प्रचण्डले महासचिव गुरुङलाई ओलीको घर पठाए, सत्ता समीकरणको ‘नयाँ खेल’-Sutra News

प्रचण्डले महासचिव गुरुङलाई ओलीको घर पठाए, सत्ता समीकरणको ‘नयाँ खेल’

बुधबार, २८ मंसिर २०७९

बुधबार, २८ मंसिर २०७९

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग थालेको संवादसँगै सत्ता समीकरणको नयाँ खेल सुरु भएको छ।



नेपाली कांग्रेससहित नेकपा एकीकृत समाजवादीलगायतको सत्ता गठबन्धन बनाउन मुख्य भूमिका खेलेका प्रचण्डले सत्ता समीकरणको नयाँ सम्भावना केलाउन थालेका छन्। यसैकारण उनले एमाले अध्यक्ष ओलीसँग संवादका लागि माओवादी केन्द्रका महासचिव देव गुरुङलाई बालकोट पठाएका छन्।

ओलीलाई भेटेरै बधाई दिनका लागि गुरुङ बालकोट पुगेको बताइए पनि बाम गठबन्धन र नयाँ सत्ता समीकरणको प्रस्तावमाथि छलफलको ढोका खुला गरिएको उच्च स्रोतले दाबी गरेको छ। यसअघि माओवादी केन्द्रको हेडक्वार्टर बैठक बसी सरकार बनाउने विषयमा सबै विकल्प खुला गर्ने निर्णय गरेको थियो।

सबै विकल्पभित्र एमालेसँगको सत्ता समीकरणलाई पनि राखिएको माओवादी उच्च स्रोतले जनाएको छ। ‘बिगतमा कम्युनिस्ट पार्टी विभाजन हुँदा भएको क्षतिको मुल्यांकन गरी आत्मालोचना गर्दै बाम गठबन्धनको सरकार बनाउन सकिने विकल्पमा छलफल चलेको छ’, उच्च स्रोतले भन्यो,‘यो निर्वाचनपछिको स्वभाविक सम्भावनाको खेल पनि हो।’

आफूले ओलीलाई चुनावमा राम्रो नतिजा ल्याएकामा बधाई दिएको महासचिव गुरुङले बताएका छन्। त्यस अवसरमा समसामयिक विषयमा सामान्य कुराकानी भएको उनको भनाइ छ। सरकार गठनको गहन बहस चलिरहेका बेला गुरुङलाई प्रचण्डले ओलीनिवास पठाउनुलाई अर्थपूर्ण मानिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने तयारीमा रहेका बेला गठबन्धन भत्कन सक्ने संकेतका रुपमा पनि प्रचण्डले यस्तो प्रयोग गरेको बताइन्छ। सत्ता गठबन्धनको सरकार बन्ने अवस्थामा आलोपालो प्रधानमन्त्रीमा सहमति बन्दा प्रचण्ड पहिलो कार्यकाल रोजीरहेका छन्। तर, देउवाले नमानेपछि विकल्पको गठजोड बन्न सक्ने संकेत प्रचण्डले दिन खोजेको उच्च स्रोतको दाबी छ।

भिडिओ रिपोर्ट हेर्नुहोस्

यसअघि निर्वाचनमा पराजय भोगेका माओवादी महासचिव गुरुङ र उनलाई पराजित गरेका एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङबीच बाम गठबन्धन र एकीकरण गराउन सक्रिय भूमिका खेल्ने विषयमा सहमति भएको थियो। माओवादी महासचिवले बिजेता एमाले उपमहासचिवलाई बधाई दिने क्रममा नै बाम गठबन्धनका लागि पहल गर्नुपर्ने बताइसकेका थिए।

यता प्रचण्डले बारम्बार सत्ताको चाबी आफूसँग रहेको भनी निर्वाचनपछि दिएका अभिव्यक्तिको पराकम्पनका रुपमा पनि गुरुङको बालकोट भेटलाई बुझ्न सकिन्छ। प्रतिनिधि सभाको तेस्रो दल माओवादीको सहयोग बिना कुनै पनि गठबन्धनले बहुमतको सरकार बनाउन सक्ने अवस्था रहँदैन।

प्रतिनिधि सभामा ओवादीको ३२ सिट छ। यो निर्णायक सिट भएका कारण पनि प्रचण्डले सत्ताको चाबी आफ्नो हातमा रहेको बताउँदै आएका हुन्। प्रचण्डले सत्ता समीकरणमा जति बेला पनि पल्टिन सक्ने प्रयोग यसअघि नै गरिसकेका छन्।

०७२ मा ओलीलाई प्रधानमन्त्रीमा सहयोग गरेका प्रचण्ड सोही कार्यकालका बेला सरकार अपदस्त गरी कांग्रेसको समर्थनमा नौ महिनाका लागि दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। ०७४ को निर्वाचन गराउने बेला प्रचण्डले देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए।

तत्कालिन निर्वाचनमा बाम गठबन्धन भएपछि झन्डै दुई तिहाई बहुमत ल्याएपछि ओली प्रधानमन्त्री बनेका थिए। एमाले र माओवादी केन्द्रको एकीकरण भए पनि ओलीले संसद विघटन गरेपछि प्रचण्डले अहिलेको सत्ता गठबन्धन निर्माण गर्दै देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए।

गठबन्धनमा माओवादीलाई मत नआएको र धोका भएको भन्दै अब बन्ने सरकारका लागि सबै विकल्प खुला गरेका प्रचण्डले ओलीसँग मिहिन वार्ताको वातावरण तयार पार्न लागेका हुन्। त्यसका लागि महासचिव गुरुङलाई बालकोट पठाइएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट