतियारहरू प्रहार गरी हत्या गरेका थिए।

कैलालीको पूर्वी भेगमा पर्ने टीकापुर नगरपालिकामा दिउँसो भएको घटनामा परि मृत्यु हुनेहरूमा एसएसपी न्यौपानेसहित प्रहरी निरिक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खड्का तथा प्रहरी जवान लोकेन्द्र चन्द रहेका थिए।

यसैगरी सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरीलाई भने प्रदर्शनकारीहरूले जिउँदै जलाएर हत्या गरेका थिए। मृत्यु हुनेमा एक जना सशस्त्र प्रहरी हवल्दारका २ वर्षिय बालक टेकबहादुर साउद समेत रहेका थिए।

तत्कालिन प्रमुख जिल्ला अधिकारी रामकुमार श्रेष्ठले मन्त्रिपरिषदको निर्णयपछि टिकापुर क्षेत्रमा नेपाली सेना परिचालन गराए। कफ्र्यु लगाएर स्थितिलाई नियन्त्रणमा लिने काम भयो।

मृतक एसएसपी न्यौपाने आन्दोलन भएका बेला तीनदिन देखि टिकापुर क्षेत्रमै शान्ति सुरक्षामा खटिएका थिए। तत्कालिन प्रजिअ श्रेष्ठले आन्दोलनकारीहरू घरेलु हतियार सहित हजारौंको संख्यामा टीकापुर प्रवेश गरी त्यहाँका सरकारी कार्यालयहरूमाथि आक्रमण गर्ने जानकारी पाए पश्चात् एसएसपी न्यौपानेको टोली घटनास्थल पुगेको थियो।

भिडिओ पनि हेर्नुहोस्

एउटा सृजनशील युवा कसरी बन्यो अपराधी र सत्ताको मियो?

घटनापछि प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका चौधरी फरार भएका थिए। उनी फरार भएर भारतको मुम्बईमा पुगेका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बनेपछि भएको भारत भ्रमणका क्रममा मुद्दा फिर्ता लिनुपर्नेसहितका कुराकानी गर्न नयाँ दिल्लीमा चौधरीले भेट गरेका थिए। तर मुद्दा फिर्ता नभएका कारण उनी नेपाल फर्किने वातावरण बनेको थिएन।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली कैलाली क्षेत्र नम्बर १ को लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार चौधरी ३४ हजार ३ सय ४१ मत ल्याउदै विजयी भएका थिए।

उनका निकटम प्रतिद्वन्द्वी बाम गठबन्धनकी मदनकुमारी शाह (गरिमा ) भन्दा २० हजार ९ सय ३५ मत अन्तरले हराउदै विजयी भएका थिए।

वारेसमार्फत चुनाव जीतेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि २०७४ फागुन १४ मा जिल्ला अदालत कैलालली समक्ष आत्मसमर्पण गरेका थिए। जेलमै रहेका बेला २०७५ पुस १९ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए।

जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले मुख्य अभियुक्त चौधरीलाई जन्मकैदको फैसला र ११ जनालाई दोषी ठहर गरेको थियो।

को हुन् चौधरी?

कैलाली जिल्लाको साविकको देगौली गाविसमा २०३४ साल असोज २१ गते रेशम चौधरीको जन्म भएको थियो।

त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका चौधरी थारु भाषाको जोग्नी साहित्यिक पत्रिकाको प्रधानसम्पादक रहेका थिए।

साहित्यमा समेत दख्खल राख्ने चौधरीले रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथामा लामो समय पत्रकारितासमेत गरेका थिए।

बर्दियामा फूलबारी एफएफ समेत सञ्चालन गरेका चौधरीको टीकापुर घटनाका क्रममा एफएममा आगजनी भएको थियो। घटनामा भएको क्षतिको उनले १ करोड ७४ लाख क्षतिपूर्ति पाएका थिए।

डिल्लिबजार कारागारमा रहेको अवस्थामा नै सांसद चौधरीले सांसद पदको शपथ लिएका थिए। उनी सृजनशील युवा व्यक्तित्व हुन्। हालसम्म उनले ९३ वटा त गिती एल्बम नै बजारमा ल्याएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट