काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति कार्यालयलाई प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिकमा निर्वाचित सांसदको सूची विहीबार बुझाएको छ। सूचीअनुसार यस पटकको प्रतिनिधि सभामा नातीनातिना उमेरदेखि हजुरबासम्मका नेता निर्वाचित भएका छन्। जसको उमेर भिन्नता नै ६० बर्षसम्मको छ।
यसैकारण पनि यस पटकको सदन बैठकमा रोचक उपस्थिति हुने देखिएको छ। राष्ट्रपति विद्या भण्डारीले सदनको बैठक आह्वान गरेपछि यो परिदृश्य देखिनेछ।
प्रतिनिधि सभाको बैठकमा २५ बर्षिया निशा डाँगीदेखि ८५ बर्षिया महेन्द्र राय यादवसम्मको सहभागीता हुनेछ। यस पटक प्रतिनिधि सभामा ३० बर्ष मुनिका ७ जना र ८० बर्षमाथिका ४ जना सदस्य निर्वाचित भएर आएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट छानेकी झापाकी २५ वर्षीया डाँगी सबैभन्दा कान्छी सांसद हुन्। सोही पार्टीकी समानुपातिकतर्फबाट छानिएकी जुम्लाकी विनिता कठायत २६ वर्ष र काठमाडौं–२ बाट निर्वाचित सोविता गौतम २७ वर्षका छन्। यी तीनै जना कान्छी सांसद हुन्।
यसैगरी राप्रपाबाट सल्यानकी अनिशा नेपाली र जनमत पार्टीबाट सिराहाकी शिवनिताकुमारी सिंह समान २८ बर्षका हुन्। यी दुवै जना पनि समानुपातिकबाट निर्वाचित भएका छन्।
मुस्ताङबाट निर्वाचित कांग्रेसका योगेश गौचन थकाली २९ बर्षका हुन्। जुम्लाबाट विजयी राप्रपाका ज्ञानेन्द्र शाही र माओवादीले समानुपातिकबाट छानेका जुम्लाका छिरिङ ल्हामु लामा समान ३० वर्षका छन्।
भिडिओ रिपोर्ट हेर्नुहोस्
प्रतिनिधि सभा सदस्य बन्नका लागि उमेरको सीमा २५ बर्ष तोकिएको छ। सोहीअनुसार डाँगी सबैभन्दा कान्छी हुन्।
रोचक त यो पनि छ कि यहि प्रतिनिधि सभामा हजुरबा अर्थात् ८० बर्ष माथिका सदस्य पनि निर्वाचित भएका छन्।
सर्लाही–२ बाट माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव ८५ वर्षका छन्। उनी सबैभन्दा ज्येष्ठ सांसद हुन्।
यसैगरी महोत्तरी–३ बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर, बाग्लुङ–१ बाट विजयी राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र राप्रपाले समानुपातिकबाट छानेका पशुपति शमशेर राणा समान ८० बर्षका हुन्। नाती नातिना उमेरका सांसदसँग सहकर्मीका रुपमा उनीहरूले सदनमा जनताको मुद्दा उठाउनेछन् भने नीति निर्माणमा सहभागीता जनाउनेछन्।
संसदको बैठक आह्वान भएपछि ज्येष्ठ नागरिकले सपथ पराउने व्यवस्थाअनुसार महेन्द्र राय यादवले सभामुखको निर्वाचन नभएसम्म सदनको अध्यक्षता गर्नेछन्।
राष्ट्रपतिले निर्वाचन आयोगले बुझाएको सांसदको सूची प्रमाणिकरण गरेपछि सरकारले संसद अधिवेशन बोलाउन सिफारिस गर्नेछ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले पुस तेस्रो साता मात्र सदनको बैठक बोलाउन सिफारिस गर्नेगरी मन्त्रिपरिषदको बैठक राख्नेछन्।