काठमाडौं– फ्रान्स र मोरोक्कोबीचको खेलको निर्णयसँगै कतार विश्वकप २०२२ को फाइनलमा पुग्ने टोलीसँग मैदानमा देखिनेछन् लियोनल मेस्सी। किनभने क्रोएसीयासँग २०१८ को बदलापूर्ण जीत निकाल्दै फाइनल सुरक्षित गरेको अर्जेन्टिना प्रतिस्पर्धी टोलीको पर्खाइमा छ।
लियोनल मेस्सीका लागि जीवनको अन्तिम विश्वकप समेत रहेकाले यो उपलब्धिसँगै इतिहास रच्ने मौका छ। यसअघि २०१४ मा उनको टोली फाइनलमा पुगेर स्तब्ध हुँदै घर फर्किनुपरेको थियो। यस पटक मेस्सी त्यो दुखान्तलाई विर्साउने तयारीमा छन्।
मेस्सी आफैंले पनि यो अन्तिम विश्वकप हुने घोषणा गरिसकेका छन्।
अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेलाई मेस्सीले भनेका छन्,‘फाइनलमा आफ्नो अन्तिम खेल खेलेर विश्वकप यात्रा पूरा गर्न पाउँदा म निकै खुसी छु।’
अर्को विश्व कपका लागि अझै धेरै वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिले जस्तै खेल्न सक्छु जस्तो नलागेको उनले बताएका छन्। ‘अर्कोको लागि धेरै वर्षहरू छन् र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु। यसरी समाप्त गर्न यो सबै भन्दा राम्रो हो’, उनले भनेका छन्।
विश्व फुटबल मञ्चमा अर्जेन्टिनाका तर्फबाट डिएगो म्यारोडोनापछि ल्यामलाइटमा उभिएका खेलाडी हुन् मेस्सी। झन्डै दुई दशक नै फुटबल संसारमा ३५ बर्षिय मेस्सीको चर्चाले स्थान पाइरहेको छ। समूह चरणमा साउदी अरेबियासँग २–१ को नमिठो स्वादका बाबजुद फाइनलको यात्रा गराउन कप्तान मेस्सीका लागि ठूलो चुनौति थियो। उनी यसमा सफल भइसकेका छन्। बस्, अब उनलाई विश्वकपको ट्रफी मात्र जीताउनु छ। र, उनी एक कदम पछाडि मात्र छन्।
सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गराउन मेस्सी नै रोल मोडलका रुपमा देखिए। पेनाल्टी गोल गरे, दोस्रो गोलका लागि अल्भारेजले पाउने बल पनि मेस्सीले खोसेर पास गरेका थिए।
निर्णायक गोलमा मेस्सीको उत्कृष्ट असिस्ट रह्यो। र, विश्वमञ्चमा पनि सर्वत्र मेस्सी छन्।
भिडिओ रिपोर्ट
इटालियन मूलका मेस्सीको पूरा नाम लियोनल मेस्सी भनिए पनि उनलाई लियोका रुपमा पनि सम्बोधन गरिन्छ। २४ जुन १९८७ मा जन्मिएका लियो परिवारका तेस्रो अर्थात् साहिला सन्तान हुन्। उनका बुवा जर्ज मेस्सी र आमा सेलिया मेस्सी हुन्। लियोका बुवा एउटा स्टील फ्याक्ट्रिका म्यानेजर थिए।
जादुमयी खेलका महारथीका रुपमा मेस्सीको उदय युगिन् मानिन्छ। सानैदेखि उनको फुटबल कौशलतामा अब्बल थिए। उनको ड्रिविलिङ, असिस्ट र गोल गर्ने कलासँग धेरै प्रभावित छन्। कतिपयले त उनलाई फुटबलको भगवान नै भन्छन्।
लियोको फुटबलमा महाउदय सन् २००३ देखि भयो। उनलाई स्पेनी क्लब बार्सिलोनाले सन् २००३ देखि २००५को बीचमा पहिलो टोलीमा अटाउने गरी डेब्यु गरायो। बेञ्चमा राखेर नै मोका दिँदै लियोको खेल कौशलताको बार्सिलोनाले भरपूर फाइदा लिएको थियो।
उनलाई २००५पछि भने ‘स्टार्टिङ इलेभेन’का रुपमा अगाडि बढायो। सोही बेला उनले सिनियर टिमका लागि बार्सिलोनासँग सम्झौता गरेका थिए।
सन् २००८ मा ब्राजिलियन रोनाल्डिन्होलाई बार्सिलोनाबाट विदा गरेपछि लियोलाई १० नम्बरको जर्सी दिइयो। उनले बार्सिलोनामा फेरि सम्झौता गरेपछि क्लवलाई लयमा फर्काए।
सन् २००९पछि २२ बर्षको उमेरमा क्लवलाई विभिन्न जीत निकाल्दै मेस्सीले पहिलो बालोनडिआर जीते। उनले सन् २०१० पछि भने पाँचौ लालिगा टाइटल र तेस्रो च्याम्पियन लिग पनि जीताए।
लियोका लागि सन् २०१२ भने रेकर्ड ब्रेकिङ बर्षका रुपमा रह्यो। उनको यो यात्राले निरन्तरता पायो। बार्सिलोनालाई सफलतामाथि सफलताको यात्रा दिलाएका लियोका लागि सन् २०१५–१६ घरेलु सफलताको बर्ष बन्यो।
यो उपक्रममा फुटबलमा विभिन्न सरप्राइज खेल देखाएका मेस्सीले २०१६–१७ मा चौथो गोल्डेन बुट हात पारे। २०१७–१८ मा पाचौं गोल्डेनबुट जितेका मेस्सी यतिमा रोकिएनन्। २०१८–१९ मा बार्सिलोनाको क्याप्टेन बन्दै छैठौं गोल्डेन बुटमा कब्जा जमाए। ला लिगामा मेस्सीको सर्वाधिक चर्चा हुन थाल्यो।
तन, मन र धन नै फुटबलका लागि खर्च गरेका शालिन स्वभावका लियोले २०१९–२० अर्को रेकर्ड कायम गर्दै छैठौं बालोनडिओर पाए।
उनले सन् २०२० मा भने बार्सिलोना छाड्ने इच्छा देखाएका थिए। त्यसको एक बर्षमा भने उनले उक्त क्लव छाडेका थिए।
सन् २०२१ मा फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी)मा करिअरलाई निरन्तरता दिएका मेस्सीले सातौं बालोनडिओरमा आधिपत्य जमाए। उनी अहिले सोही क्लबबाट फ्रान्सको लिगमा सक्रिय छन् भने विश्वकपमा अर्जेन्टिनाको जीत निकाल्न तत्पर छन्।
फुटबललाई आफ्नो जीवन बनाएका मेस्सीको विश्वकप सपना पूरा होस्, शुभकामना छ!