कैलालीमा सरकारी कोटाको धान खरिद सुरु, पहिलो दिन एक हजार क्विन्टल धान खरिद-Sutra News

कैलालीमा सरकारी कोटाको धान खरिद सुरु, पहिलो दिन एक हजार क्विन्टल धान खरिद

बुधबार, २८ मंसिर २०७९

बुधबार, २८ मंसिर २०७९

धनगढी – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारले निर्धारण गरेको कोटाअनुसार मंगलबारदेखि धान खरिद गर्न थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रदेश कार्यालय प्रमुख इन्जिला बस्नेतका अनुसार मंगलबारदेखि कैलालीको मोहनपुर, टीकापुर र शत्तिmबाट धान खरिद सुरु गरिएको हो ।



पहिलो दिन तीनवटै केन्द्रबाट एक हजार क्विन्टल धान खरिद भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १६ कात्तिकको मोटा धानको न्यूनतम मूल्य दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ कायम गरेको थियो । कात्तिकमै धानको समर्थन मूल्य निर्धारण गरिएको भए पनि धान खरिदको अधिकार नदिँदा खरिद प्रक्रिया सुरु हुन सकेको थिएन ।

कैलालीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसी शक्रबार तीन स्थानबाट धान खरिद गर्ने निर्णय गरिएको थियो । कैलालीमा यस वर्षका लागि ४० हजार क्विन्टल धान खरिद गर्न केन्द्रबाट स्वीकृति आएको प्रदेश कार्यालय प्रमुख बस्नेतले बताइन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २०७७ मा धानको समर्थन मूल्य मोटो धान प्रतिक्विन्टल दुई हजार सात सय ३५ र मध्यम धानको मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय ८५ तोकेको थियो । सो वर्ष कैलालीमा ६१ हजार मेट्रिकटन धान संस्थानले खरिद गरेको थियो ।

गत वर्ष मोटोधानको मूल्य दुई हजार सात सय ५० र मसिनो धानको मूल्य दुई हजार आठ सय निर्धारण गरिएकामा कात्तिकमा आएको बाढीका कारण धान बिग्रेको भन्दै खाद्य तथा व्यापार कम्पनीले धान खरिद नै गरेन । २०७७ मा कैलालीका चार स्थान (धनगढी, टीकापुर, जोशीपुर र भजनी) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट