![deuwa new](https://www.sutranews.com/wp-content/uploads/2022/11/deuwa-new-.png)
![कामचलाउ प्रधानमन्त्रीको फेरि अर्को चलखेल](https://www.sutranews.com/wp-content/uploads/2022/11/deuwa-new-.png)
शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले दूरगामी असर पर्नेगरी विवादास्पद निर्णय र कार्य गर्न रेकर्ड तोड्न थालेको छ । सत्तास्वार्थका लागि जेलमा रहेका कैदीलाई छोड्ने गरी अध्यादेश ल्याएको सरकारले फेरि प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी अर्को चलखेल थालेको छ ।
प्रहरी सेवामा दूरगामी असर पार्नेगरी सरकारले ३० वर्षे सेवाअवधि हटाउने गृहकार्य अघि बढाएको हो । सो गृहकार्यअनुसार नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले गृहमन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।
यस कार्यमा प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्माको बढी रुचि र चासो रहेको गृहस्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार विभिन्न स्वार्थसमूहको रुचि र दबाबमा बालुवाटारले गृहमन्त्रालयमा हस्तक्षेप गरी सो प्रस्ताव अघि बढाउन लगाएको हो ।
अर्थ मन्त्रालयले प्रहरीमा रहेको ३० वर्षे प्रावधानको साटो ५८ वर्षको उमेर र पदावधिको हद लागू गर्नेगरी सैद्धान्तिक सहमति दिएको बताइएको छ । यसका लागि केही समयअघि मात्रै प्रधानमन्त्री देउवाको ठाडो निर्देशनमा गृहमन्त्री बालकृष्ण खाँडले अर्थमा सहमतिका लागि प्रस्ताव पठाएका थिए ।
सर्वोच्च अदालतले प्रहरी ऐनमै व्यवस्था गरेर मात्र अवकाश, करिअरलगायत व्यवस्था मिलाउन आदेश दिएको थियो । तर, कामचलाउन सरकारले अध्यादेशमार्फत नियमावली संशोधन गरेर ३० वर्षे सेवा अवधि हटाउन लागेको हो ।
२०७० सालमा तत्कालीन एआईजी मदनबहादुर खड्का र २०७३ सालमा तत्कालीन एआईजी गणेशराज राईले आफ्नो जागिर अवधि लम्ब्याइदिन आग्रह गर्दै दायर गरेको रिटमा सर्वोच्चले प्रहरी नियमावली संशोधनमार्फत आफूखुसी गर्ने शृंखलामा रोक लगाएको थियो । तर, सर्वोच्चको सो रोकविपरीत सरकारले आफू खुसी अध्यादेश ल्याएर ३० वर्षे सेवा अवधि हटाउन लागेको हो ।
कामचलाउ सरकारको अर्को विवादास्पद कार्य
निर्वाचनपछि कामचलाउ अवस्थामा रहेको देउवा सरकारले हालका आईजीपी धिरजप्रताप सिंहलाई नै यथावत् राख्ने उद्देश्यका साथ सो प्रावधान ल्याउन लागेको बताइन्छ ।
गृहस्रोतका अनुसार बालुवाटारको दबाबमा गृहमन्त्री र गृहसचिव यस्तो प्रस्ताव तयार पारी अर्थमा पठाउन बाध्य भएका हुन् ।
गृहले एक वर्षपछि मात्रै लागू हुनेगरी अर्थबाट सहमति प्राप्त भएको जनाएको छ । अब अर्थबाट सहमति भएपछि कानुन मन्त्रालय र लोकसेवा आयोगमा सहमतिको लागि पठाउने र त्यसलगत्तै मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी बालुवाटारले गरेको छ ।
नेपाल प्रहरीमा हरेकपटक आईजीपीका ब्याचकाले जागिरको उत्तराद्र्धमा आफ्नो स्वार्थ पूरा गर्न ३० वर्षे सेवा अवधि हटाउने प्रयास गर्ने गरेका छन् ।
अहिले पनि स्वार्थवश त्यस्तै प्रयास थालिएको र सो प्रयासले सार्थकता पाउन सक्ने देखिएको गृहस्र्रोतको दाबी छ । विभिन्न स्वार्थसमूहले बालुवाटारलाई प्रभावमा पारेर सो प्रस्ताव अघि बढाएको गृहस्रोतले जनायो । राजधानी दैनिक