काठमाडौं– निर्धारित ९० मिनेटको खेलमा क्रोएसीयासँ ३–० को जीत निकाल्दै दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाले कतार विश्वकप २०२२ को फाइनलमा स्थान बनाएसँगै अब सबैको ध्यान फ्रान्स र मोरोक्कोबीचको खेलतिर तानिएको छ।
पोर्चुगललाई १–० ले स्तब्ध पार्दै सेमीफाइनलमा स्थान बनाएको मोरोक्को र इङ्ल्यान्डविरुद्ध २–१ को कठिन जीत निकालेको विश्व बिजेता फ्रान्सले कतारको अल बेत स्टेडियममा नेपाली समयअनुसार विहीबार बिहानको राती १२ः४५ मा भिडन्त गर्नेछन्।
फ्रान्सले उपाधि रक्षाका लागि खेल्ने विषयको त्यति साह्रो गुणगाण नभए पनि युरोपका मुर्धन्य मुलुकलाई एकपछि अर्को खेलमा पछार्दै सेमीफाइनलसम्म उक्लिएको उत्तर अफ्रिकन मुलुक मोरोक्कोको व्यापक चर्चा छ।
मोरोक्कोले बेल्जियम, स्पेन र पोर्चुगल जस्ता मुलुकलाई विश्वकपको अगाडिको यात्रामा ब्रेक लगाउँदै आफू बढ्यो। र, उसका सामु विश्वबिजेता सेमीफाइनलका लागि तयार छ।
तर चोटका कारण मोरोक्कोका क्याप्टेन रोम्यान साइस सेमीफाइनलमा उत्रिन सक्ने सम्भावना कम रहेको छ। सेमिफाइनलका लागि फिट हुनुहुनेछ कि भनेर शनिबार सोध्दा, साइसले भनेका थिए,‘म प्रयास गर्नेछु, चोट कस्तो छ त्यसले पनि फरक पार्दछ। तर म मैदानमा उत्रिने सक्दो प्रयास गर्नेछु।’
मोरोक्को बलियो डिफेन्सलाई तोडेर अघि बढ्लान् या नबढ्लान् भनी फ्रान्सका एम्बाप्पेतिर सबैको नजर रहेको छ।
भिडिओ रिपोर्ट हेर्नुहोस्
अन्तिम सेमीफाइनलका लागि फ्रान्सले लोरिस, काउन्डे, भराने, पामेकानो, हर्नान्डेज, चौमेनी, राबियोट, डेम्बेले, ग्रिजम्यान, एम्बाप्पे र जिरोडलाई सुरुआती ११ मा उतार्ने सम्भावना रहेको छ।
फ्रान्सका तिव्र गतिको यो टोलीलाई रोक्नका लागि मोरोक्कोले सुरुआती ११ मा बोनो, हाकिमी, एल यामिक, एगुएर्ड, माजारायुयी, औनाही, अम्राबत, अमाल्लाह, जिएच, नेस्री, बोउफललाई मैदानमा उतार्न सक्ने अनुमान गरिएको छ।
५९ बर्षअघि फर्किने हो भने मात्र फ्रान्सविरुद्ध मोरोक्कोले जीत निकालेको भेटिन्छ। २८ अप्रिल १९६३ मा फ्रान्समाथि हावी भएको मोरोक्को त्यसपछिका १० वटा खेलमा जीत निकाल्न असफल छ। तीन खेलमा बराबरीमा गर्न सफल मोरोक्कोले ७ खेलमा पराजय व्यहोरेको थियो।
फ्रान्ससँग उसको अन्तिम भेट १५ बर्षअघि १६ नोभेम्बर २००७ मा भएको थियो। मैत्रीपूर्ण उक्त खेल २–२ गोलको बराबरीमा रोकिएको थियो। अब, फ्रान्स उपाधी रक्षाका लागि खेल्नेछ भने मोरोक्को इतिहास बनाउने संघर्षमा उत्रिनेछ।
तर कतारमा देखिइरहेका खेलका नतिजाले नयाँ इतिहास रचिने सम्भावनालाई नकार्न सकिँदैन। फुटबलका जानकारहरूले मोरोक्कोले फ्रान्सलाई रोक्ने कठिन मिहेनत गरे पनि २–० को नतिजा निस्कन सक्ने अनुमान गरेका छन्। तर, एकपछि अर्को सरप्राइज दिँदै विश्वकप बिजेता स्पेन, युरोकप बिजेता पोर्चुगल र स्टार खेलाडीले भरिएको बेल्जियमलाई घर पठाएको मोरोक्कोलाई कमजोर आँक्न मिल्दैन। मोरोक्कोको बलियो पक्ष भनेकै सेमीफाइनलसम्मको यात्रा तय गर्दा विपक्षीसँग एक गोल पनि खाएको छैन। क्यानडासँग भएको खेलमा खाएको गोल पनि आत्मघाती मात्र थियो।
फ्रान्सले ९० मिनेटमा नै खेल खत्तम बनाउने रणनीति अख्तियार गर्दा मोरोक्कोले १२० मिनेटसम्म पु¥याउने तयारी गर्नेछ।